निर्वाचन समाचार

काठमाडौंमा भोलिदेखि मात्रै मतगणना हुने

फाइल तस्बिर

काठमाडौं, २१ मंसिर– दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्ग बिहीवार मतदान भएको काठमाडौंमा भोलि (शुक्रवार)देखि मात्रै मतगणना शुरु हुने भएको छ।  

काठमाडौंमा प्रतिनिधिसभा अन्तर्गत १० र प्रदेशसभाअन्तर्गत २० वटा निर्वाचन क्षेत्र छन् । सबै निर्वाचन क्षेत्रबाट मतपेटिका संकलन गर्न मध्यरातिसम्मको समय लाग्ने भएकाले शुक्रवार विहानदेखि मात्रै मतगणना शुरु गरिने प्रमुख निर्वाचन अधिकृत रमेशराज पोखरेलले बताए । 

मतपेटिका संकलनका लागि राति १ बजेसम्मको समय लाग्ने उनको भनाइ छ । मतदान प्रक्रियामा सहभागी राजनीतिक दलका नेताहरुले थाकेकाले सर्वदलीय बैठक नबसाउन आग्रह गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रवार विहानदेखि मात्रै मतगणना शुरु गर्ने तयारी गरेको हो । शुक्रवार बिहान ६ बजे राष्ट्रिय सभागृहमा सर्वदलीय बैठक बोलाइएको छ ।

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रको मतगगणना ५ ठाउँमा गर्ने कार्यालयको तयारी छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहमा हुनेछ । 

क्षेत्र नम्बर ५ र ७ को नयाँ बानेश्वरमा रहेको सहकारी विकास विभागको तालिम केन्द्रमा र ९ र १० क्षेत्रको गणना नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा गणना हुनेछ । त्यस्तै ८ नम्बर क्षेको गणना बबरमहलमा रहेको वन परिसर र ६ को जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा मतगणना हुनेछ ।
 

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस