निर्वाचन समाचार

निर्वाचन शतप्रतिशत सफल र ऐतिहासिक भयोः फेम्बोसा

काठमाडौँ, २१ मंसिर - दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)राष्ट्रको निर्वाचन व्यवस्थापन निकायको साझा मञ्च (फेम्बोसा)ले आज सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन शतप्रतिशत सफल र ऐतिहासिक रुपमा अभिलेख कायम राख्न सफल भएको जनाएको छ । 

निर्वाचन आयोगमा आज साँझ भएको छलफल कार्यक्रममा फेम्बोसा राष्ट्रका निर्वाचन पर्यवेक्षकले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गरेकामा आयोग पदाधिकारीलाई बधाई ज्ञापन गर्नुभयो । नेपालको संविधान कार्यान्वयनका सन्दर्भमा भएको निर्वाचन ऐतिहासिक र प्रजातन्त्रिक तवरले सम्पन्न भएको जनाउँदै उहाँहरुले पर्यवेक्षणका क्रममा मतदाताले निर्वाचनलाई उत्सवका रुपमा लिएको पाएको बताउनुभयो । 

दलका प्रतिनिधिबीचको सौहार्दता र उत्कृष्ट तथा उच्च निर्वाचन व्यवस्थापनले निर्वाचनलाई ऐतिहासिक रुपमा सम्पन्न गर्न निकै ठूलो योगदान दिएको जनाउँदै अन्तर्राष्ट्रिय पर्यवेक्षकले मतदाता परिचयपत्र वितरण व्यवस्थित रुपमा भएकामा सराहना गर्नुभएको थियो । मतदाता शिक्षा प्रभावकारी भएकै कारण निर्धक्क र सहजताका साथ मतदान प्रक्रिया अघि बढेको तथा विनाहोहल्ला शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न भएको उहाँहरुको निष्कर्ष छ । 

फेम्बोसाका तर्फबाट निर्वाचनको पर्यवेक्षण गर्न अफगानिस्तानका अहमद मुर्ताज, बंगलादेशका महबुब रहिम, भुटानका दासो युगेन छेवाङ, भारतका अजय नायक र डा एसवाई कुरेसी, पाकिस्तानका मोहम्मद युसुफ खान, माल्दिभ्सका अहमेद सुलेमानलगायत आउनुभएको थियो । सो अवसरमा निर्वाचन आयुक्त डा इला शर्माले फेम्बोसाका तर्फबाट नेपालको निर्वाचनको पर्यवेक्षण भएकामा प्रशंसा व्यक्त गर्दै पर्यवेक्षकबाट प्राप्त सुझाव र अनुभवलाई आयोगले ग्रहण गर्ने बताउनुभयो । छलफलमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव, आयुक्त नरेन्द्र दाहाल, ईश्वरी पौडेल र सुधीरकुमार शाह तथा सचिव वेगेन्द्रराज शर्मा पौड्याल पनि सहभागी हुनुहुन्थ्यो । रासस

मंसिर २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस