राजनीति

सिन्धुपाल्चोकमा अग्नीको जीत र राणाको हारको ह्याट्रिक !

सिन्धुपाल्चोक २३ मंसिर– माओवादीका प्रभावशाली नेता अग्नी सापकोटाले सिन्धुपाल्चोकमा लगातार तेस्रो पटक चुनाव जितेर ह्याट्रिक गरेका छन् । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले भने सिन्धुपाल्चोकबाटै लगातार तीन पटक हारेर ह्याट्रिक गरेका छन् ।
बहालवाला मन्त्री नेपाली कांग्र्रेसका मोहन बस्नेतलाई भारी मतअन्तरले पराजीत गर्दै अग्नी सिन्धुपाल्चोकबाट लगातार तेस्रो पटक विजयी भएका हुन् । सापकोटाले ४० हजार ५ सय ४ मत पाउँदा बस्तेनले २९ हजार ७ सय ९८ मत पाए ।
२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पनि उनी सिन्धुपाल्चोकबाट विजयी भएका थिए । बस्नेत पनि २०७० सालको चुनावमा विजयी भएका थिए । 
सिन्धुपाल्चोक २ बाट एमालेका युवा नेता शेरबहादुर तामाङ लगातार दोस्रो पटक विजयी भएका छन् । २०७० सालको संविधानसभा चुनावमा पशुपति शमशेर राणालाई पराजीत गरेका तामाङ लगातार दोस्रो पटक विजयी भएका हुन् । शेरबहादुरले ३८ हजार चार सय १ मत पाउँदा राणाले ३० हजार ३ सय ६९ मत प्राप्त गरे । 
यसपटकको पराजयसंगै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष बयोबृद्ध नेता पशुपति शमशेर राणाले तेस्रो पराजय व्यहोरेका छन् । पञ्चायतदेखि २०५६ सालसम्म सिन्धुपाल्चोकमा लगातार चुनाव जितेका राणा गणतन्त्र आएदेखि पराजीत भएका छन् । 
उमेरका कारण पनि अन्तिम पटक चुनाव लडेको बताएका राणाले चुनाव जित्ने ढुक्क भएकोले प्रत्यक्ष रोजेको बताएका थिए । चुनावमा पराजीत भएसंगै ७६ बर्षीय राणाको राजनीतिक भविष्य पनि अन्योलमा परेको छ । 
२०७० सालको संविधानसभा चुनावमा प्रत्यक्षमा तीन सिट जितेको राणा नेतृत्वको राप्रपा पछि कमल थापा नेतृत्वको राप्रपा नेपालसंग मिलेको थियो । पार्टी एकीकरणको केही समयमै राणाले राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिक गठबन गरेका थिए । यसपटक उनको पार्टीले कुनै पनि क्षेत्रमा चुनाव जित्ने संकेत देखाएको छैन् । 


 

मंसिर २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस