shivam
Nerolac and Nepal life

राजनीति

संशोधन विधेयकलाई परिमार्जन गरेर भए पनि पारित गर्छौं : कानून मन्त्री 

काठमाडौँ, २५ पुस । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजयशङ्कर नायकले संविधान संशोधन विधेयकलाई परिमार्जन गरेर भए पनि पारित गराउने बताउनुभएको छ । 


रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले संविधान संशोधन गरेर निर्वाचनमा जान राजनीतिक समझदारी आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “सबै राजनीतिक दललाई सहमतिमा लिएर चाँडै नै निर्वाचनको मिति घोषणा गर्न परिमार्जन गर्नुपरे पनि आवश्यक छलफल गर्न सकिन्छ ।”

जनताको आवश्यकतालाई हेरेर राजनीतिक दलहरु अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । मन्त्री नायकले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालतले गरेको निर्णय स्वागतयोग्य भएको बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले राजनीतिक दलहरुबीचको सम्झौताको दस्तावेज संविधान भएकाले संविधान संशोधनका लागि दलहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।

नेता गुरुङले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्नै सहमतिमा बनेको संविधानलाई कुल्चन नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो – “कुनै पनि संविधान सर्वस्वीकार्य नहुने हुँदा समय र परिस्थितिअनुसार परिमार्जन गर्न सकिन्छ ।”

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सोमप्रसाद पाण्डेले संसद्मा टेबुल भएको विधेयक अलोकतान्त्रिक भएको बताउनुभयो । उहाँले भन्नुभयो – “रुपान्तरित संसद्लाई प्रदेशको सीमाङ्कनको अधिकार छैन कसरी सीमाङ्कनको हेरफेरको कुरा आयो ?”

मधेसी जनअधिकार फोरम नेपालका नेता शिवजी यादवले संसद्मा दर्ता भएको विधेयकले दलहरुबीच सहमतिको ढोका खोलेको बताउनुभयो । उहाँले संसद्मा दर्ता भएको विधेयकलाई परिमार्जन गरे मधेसी दलले सहयोग गर्ने बताउनुभयो । रासस

सोमवार, पौष २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota