राजनीति

‘सिस्टम कोल्याप्स’ हुँदा सोमबार साँझ काठमाडौंमा लोडसेडिङ

लोकान्तर संवाददाता
काठमाण्डौं, २५ पुस –सोमबार साँझ काठमाडौं उपत्यकामा करीव १ घण्टा अकस्मात विद्युत आपूर्ति बन्द भएको छ । नियमित विजुली आपूर्ति हुँदै आइरहेकामा नेपाल विद्युत प्राधिकरणको विद्युत वितरण प्रणालीमा समस्या आउँदा आपूर्ति असहज हुन गएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘सिस्टम कोल्याप्स’ हुँदा केही बेर लोडसेडिङ भएको र छोटो समयमै विद्युत आपूर्ति नियमित भएको लोकान्तरलाई बताए ।

‘मध्य मस्र्याङ्दीदेखि तल्लो मस्र्याङ्दीसम्मको प्रशारण लाइनमा समस्या आएका कारण राष्ट्रिय प्रसारण प्रणालीको पूरै ग्रीड केहि बेर ब्ल्याकआउट हुन पुगेको हो,’ प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले लोकान्तरसँग भने ।

साँझ करीव ६ बजेदेखि प्रभावित भएको विद्युत आपूर्ति डेढ घण्टामै सुचारु भइसकेको छ । ‘केही स्थानबाहेक बिद्युत आपूर्ति नियमितझैं सुचारु भैसकेको छ,’ प्राधिकरणका प्रवक्ता अधिकारीले भने । विद्युत आपूर्ति प्रणाली मिलाउन केही सब –स्टेसन बीच लोड काट्ने र जोड्ने कार्य भैरहेकाले प्रणाली स्थिर हुन अझै केही समय लाग्ने प्राधिरणको भनाई छ ।
पुस २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस