Nerolac and Nepal life

राजनीति

आयल निगमका कर्मचारीलाई ४ हजार ५ सय गाडीभाडा

सुवास भट्ट

काठमाडौं, २६ पुस –यसअघि बोनस प्रकरणका कारण विवादमा तानिँदै आएको नेपाल आयल निगमले फेरी घुमाउरो बाटोबाट सेवासुविधा हत्याउन लागेको खुल्न आएको छ । निगमले परिवहन (यातायात खर्च)का नाममा सुविधा हत्याउन लागेको हो ।
निगमले प्रतिकर्मचारी मासिक ४ हजार ५ सयका दरले सुविधा वृद्विको गर्न लागेको हो ।

निगमको आधिकारीक ट्रेड युनियन नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष प्रदिपमान बसीका अनुसार कर्मचारीको सुविधा वृद्विको उक्त प्रस्ताव सञ्चालक समितिमा पेस भइसकेको छ ।

मंगलवार निगमको ४७ औं वार्षिककोत्सव समारोहमा बोल्दै क्रियाशिल कर्मचारी संगठनहरूले सेवासुविधा कम भएको भन्दै यसमा वृद्वि गर्नुपर्ने माग गरेका थिए ।

‘निगम अहिले अर्बौं नाफामा छ,’ कार्यक्रममा बोल्दै अध्यक्ष बसीले भने, ‘तर, हामीले विनियममा भएको सुविधा समेत पाएका छैनौं ।’ निगमले कर्मचारीलाई दोस्रो दर्जाको व्यवहार गरेको बताए । सेवासुविधा वृद्वि नगरिए आन्दोलन गर्ने उनले चेतावनी दिए ।

नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष श्यामकृष्ण कार्कीले कर्मचारीको भूमिकालाई अवमूल्यन गरिएको भन्दै प्रोत्साहनको माग गरे । ‘भूकम्प, नाकाबन्दी लगायतका बावजुद कर्मचारीले कठोर मिहिनत गरेका छन्,’ उनले थपे, ‘तर, यतिको नाफामा गएको संस्थाले कर्मचारीलाई प्रोत्साहन र बोनस दिन किन कञ्जुस्याइँ गरेको ?’ कार्कीले यसो भन्दा उपस्थित कर्मचारीले गडगडाहट ताली बजाएर सर्मथन गरेका थिए ।

आपूर्ति मन्त्री दीपक बोहोराले भने जथाभावी र अनावश्यक सम्झौता नगर्न निगमलाई सचेत गराएका थिए । यद्यपि, उनले घुमाउरो भाषाले सेवासुविधा दिन समर्थन जनाएका थिए ।

निगम सञ्चालक समितिका अध्यक्ष समेत रहेका आपूर्ति सचिव प्रेमकुमार राइले भने निगमको व्यवस्थापनप्रति असन्तुष्टि प्रकट गर्दै सेवासुविधा बढाउनु जायज नहुने तर्क गरे । निगमले उपभोक्ता हितका लागि ध्यान नदिएको उनको गुनासो थियो । निगमले संसदीय समिति लगायत सरोकारवाला निकायलाई पटक्कै नटेरेको भन्दै उनले रोष प्रकट गरे ।

निगम स्रोतका अनुसार निगमका हाल ६ सय ३५ स्थायी सहित ७ सय ५० कर्मचारी छन् । त्यति कर्मचारीलाई मासिक ४ हजार ५ सयका दरले परिवहन सुविधा दिँदा निगमलाई पौने ३४ लाख रुपैयाँ व्यायभार थपिनेछ ।
त्यस्तै, निगमले यसअघि नै जनताका लागि शेयर खुला गर्ने जनाइसकेको छ ।
मंगलवार, पौष २६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
ncell