राजनीति

प्रचण्ड सरकारको योग्यता लोकमानकै जस्तो : ओली

दमक, २७ पुस–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरणमा जस्तै आलोचित भएको टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको अपवित्र गठबन्धनबाट बनेको सरकारको गठन प्रक्रिया नै गलत ढङ्गले भएकाले त्यसको परिणाम अहिले देशवासीले भोग्नु परेको ओलीको भनाइ थियो । उनले सरकारको योग्यता नै निलम्बित अख्तियार प्रमुख लोकमानजस्तै अपुग भएको तुलना गरे ।

आज झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले वर्तमान सरकारले राष्ट्रको हितको काम गर्न नसक्ने ठोकुवा गरे । लोकमान जसरी नाङ्गिए त्यसरी नै यो सरकार जनताका बीच आफँै नाङ्गिँदै गएको उनको जिकिर थियो ।

वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्नुहुँदै उनले भने, “सरकारको अहिलेसम्मको गतिविधि निर्वाचन गराउनु सट्टा संविधान संशोधनको बहानामा अल्झिएर देशलाई द्वन्द्वमा धकेल्न मात्र उद्यत भएको आरोप लगाए । निर्वाचन बिना संविधान कार्यान्वयन हुन नसक्ने बताउँदै अध्यक्ष ओलीले मुलुकलाई अहित चाहने र द्वन्द्वमा लैजाने गम्भीर षडयन्त्र भइरहेको दाबी गरे ।

ओलीले संविधान संशोधन विधेयक संसद्मा लुकेर दर्ता गरिए पनि त्यो कुनै हालतमा पारित हुन नसक्ने दोहो¥याए ।संशोधन विधेयक देश र जनताका हितविरुद्ध तथा केही मधेसी नेताको हितमा ल्याइएको उनको विचार थियो । ओलीले संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन लागे मात्र एमालेले सरकारलाई साथ दिने बताए ।


पूर्वराजा ज्ञानेन्द्र शाहले मङ्गलबार दिनुभएको व्यक्तव्य राजकीय हैसियतमा नभई एउटा नागरिकले दिएको विचार जस्तै मात्र भएको ओलीको टिप्पणी थियो । ‘देशप्रति माया मात्र ज्ञानेन्द्रको आशय हो,’ ओलीले भने । पुस २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस