Ruslan
Tata /sipradi
Nic Asia

राजनीति

झलनाथ र नेम्वाङ्गको जिल्ला इलाममा बढ्दैछ चुनावी उत्साह

काठमाडौं, ८ चैत – सरकारले आउँदो वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल सिर्जना भएको छ । यसैक्रममा पूर्वी इलाममा पनि चुनावी माहौल बढ्दै गइरहेको छ ।

चार नगरपालिका र ६ गाउँपालिकासहित कुल १० स्थानीय तह कायम भएको इलाममा चुनावी वातावरण बढ्दै गएको जिल्ला निर्वाचन अधिकृत प्रेम काफ्ले बताउँछन् । काफ्लेका अनुसार निकै लामो समयपछि स्थानीय तहको निर्वाचन हुँदै गर्दा राजनीतिक दलहरू मात्रै होइन सर्वसाधारणमा पनि चुनावी उत्साह छाएको छ ।

इलाममा कुल एक लाख ९३ हजार ६ सय ४० मतदाता रहेका छन् । हाल तीनवटा निर्वाचन क्षेत्र रहेको इलाममा संविधानसभाको निर्वाचनमा दुई वटा क्षेत्रमा एमाले र एउटामा कांग्रेस विजयी भएको थियो ।

क्षेत्र नम्बर तीनमा कांग्रेसका केशव थापा विजयी भएका थिए भने क्षेत्र नम्बर एकमा एमालेका झलनाथ खनाल र दुईमा सुवास नेम्वाङ विजयी भएका थिए । एमालेका दुईजना हाइप्रोफाइल नेताहरूको जिल्ला इलाममा सबै राजनीतिक दलहरू चुनावी योजनामा जुटेका छन् ।

इलाममा मतदाताको नामावली रुजु गर्ने काम सम्पन्न भएको छ । यो वर्ष थपिएका मान्छेको नामावली निर्वाचन आयोगमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालयले जिल्लाभर सामाजिक विषय पढाउने शिक्षकहरूलाई भेला गरेर मतदाता शिक्षासम्बन्धी तालिम दिएको छ । राजनीतिक दलहरूको विवरण पनि अद्यावधिक भएको छ ।

मतदान केन्द्रको पुनरवलोकनसहित तोक्ने काम भएको छ । अहिले एक सय ४४ वटा मतदानस्थल कायम गरिएको छ । पहिलेपहिले एक सय २६ वटा निर्वाचन स्थल तोकिन्थ्यो । संघीयताको कारणले सिमाना हेरफेर भएको कारणले केही संख्या बढाउनुपरेको जिल्ला निर्वाचन अधिकृत काफ्लेले बताए । काफ्लेका अनुसार १५ वटा निर्वाचन दलले इलाममा भाग लिँदैछन् ।

‘सर्वसाधारणमा उत्साह छाइरहेको जस्तो हामीलाई लागेको छ,’ काफ्ले भने, ‘हामीले पनि आयोगले पनि दु्रत गतिमा काम गरिरहेको छ ।’ मतदाता शिक्षाबाहेकका धेरै काम सम्पन्न भइसकेको उनले बताए ।
शान्त वातावरणमै चुनाव हुने अपेक्षा गरिएको छ । दलहरू पनि यसैअनुरूप अघि बढिरहेका छन् ।

पूर्वाञ्चलका निर्वाचन आयोगका कर्मचारीहरूलाई आउँदो १२ गतेदेखि निर्वाचनसम्बन्धी तालिम दिने कार्यक्रम रहेको छ । त्यसपछि हरेक निर्वाचनस्थलमा कम्तीमा एकजना कर्मचारी खटाएर निर्वाचन शिक्षाको काम अघि बढाउने काफ्ले बताए ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सुरक्षाको हिसाबले पनि आफूहरू निकै जोडतोडका साथ निर्वाचनमा केन्द्रित भएको बताए । अहिले जिल्लाको सुरक्षा संवेदनशीलता पहिचान गर्ने काम भइरहेको छ ।
जिल्लामा निर्वाचन सेल घोषणा गरिएको छ । सुरक्षासम्बन्धी सम्पूर्ण गतिविधिलाई एकै ठाउँबाट अघि बढाउने गरी सेलको प्रयोग गरिएको हो ।

निर्वाचन केन्द्रीय सुरक्षा योजनालाई अघि बढाउने तयारी भइरहेको दाहालले बताए । दाहालका अनुसार स्थानीय तहमा कर्मचारीको खटनपटनको काम पनि भइरहेको छ ।

हाललाई जिल्लाको सुरक्षा अवस्था निकै राम्रो रहेको उनले बताए । मध्यतराईको जस्तो अशान्त वातावरण नरहेको उनको भनाइ छ ।

राजनीतिक दलहरूले निर्वाचनको मुखमा कार्यकर्ता भेटघाट, प्रशिक्षण लगायत कामहरू गरिरहेको भएपनि आमसभा लगायतका काम नगरेको उनले बताए ।

‘बिस्तारै वातावरण सिर्जना भइरहेको छ,’ उनले भने, ‘सुरक्षाका लागि हामी पनि निकै चनाखो भएर बसेका छौं ।’ उनका अनुसार स्थानीय चुनावको मिति घोषणा भएसँगै जिल्लामा निर्वाचनको माहौल राम्रो बनिरहेको छ । मंगलवार, चैत्र ८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
add-marketing