Nic Asia
Sarbottam Cement

साहित्य

खँदिलो कृति, रसिला प्रसङ्ग

“मानिस जमाना बदलियो भन्ने कुरा गर्दछन् ।...मेरो विचारमा जमाना बदलिएको छैन । घाम/जून उसैगरी लागेका छन्, हिउँद–वर्षा उस्तै छ, औंसी पूर्णिमा उस्तै छ, मान्छे उस्तै छन्, उसैगरी हिँड्छन्/बोल्छन् । एउटा कुरा भने सागसब्जी चाहिँ विष नहाली नफल्ने भो, यो चाहिँ जमाना बदलिएको हो !”

यो उद्गार हो महतारी चन्द्रवताको जुन २०६९ साल असारमा जनार्दन घिमिरेलाई दिएको रेडियो–अन्तर्वार्ताको क्रममा अभिव्यक्त भएको थियो । अनेकानेक ग्रन्थ छिचोलेर जीवनलाई नियालेका प्रकाण्ड दार्शनिकले दिएको अभिव्यक्ति झैं लाग्ने माथिको चर्चित कथन नेपालको सुदूरपूर्वी पहाडको ग्रामीण भेगकी एक गृहिणीको हो जसले लेखपढमा पहुँच पाउनु सहज थिएन । चार बीस हिँउद छिचोलिसक्नुभएकी महतारी जमाना बदलिएको विषयमा आफ्नो अनुभूतिलाई बिट मार्दै रेडियो अन्तर्वार्ताकै सिलसिलामा भन्नुहुन्छ : “मान्छेहरू प्लेन चढेर अरू देशमा गएर त्यहाँ के–के देखे, अनि यहाँ आएर त्यही नीति–नियम गर्न थाले, पहिलेको बिथोलियो । अन्यत्रका कुरा भित्र ल्याएपछि त बदलिने नै भयो नि – जमाना पनि !”

महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित निबन्ध ‘के नेपाल सानो छ ?’ मा नेपालमा कस्ता–कस्ता प्रतिभा छन् त्यसको चित्तबुझ्दो झलक पाइन्छ । महतारी चन्द्रवताको संघर्षशील नारी जीवन पढ्दा र उहाँको उद्गारको अर्थ केलाउँदा देवकोटाको अध्ययन कति सार्थक रहेछ भनी सह्रनी गर्न मन लाग्छ ।chandrawata-inner photo
आवरण चित्र हेर्नेले झट्ट यस पुस्तकलाई उपन्यास ठान्नसक्छ । तर यो एक सत्य–कथा हो जुन आमाले सम्झिँदै वर्णन सुनाउने र छोराले टिपोट गर्दै सङ्कलन बनाउने प्रक्रियाबाट तयार पारिएको छ । नौ वर्षको उमेरमा बिहा भएको रहेछ चन्द्रवताको आफूभन्दा २६ वर्ष जेठा पुरुषसित । शुरुमा बिहा पुतलीको खेलजस्तो थियो तर माइतीबाट घर प्रवेश गरेपछिकी बुहारीले बेहोर्नुपर्ने बुहार्तनको वर्णन हृदयविदारक छ, हुन्छ ।

चन्द्रवताले १६ वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिनुभएको रहेछ । उहाँको जिम्मेवारी त्यसपछिका महिना र वर्षहरूमा बढ्नु सर्वथा स्वाभाविक थियो । यस हरफका लेखककी (स्वर्गीय) आमा पनि बाल–विवाहको परिपञ्चमा परेर नौ वर्षकै उमेरमा बेहुली हुनुभएको रहेछ । दोस्रो सन्तानको रूपमा मेरो जन्म हुँदा आमाको उमेर २० वर्षको थियो अरे ! मध्यमवर्गीय ग्रामीण परिवारका महिलाहरूले सबेरै भालेको डाकमा उठेर घाँस, दाउरा, पानीको जोहो गरी उज्यालो हुँदा दैलो पोत्ने काम गरिसक्नुपर्थ्यो । वस्तुभाउ, केटाकेटी, सासू–ससुरा सबैको हेरचाह पु–याउने काम कहीँ–कतै त्रुटिबेगर हुनु अनिवार्य थियो । बाल्यकालमा आमाको दिनचर्या आफैंले पनि देखेको हुँदा म ओखलढुंगामा जन्मेको केटोलाई तेह्रथुमको जन–जीवनबारे अनुमान गर्न गाह्रो छैन ।

तैपनि त्यसबखत गाउँका नर–नारी हाँसी–खुशी मिलेर बस्थे, चाडपर्व मनाउँथे । मेलापात, अर्म–पर्म आदि ग्रामीण अर्थतन्त्रका टड्कारा पक्ष हुन् । अहिलेको जस्तो जातिपातीका कुरा कलहका कारण बन्दैनथिए । ‘मुनामदन’मा देवकोटाले भने झैं व्यवहारमा ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भन्ने उक्ति नै चरितार्थ थियो । त्यसो नहुँदो हो त चन्द्रवता अधिकारीलाई भीम कुमार लिम्बूले पाटीमा लेखेका अक्षर हेर्दै “भाउजू, यसमा घोरमुखा थ त छैन त !” भनेर लेखपढमा सहयोग गर्ने थिएनन् । हेरौं त, लिम्बूले सिकाउने अधिकारी बाहुनको घरकी बुहारी सिक्ने, कस्तो मेलजोलको वातावरण ।

त्यसै छेकको अर्काे प्रसङ्ग : धनमान लिम्बू सुब्बाको घरमा सत्यनारायणको पूजा लगाइने, अनि त्यो पूजा–विधिको काम चाहिँ लक्ष्मीनारायण अधिकारीले सम्पन्न गराइदिने ।

विवेच्य पुस्तकको मुख्य पात्र चन्द्रवता (जन्मः विसं १९९०) को जीवनी तत्कालीन नेपालको ग्रामीण जनजीवन चिनाउने गहकिलो माध्यम हो । समकालीन नेपालका चालचलन, संस्कार, संस्कृति र मान्यता पुस्तकका पानैपिच्छे भेटिन्छन् । यस पुस्तकलाई एउटा थुन्से (डोको) सित पनि दाँज्न सकिन्छ जसमा जीवनोपयोगी अनेक सीप, तरीकासहित अन्नपात, फलफूल, जडीबुटीहरू हार मिलाएर राखिएका हुन्छन् । सम्पादकले कतिपय साबिकका शब्द, अभिव्यक्तिलाई अहिलेको सन्दर्भमा अर्थ खुलाइदिएको हुनाले पाठकको ध्यान पटक–पटक पादटिप्पणीतर्फ तानिन जान्छ, जुन स्वभाविक कुरो हो । ममतामयी आमाको अनुभव र सम्झना सँगालेर पुस्तकको आकार दिई समाजलाई उपलब्ध गराउने छोरालाई पाठकले उदार भएर स्याबासी दिने कुरामा सन्देह छैन । मेहनतको कदर हुनैपर्छ; हुनेछ ।

हो, लेखन सम्पादनमा संलग्न ‘निलमशेखर’ ले भाषाको शुद्धता पक्षमा थप ध्यान दिएको भए ‘सुनमा सुगन्ध’ हुन्थ्यो । पुस्तकको सामान्य भाषिक सम्पादन त भएको छ, तर व्याकरणसम्मत शुद्धा–शुद्धिको पाटो त्यति माझिन पाएन । जस्तो, अह्राएको अर्थमा खानू, जानू, गर्नू दीर्घ लेख्ने मान्यता छ तर यस पुस्तकमा त्यसतर्फ ध्यान पुगेको देखिएन । पृष्ठ १४४ मा परेका ‘ज्ञान, अर्ति÷उपदेश’ खण्ड यस प्रसङ्गको दृष्टान्त हो । छपाइको त्रुटि पनि होला, नत्र ‘थिए’ र ‘थिएँ’ शब्दमा हुने अन्तर छुटट््याइएको हुनुपर्थ्यो । आशा गरौं, दोस्रो संस्करणमा यी कुराहरूको हेक्का हुनेछ ।

महतारी चन्द्रवताको अगाडि ‘मध्ययुगकी’ शब्द नहालेको भए बेश हुन्थ्यो कि ? किनभने ८४ वर्षीया चन्द्रवता यसै युगकी सम्माननीय नारी हुनुहुन्छ; आफ्ना–आफन्त बीचमै हुनुहुन्छ । तसर्थ उहाँलाई सातौंदेखि सत्रौं शताब्दीको कालखण्ड बुझिने युगतिर धकेलेजस्तो अर्थ लाग्ने विशेषण नराखेको भए हुनेजस्तो लाग्छ ।

समग्रमा, सत्प्रयास प्रशंसनीय छ ।

ध्रुवहरि अधिकारी
शनिवार, पौष ९, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell