Ruslan
Tata /sipradi
Sarbottam Cement

साहित्य

माटोको गीत

दीपक पराजुली
कस्तो गीत गायौ नि राजै
आवाज त थियो तर अलिमियाँ थिएनन्
कसरी रेट्छौ सारङ्गी बरै
झङ्कार त आयो तर झलकमान आएनन्
तिम्रो मेरो यो धर्ती साझा
पसिनाले सिँचेको नदेखेर हो कि
उठेसम्म ठेला हत्केलाभरी
पाखुरा बजेको नसुनेर हो कि
भुलेर हो कि भुल्न चाहेर कतै
धान लेखिए, धनी लेखिए तर किसान कतै लेखिएनन्
जन्मिएर यो माटोमा यै माटोले हुर्काउँछ
परमाटोमा पराईसँग रणबाजी लगाउँदा
विरह प्रीतको स्वमाटोमा
यो कथा कसले सुनाउँछ
गीतै नगाए भैगो राजै
यो माटो बोलेको सुन्दैनौ भने
नरेटे भैगो सारङ्गी बरै
भुईंमान्छेको ब्यथा बुझ्दैनौ भने
धान त हुनेहरुले नै खाउन्
नहुने म यै माटो खान्छु
माटोकै गीत गाएर
मेरै माटोलाई जीवन दिएर बाँच्छु
उत्सव, उमंग, हाँसो र खुसी
पसिना र आँशु यै माटोमा बगेर होइन लेखेर जान्छ
युग युग अमर गीत यै माटोमा
माटो भनेको माटो होइन माटो मान्छेको चोला हो,
माटो नचिन्नेलाई के थाहा छ र
अलिमियाँ को हो ?
झलकमान को हो ?

-दीपक पराजुली
 
शनिवार, पौष ९, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell
Sarbottam Cement