Nic Asia
Arghakhachi cement
See result
Sarbottam Cement

साहित्य

रोमान्टिक गजलकारः जसको शब्द मात्रैले महफिल तात्छ


तप्प तप्प जलविन्दु चुहाएर के निस्कियौ
स्निग्ध कञ्चन कोमल आहा ! नुहाएर के निस्कियौ
मधुरो घाममा चियाको चुस्कीसँगै चोकमा बसेर चिया पिउँदै गर्दा एक युवती भर्खरै नुहाएर कौसीमा कपाल सुकाउन आउँछिन् । समय ठ्याक्कै थाहा छैन । तर कास्कीको बाटुलेचौरको त्यो दृश्य गजलकार प्रकट पंगेनीको मनमा ताजै छ ।

त्यही परिवेशलाई बिम्ब बनाएर प्रकट पंगेनी ‘शिव’ ले गजल लेखिदिए । धेरैले रुचाएको उक्त गजल जसको कल्पनामा लेखियो, उनले पढिन् या पढिनन् त्यो थाहा छैन प्रकटलाई ।

‘त्यो दृश्य आज सम्झँदा पनि खुबै रमाइलो लाग्छ ।’, प्रकटले हाँस्दै सुनाए ।

आफ्नो प्रकाशित गजल सङ्ग्रह ‘प्रणयवेदका ऋचाहरू’ र अन्य केही अप्रकाशित गजल र दर्जनौं गीतले उनलाई लेखकको चिनारी दिएका छन् ।

–––

हामी पोखराको बाटुलेचौर पुग्दा चर्को घाम लागिरहेको थियो । हामीसँग प्रकट हुँदा प्रकट पंगेनी ‘शिव’ ले आफ्नो निधारका पसिना पुछिरहेका थिए ।

मुसुक्क मुस्कुराउँदै उनले हामीलाई स्वागत गरे । साठी पुग्नै लागेका प्रकटको जोश अलिकति पनि घटेको छैन । आफूलाई प्रणय गजलकारका रूपमा परिचित गराएका प्रकटले कुराकानीकै सिलसिलामा भने, ‘जोश त अझै उस्तै छ, मेरा साथीहरूले जोश हट्दै गयो भन्दा अचम्म लाग्छ ।’

हामी हाँस्यौं ।

पोखराकै सेरोफेरोमा रहेर ‘साहित्य यात्रा’ मा लागिपरेका प्रकट खासगरी गजलकारका रूपमा चिनिन्छन् । पोखरेली कवि तथा गजलकारहरूको पंक्तिमा प्रकटको नाम अग्रस्थानमा आउँछ । कथा, गीत, कविता र गजल लेखेपनि उनलाई धेरैले गजलकारका रूपमा चिन्छन्, त्यो पनि रोमान्टिक प्रणय गजलकारका रूपमा ।

उनी गजल दमदार मात्र लेख्दैनन्, वाचन शैली पनि उनको त्यस्तै आकर्षक छ । गजल सुनाएर वाहवाही पाउनु र महफिल जमाउन त्यति सहज छैन नेपालमा, त्यो पनि सशुल्क कार्यक्रम गरेर ।

‘मैले गजल वाचन गर्दा सधैंभरि गजलको भावअनुसार सुनाउन खोजिरहेको हुन्छु । शब्दअनुसार वाचन गर्छु,’ प्रकट आफ्ना गजलका केही शेर सुनाउँदै थप्छन्, ‘शायद धेरैलाई थाहा छैन, म कलाकार पनि हो । साहित्यकार सरुभक्तसँग मिलेर म नाटक खेल्ने गर्थें ।’

चालीसको दशकको वरिपरि स्टेज नाटकमा पनि सक्रिय थिए प्रकट । पोखराबाट काठमाडौंसमेत नाटक देखाउन आउँथे । सरुभक्तको ‘गोलार्द्धको कालो आकाश’ मा अभिनय गरेर उनले पुरस्कार पनि थापेका थिए ।
‘काठमाडौंमा भएको प्रतियोगितामा त्यतिबेला मैले उत्कृष्ट कलाकारको पुरस्कार पनि पाएको थिएँ,’ उनले आफ्ना शुरुवाती दिनलाई जोडेर थपे, ‘म साहित्यकार मात्र नभएर कलाकार पनि भएको हुनाले मेरो वाचनशैली अझ खारिएको होला ।’

किन अहिल्यै हतारिन्छौ? बसौंला नि भरे राति
दुवै ज्यानले दुवैलाई कसौंला नि भरे राति

कतिपयले प्रकटलाई सामाजिक विसंगति झल्कने गजल लेखेको आरोप पनि लगाउने गर्छन् । तर पंगेनी यो कुरा स्वीकार्न तयार छैनन् ।

‘यस्ता आरोप आउँदा सरसर्ती मेरा सबै गजल पल्टाएर हेरें । कुनै पनि गजलमा मैले सिधै यौन बुझाउने शब्द प्रयोग गरेको रहेनछु । चुम्बन सामान्य कुरा भइहाल्यो,’ उनले थपे, ‘यौन त मान्छेमा मात्र होइन, पशुमा पनि अपरिहार्य छ । यो ध्रुवसत्य कुरा हो ।’

आफ्ना लोकप्रिय गजलकै कारण पूरै नेपालमा चर्चित बनेका पंगेनीले आफ्नो साहित्य सिर्जनाको श्रेय पोखरालाई दिन्छन् । उनी आफूवरिपरि देखिएको हरियाली र झ्यालबाट बेलाबेलामा सुनिने चराहरूको आवाजलाई उदाहरण दिँदै भन्छन्, ‘पोखरामा प्रकृति खुलेकी छन् । र मलाई साहित्य लेख्न यही प्रकृति चाहिन्छ ।’

कुराकानी हुँदै गर्दा प्रकृति परिवर्तन हुँदै थियो । अर्थात्, बादल लाग्दै थियो । अब पानी पर्नेवाला छ ।
‘म सृजनामा बिम्ब उठान गर्छु, शब्द होइन । त्यसैले पनि मेरा गजल रुचाइएका होलान्,’ पंगेनी थप्छन् ।
दर्जनभन्दा बढी एकल गजल वाचन कार्यक्रम गरिसकेका पंगेनीले आफ्ना सबै कार्यक्रम सफल भएको बताए । काठमाडौंको बसाइँ हुँदा दर्जनौं एकल गजल वाचन कार्यक्रम गरिसकेका पंगेनीले अहिले भने गजल लेखनलाई ठ्याप्पै बन्द गरेका छन् ।

किन त?

‘म अहिले एउटा उपन्यास लेख्ने कार्यमा व्यस्त छु । शुरुमा केही समय कविता लेखियो, गीत र गजल पनि लेखियो । अब उपन्यास लेख्ने ।’

काठमाडौंमा बस्दा आफूले दुई वर्षमा दुई रचना समेत सृजना गर्न नसकेको स्मरण गर्दै पंगेनीले थपे, ‘काठमाडौंमा मैले साहित्यिक माहोल नै भेटिनँ । त्यसैले उपन्यास लेख्न पोखरा आएँ ।’

‘काठमाडौंमा झरी पर्दा बाटो हिलो हुने, पोखरामा झरी पर्दा साहित्य फुर्ने,’ प्रकटले यसो भन्दा बाहिर साँच्चिकै झरी पर्न लागेको थियो ।

गजल मात्र होइन, गीतले पनि उनलाई चिनारी दिएको छ । आफूले लेखेका सृजना जस्ता भएपनि समाजलाई प्रभाव पार्नका लागि लेखिन्छ भन्ने कुरामा भने पंगेनीको सहमति छैन ।

‘हामीले साहित्य लेख्ने आफैंलाई मन परेर हो । पछि समाजले मन पराइदिने अर्को पक्ष हो,’ उनले फेरि थपे, ‘साहित्यकारले साहित्य समाजका लागि लेखिन्छ भन्नु गलत हो । साहित्य आफ्ना लागि लेखिन्छ ।’

परिवार काठमाडौंमै बस्ने भएपनि पंगेनी भने प्रकृतिको काखमा बसेर उपन्यास लेख्न पोखरा फर्किए । ‘मलाई लाग्यो, म लेख्न जन्मिएको हुँ । मैले लेख्नुपर्छ ।’

उनलाई मात्र लाग्यो ? होइन ।

पहिले त श्रीमतीले समेत रचना लेख्दा लेखेर काम छैन भनेर भन्ने गर्थिन् । रचना लेखेरै जब एकल कार्यक्रमहरू हुन थाले, अहिले भने परिवारले पनि लेख्न कर लगाउँछन् ।

अर्थात्, साहित्यसँग समाज जोडिएको हुँदो रहेछ । साहित्यसँगै पैसाको पनि अर्थ हुँदो रहेछ । उनको आशय यस्तै थियो ।

साहित्य व्यावसायिक बन्नुपर्छ भन्ने तर्क राख्ने पंगेनीको उपन्यास सम्भवतः अबको केही महिनामै पाठकले पढ्न पाउनेछन् ।

उपन्यास कहिले त ? ‘ड्राफ्ट बनिसकेको छ । केही कुरालाई अझै सुधार्नुपर्ने भएर केही ढिला भएको हो । अब छिट्टै आउला ।’

त्यही उपन्यासका लागि पोखरा बसेको उनले सुुनाए ।

उनका प्रिय गजलका पाठकले अब कहिल्यै गजल पढ्न नपाउन सक्छन् । तर छिट्टै नै उपन्यास भने पढ्न पाउनेछन् ।

हामीले कुराकानी सकिसक्दा सिमसिम पानी परिरहेको थियो ।

हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो
सारीको सप्को अलि माथि सार्नुको मज्जा बेग्लै थियो
वारिबाट पारिसम्म छोटो बाटो भएपनि
आलेटाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो
भेल थियो, भेलमा उनले डराएर टेक्नै छाडिन्
मलाई भने त्यस्तै मौका पार्नुको मज्जा बेग्लै थियो
कुन्नि कता के के गर्दा छोयो केमा पाखुराले
त्यतिबेला मैले धित मार्नुको मज्जा बेग्लै थियो
खोला तरी आइयो किनार भिजिन् उनी निथ्रुक्क भई
लुगा निचोरी पानी झार्नुको मज्जा बेग्लै थियो शनिवार, जेठ २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell