Nic Asia
cocacola

साहित्य

चट्याङ मास्टर र शेषराज भट्टराईलाई भैरव पुरस्कार प्रदान गरिने

काठमाडौं, १९ पुस — प्रसिद्ध हास्यव्यङ्ग्यकार स्वर्गीय भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार काठमाडौं निवासी चट्याङ मास्टर (कृष्णमुरारी गौतम) तथा भैरव प्रतिभा पुरस्कार पोखराका शेषराज भट्टराईलाई प्रदान गरिने भएको छ ।


भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरेको सभापतित्वमा राजधानीमा सोमवार बसेको बैठकले पुरस्कारको घोषणा गरेको हो ।

प्रत्येक दुई वर्षको अन्तरालमा दिइने भैरव पुरस्कारको राशि नगद ५० हजार रुपैयाँ तथा भैरव प्रतिभा पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।

गौतम तथा भट्टराईलाई वर्ष २०७१–७२ का लागि उत्कृष्ट हास्यव्यङ्ग्यकारका रूपमा पुरस्कृत गर्न लागिएको गुठीका सचिव वसन्त रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अर्यालकै स्मृतिमा आयोजना गरिएको काठमाडौं क्षेत्र नम्बर २–३ व्यापी माध्यमिक विद्यालय स्तरीय हास्यव्यङ्ग्य प्रतियोगितामा विजयीहरूको नाम पनि गुठीले घोषणा गरेको छ ।

पहिलो स्थान मोनास्टिक पब्लिक स्कूलकी छात्रा अविना थापाले हासिल गरेकी छिन् । द्वितीय स्थान जेभियर इन्टरनेसनलकी दृष्टि लम्सालले हात पारेकी छिन् भने आदर्श मावि भद्रवासकी प्रमिला फुयाँल तेस्रो भएकी छिन् । अरुणिमा माविका सौरभ फुयाँलले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

पुरस्कारको राशि क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ रहेको छ ।

यी सबै पुरस्कारहरू वरिष्ठ साहित्यकारहरूकोे उपस्थितिमा यही पुस २९ गते वितरण गरिने भैरव पुरस्कार गुठीले जनाएको छ । मंगलवार, पौष १९, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti