shivam
Nerolac and Nepal life

साहित्य

म ‘म’ हुँ (कविता)


म छु,
म ‘म’ हुँ
‘म’ सदा रहिरहन्छु,
तपाईंलाई लाग्न सक्छ,
म कतै विचलित भएँ कि !
चिन्ता तपाईं नगर्नुुस् मेरो
म अलमलमा कुनै क्षण परे पनि
मभित्रको ‘म’ जीवित छ

ढाँट्नु छैन यहाँ मैले
निर्ढुक्क भइ भन्न सक्छु,

कोही मेनका बनेर आए
कोही उर्वशी पनि बने
म कहिल्यै विश्वामित्र बनिनँ
बनेँ त केवल अर्जुन बनेँ
कैयौँ रुपमतीदेखि मोहित भएर
कहिल्यै रामायणको रावण बनिनँ,
त्यसर्थ मभित्रको ‘म’ जीवित छ

तपाईंलाई थाहा छँदै छ नि !
उसले पनि मलाईं कत्ति पछ्याउँथी
र यो पनि तपाईंलाई थाहा छ,
म पनि बारम्बार उसलाई पछ्याउँथे
जब हामी बारबार नजिक हुन्थ्यौँ
मभित्रको ‘म’ दूर हुन्थ्यो त
म मात्र केही क्षण उसको समीप
अनि त मभित्रको ‘म’ जीवित छ

उसको नजिक हुनु मेरो बाध्यता थियो
म अझै उसँग नजिक हुन्छु
‘म’ लाई टाढा राखेर उसलाई अलिकति छुन्छु
जब उसको स्पर्श बोध हुन्छ
तब ममा मभित्रको ‘म’ बोध हुन्छ
ऊ हेरिरहन्छे, म फेरि दूर हुन्छु
त्यसैले त मभित्रको ‘म’ जीवित छ

मलाईं आफ्नो बनाउन उसले
कहिले मलाईं हातमा लिइ त
कहिले मेरै मान्छेहरुलाई लिई
उनीहरुले पनि मलाईं भन्ने गर्थे,
“उसले तँलाईं ‘कत्ति’ प्रेम गर्छे”
होला, सायद उसले प्रेम गरेरै होला,
म आज सबैको प्रेमी भएको

उसले ममा भौतिक परिवर्तन त ल्याई
तर ‘म’ लाई बदल्न कदापि सकिनँ
आज अरुले पनि मलाई भन्छन्,
“तँ कहिल्यै नबदलिएको मान्छे !”
होइन, म पनि बदलिन चाहन्छु, तर
मभित्रको ‘म’ सदा अध्यात्म हो,
‘म’ लाई म बदल्न सक्दिनँ,
यसैले मभित्रको ‘म’ जीवित छ

म आफ्नै शकुन्तलालाई चिन्न नसक्ने
महानायक दुश्यन्त कदापि हैन
यसर्थ पनि म उनीसँग प्रेम गर्छु
उनी मेरी आमा हुन् .........!
उनको सर्वस्व यो धर्ती हो
धर्ती मेरो पनि देश हो,
त्यसैले म आमा, धर्ती र देशलाई प्रेम गर्छु
तपार्ईंले अब त बुझ्नुभो होला
आमा र देश मभित्रका ‘म’ हुन्,
म सधैँ ‘म’ लाई प्रेम गर्छु
म छु,
म ‘म’ हुँ
त्यसैले मभित्रको ‘म’ अझै जीवित छ ।

-दिपक दाहाल बिहिवार, श्रावण १९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota