साहित्य

गीतकारको अभिरूचि अभिलेखनतर्फ


दिनेश अधिकारीको चिनारी कवि/गीतकारको रुपमा भएको बीसौं वर्ष भइसक्यो । तर हालै आएर उनको लेखन–कला अभिलेखमा राख्नुपर्ने छायाचित्र र तिनको सन्दर्भ–विवरणमा केन्द्रित भएको देखिन्छ । शुक्रबार दिउँसो भृकृटीमण्डपको पुस्तक–प्रदर्शनीस्थलमा लोकार्पण भएको अधिकारीको नवीनतम् कृति ‘तस्बिरको कथा’ यसै कुराको प्रमाण हो ।

एकसय २६ पृष्ठको यो कृतिको लोकार्पण तीन विशिष्ट महानुभावबाट एकसाथ भयो, प्रो. अभि सुवेदी, गायक प्रेमध्वज प्रधान र नेपाल सरकारका मुख्य सचिव राजेन्द्र किशोर क्षेत्री । ‘दिनेशको लागि आजका त्रिमूर्ति हामी नै भयौं,’ आफ्नो मन्तव्यको क्रममा समीक्षक विद्वान् सुवेदीले लेखकको प्रयासको सह्रनीमा भन्नुभयो ।

२०३६ साल कार्तिक ३ गते बीपी कोइरालाबाट लेखक सुवर्ण पदक प्राप्त गर्दै ।


अधिकारीको साहित्य–यात्रालाई सुवेदीले ठम्याएझैं उनको गीत–रचनाबाट आफू प्रभावित रहेको जानकारी प्रेमध्वज प्रधानले दिनुभयो । सरकारी सेवामा रहँदाका अधिकारीको कार्यशैली र दक्षता चिन्ने अवसर पाएको अनुभव मुख्य सचिव क्षेत्रीले सुनाउनु भयो । ‘बूकआर्ट नेपाल’को तर्फबाट मन्तव्य दिँदा कार्तिकेय घिमिरेले अधिकारीको यस नौलो प्रयोगको प्रकाशक हुन पाएकोमा आफ्नो संस्थालाई प्रसन्नता भएको विचार व्यक्त गर्नुभयो ।

बीपी कोइराला, भूपि शेरचन, नारायण गोपाल, राजा वीरेन्द्र, प्रथम राष्ट्रपति रामवरण यादव, कमल दीक्षित, श्याम बेनगल (भारतीय चलचित्रका निर्देशक) सिद्धिचरण श्रेष्ठ, कीर्तिनिधि बिष्ट, राष्ट्रकवि माधव घिमिरे, रानी ऐश्वर्य, लोकेन्द्रबहादुर चन्द, सत्यमोहन जोशी समेत अनेक स्रष्टा र विशिष्ट व्यक्तित्वहरुको स्नेह र सामीप्य लेखकलाई के कस्तो परिवेशमा प्राप्त भयो, हरेकको संक्षिप्त विवरण तस्बिरको साथ दिइएको छ ।

अधिकारीका अग्रज पुस्ताका र समवयी साहित्यकार, सङ्गीतकारहरूसितका अनुभव र अनुभूति पुस्तकमा समेटिएका छन् । पुस्तकमा प्रयोग भएको कागज र गुणस्तरीय छपाइले गर्दा होला, यो पुस्तक एकैपल्ट उज्यालो र आकर्षक बन्न पुगेको छ ।

साहित्य, संगीतको क्षेत्रमा अन्वेषण, अनुसन्धान गर्नेहरुको निम्ति यो कृति गहकिलो स्रोत–सामग्री हुने अनुमान छ ।

पाँचसय पाँच रुपिञा मूल्य अङ्कित यस पुस्तकलाई शुक्रबार र शनिबार (पुस्तक प्रदर्शनीस्थलमा) तीनसय पचासमा उपलब्ध गराइएको थाहा भएको छ । साउन २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस