Nic Asia
Sarbottam Cement

साहित्य

जीवनको अर्थ खोज्दै मृत्युसँग साक्षात्कार

विन्देश दहाल

जीवनको अर्थ के हो भनेर कसैले सोध्यो भने उत्तर दिन गाह्रै पर्छ । भागदौडले भरिएको जिन्दगीमा जीवनको बारेमा सोच्ने फुर्सद पनि हुँदैन सबैलाई । तैपनि व्यक्तिको जिन्दगीमा यस्ता क्षण आउँछन् जसले जीवनको अर्थ र उद्देश्यका बारेमा सोच्न बाध्य बनाउँछन् । निको नहुने रोग लागेका व्यक्तिको हकमा जीवनको अर्थखोज ज्वलन्त रूपमा देखापर्छ ।


यस्तै एक व्यक्ति थिए पल कलानीति । क्रिस्चियन पिता र दक्षिण भारतीय हिन्दू आमाका एक छोरा पल पेशाले स्नायुचिकित्सक (न्युरोसर्जन) थिए । स्नायुचिकित्साले ‘अर्थ, पहिचान र मृत्युसँगको चुनौतीपूर्ण र प्रत्यक्ष सामना’ गराउने भएकाले उनलाई यो पेशा चित्त बुझेको हो । स्नायुचिकित्साको अध्ययन समाप्त हुनै लागेको बेलामा उनलाई फोक्सोको क्यान्सर लागेको पत्ता लाग्यो । अन्तिम चरणमा पुगेको क्यान्सरले उनको मृत्युलाई अवश्यम्भावी बनायो ।

सैंतीस वर्षको कम उमेरमै क्यान्सरले लानुअघि उनले पुस्तक लेखे ‘ह्वेन ब्रेथ बिकम्स एयर’ (जब श्वास बन्छ हावा) । उनको यो संस्मरणमा आफ्नो विगत र मृत्युसँगको साक्षात्कारका विषयमा उनले कलात्मक तवरले पेश गरेका छन् । उनको मृत्युपछि प्रकाशित भएको हो यो पुस्तक ।

सन् २०१६ का उत्कृष्ट पुस्तकहरूका प्रायः सबै सूचीमा पर्न सफल यो कारुणिक संस्मरणको शुरुवात पलले आफ्नी श्रीमती लुसी (उनी पनि चिकित्सक नै हुन्) सँग आफ्नो सिटी स्क्यान गरेबाट हुन्छ । सिटी स्क्यानको परिणामले उनका भविष्य योजनालाई हावामा उडाइदिन्छन् किनकि उनलाई क्यान्सर भएको पत्ता लाग्छ ।

‘ह्वेन ब्रेथ बिकम्स एयर’ दुई भागमा विभाजित छ : पहिलो भागमा उनी कसरी चिकित्सक बन्न पुगे र बिरामीहरूको जीवन बचाउन सफल भए पढ्न पाइन्छ भने दोस्रो भागले उनी क्यान्सरको रोगी भएपछि मृत्युको कसरी सामना गरे बताउँछ ।

विज्ञानको शुष्कतासँग चित्त नबुझाउने पलले अंग्रेजी साहित्य, दर्शन र जीवविज्ञान (बायोलोजी) मा स्नातकोत्तर हासिल गरे । विज्ञान र साहित्यको सम्मिश्रण उनको यो जीवनीमा देख्न पाइन्छ । स्नायुचिकित्साका प्राविधिक शब्द कवितात्मक भाषाका लयसँग मिसिएर पाठकलाई एक अनौठो आनन्द दिन सफल छ ।

साहित्यसँगको प्रेमले उनलाई दर्शनतिर पनि डोहो–याउँछ । यही क्रममा उनी सोध्न पुग्छन्, ‘के कुराले मानवको जीवन सार्थक बनाउँछ ?’ अनि यसको उत्तर उनी मानविकी र विज्ञानको सम्मिश्रणमा भेट्छन् । ‘मलाई अझै पनि लाग्छ साहित्यले मस्तिष्कको सही चित्रण गर्न सक्छ भने स्नायुविज्ञानले दिमागका सुन्दर नियमहरू पेश गर्छ,’ उनी लेख्छन् । (मूल अंग्रेजी भाषामा लेखकको कवित्व झल्किन्छ जुन अनुवादले समात्न सक्दैन ।)

चिकित्सा अध्ययनको चौथो वर्षमा उनी ब्रेन ट्युमर भएको एक बालकसँग भेट भएपछि स्नायुविज्ञानमा लाग्न प्रेरित हुन्छन् । स्नायुविज्ञानको अभ्यासकै क्रममा उनी जीवन र मृत्यु अनि अस्तित्वका प्रश्नहरूको सामना गर्न पुग्छन् । मरणासन्न रोगीहरूका दिमागबाट हानिकारक ट्युमर निकाल्ने क्रममा उनी जीवनले उठाउने प्रश्नको सामना गर्छन् ।

यही क्रममा जीवनको अर्थ खोज्दै जाँदा उनी महान् साहित्य पनि अध्ययन गर्छन् । रुसका महान् साहित्यकार लियो टोल्स्टोयको ‘द डेथ अफ इभान इल्यिच’, अलेक्जेन्डर सोल्झेनित्सिनको ‘क्यान्सर वार्ड’, मोन्टेनका निबन्ध लगायत मृत्युको बारेमा लेखिएका भेटेजति पुस्तक उनी पढ्छन् ।

जीवनको अर्थ र मृत्युको वास्तविकता पत्ता लगाउने उनको प्रयासका क्रममा उनी आयरल्यान्डका नाटककार स्यामुअल बेकेटका शब्द भेट्छन्, ‘म अघि बढ्न सक्दिनँ । म अघि बढ्छु ।’ यही विरोधाभासले जीवनप्रतिको आशा र निराशालाई प्रतिबिम्बित गर्छ । तमाम निराशाका बाबजुद जीवनलाई अघि बढाउनु नै यसको सार्थकता हो ।

जीवनको अर्थ पत्ता लागेको हो कि भनी ठानेको केही समयपछि उनको फोक्सोमा ट्युमर बढेको पत्ता लाग्छ । उनी केमोथेरापी गराउन थाल्छन् । उता उनको स्नायुचिकित्साको पढाइ पूरा हुने बेला हुन्छ । दीक्षान्त समारोह उनकी छोरी जन्मनुभन्दा १५ दिन अघि राखिन्छ । तर दीक्षान्तको लागि तयार हुने क्रममा चक्कर लागेर उनी बान्ता गर्न थाल्छन् र समारोहमा जान असमर्थ हुन्छन् ।

यहीबीचमा उनकी छोरी क्याडी जन्मिन्छिन् । उनले जिन्दगीभरि खोजिरहेको जीवनको अर्थ क्याडीको जन्मले दिएको हो कि झैं लाग्छ उनलाई ।

क्यान्सरले लडाएपछि केही समय तंग्रेर बस्दा पललाई रोगीको सेवा गर्न नपाएकोमा छटपटी हुन्छ । उनले शक्ति सञ्चय गरेपछि एकदुईजना बिरामीको अपरेसन पनि गर्छन् तर क्यान्सरले उनलाई भित्रभित्रै गलाइसकेकाले उनी चिकित्साकर्ममा असमर्थ हुन्छन् ।

सन् २०१५ को मार्च ९ तारिखका दिन पल यो संसारबाट बिदा भएका थिए । आफ्नो परिवारसँग बिदाइ लिएर बेहोश हुनुअघि उनी आफू महायात्राका लागि तयार भएको बताउँछन् ।

असमर्थताका बाबजुद यो पुस्तक जसरी भएपनि पूरा गर्ने उनको धोको अधूरै रहन्छ । तर अपूरो पुस्तक अर्थहीन भने हुन पाएको छैन । पलले महसूस गरेका सबै भावना र उनको दिमागमा फुरेका सबै विचार यसमा अटाए झैं लाग्छ । मृत्युले बोलाएपछि आफूले बनाएको पहिचानमा ठूलो भूकम्प गएको कुरालाई उनले ठाउँ ठाउँमा मार्मिक वर्णन गरेका छन् । पुस्तकको प्रकाशन नै उनको जीवनको सार्थकताका बारेमा बोल्न समर्थ छ ।


पलकी पत्नी लुसीले पुस्तकको उपसंहार लेखेकी हुन् । त्यसमा उनले कसरी पल यो पुस्तक सिध्याउनका लागि दत्तचित्त भएर लागेका थिए र उनी कस्ता मानिस थिए भनी विस्तृत रूपमा वर्णन गरेकी छिन् । पुस्तक पढिसक्दा उनी साँच्चिकै महान् व्यक्तित्व थिए भन्ने पाठकलाई थाहा हुन्छ । निःस्वार्थ रूपमा रोगीलाई सेवा गर्ने उनको प्रयास स्तुत्य थियो । समयअगावै ठूलो रोग लागेर उनी बित्नु दुर्भाग्यकै कुरा हो ।

चिकित्साविज्ञान आफैंमा शुष्क विषय हो । तर यसमा पनि साहित्य र दर्शन मिसाउन सफल भएकाले पल कलानीतिको ‘ह्वेन ब्रेथ बिकम्स एयर’ अध्ययन गर्नैपर्ने पुस्तक हो । अतुल गवान्डेको ‘बीइङ मोर्टल’ पछिको उम्दा किताबका रूपमा यसलाई लिन सकिन्छ ।

पुस्तकको शीर्षक १७औं शताब्दीको एक कविता ‘सेलिका’बाट लिइएको हो । ब्यारोन ब्रूक फुल्के ग्रेभिलको यो कवितामा एक पंक्ति छ : ‘मृत्युमा जीवन खोज्ने मानिस, कुनै बेलाको तिम्रो श्वास अहिले हावा भएको छ ।’ मानिसको शरीरबाट प्राणवायु निस्केपछि ब्रह्माण्डको वायुसँग मिसिन पुग्छ । प्राणको महाप्राणसँगको सम्मिलन नै त मृत्यु हो । त्यसैले पनि पुस्तकको शीर्षक अर्थपूर्ण छ ।

पुस्तक : ह्वेन ब्रेथ बिकम्स एयर
लेखक : पल कलानीति
विधा : संस्मरण
प्रकाशित मिति : जनवरी २०१६
पृष्ठसंख्या : २०८ शनिवार, पौष २३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell