Nic Asia
Sarbottam Cement

साहित्य

अजायब

अर्घेलो थापा

गियरवाला साइकल किनेको ठ्याक्कै नौ दिन भएको थियो । साँझ कुपण्डोलस्थित आफ्नो अफिसबाट फर्किदा झमक्कै साँझ परिसकेको हुन्थ्यो । सडकभरी फैलिएको धुलोले कोठामा आइपुग्दा मेरो साइकललाई ढपक्कै ढाकिसकेको हुन्थ्यो ।

बिहान अबेरसम्म सुत्ने बानीले मलाई व्यस्त बनाएको थियो । म उठ्ने र अफिस जाने बेला एकैपटक हुन्थ्यो । रातको बाह्र बजेसम्म मैले कथा लेख्नका लागि समय छुट्याएको थिएँ ।

साइकल किनेको अठारौं दिन । अफिसबाट आफ्नो कोठामा फर्किरहेको थिएँ । रातले साँझलाई जबरजस्ती आफ्नो साङ्लोमा बाँधिसकेको थियो । अरु सवारी साधनले छरेको उज्यालोका आधारमा आफ्नो साइकललाई बिस्तारै कुदाइरहेको थिएँ बाटोमा ।

एक्कासी अँध्यारो भयो । घाम घण्टौं पहिले डुबेपनि क्षितिजले अलिकति उज्यालो छरिरहेको थियो । तर, एक्कासी अँध्यारो भयो । शहरका कुनै पनि बत्तीहरू बलेनन् । पोलका बत्तीहरू बलेनन् । सवारी साधनका व्यक्तिगत बत्तीहरू पनि बलेनन् ।

त्यसपछि बाटो पछ्याउन गाह्रो भयो मलाई । सवारी साधनहरूले आफ्नो रफ्तारलाई सुस्त बनाए । म ती साधनहरूको पछिपछि कुदिरहेको थिएँ । अर्थात साइकल कुदाइरहेको थिएँ । सडकका पेटीमा मुकुट लगाएका केही मान्छेहरू यताउता गरिरहेका थिए ।

मलाई घर जान हतार भइरहेको थियो । तर हेर्दाहेर्दै केही घरहरू गायब हुन थाले । सडक पेटीका केही घरहरू लापत्ता भए । घर हराएका जग्गाहरूमा पानीको सतह देखिएको थियो । मलाई अनौठो किसिमको डर लाग्न थाल्यो । मानौं, मैले भर्खरै आठ रेक्टरको भूकम्प गएको महसुस गरेको हुँ । होइन, तीनतले घरजत्रो सेतो पोशाक लगाएको ‘श्वेत मान्छे’ मेरै अगाडि उभिएको छ ।

यो एउटा अप्रत्याशित घटना थियो मेरा लागि । घरमा गएर एउटा यौनमनोविश्लेषणात्मक कथा लेख्ने योजना बुनेको थिएँ । अरु केही योजनाहरू पनि थिए । तर मलाई बाटोले अल्झनमा पारेको थियो । भर्खरै घर हराएझैं बाटो पनि हरायो भने के होला भन्ने भय मनमा नआएको पनि होइन ।

केही पर ट्राफिकको चेकिङ थियो । लेखिएको थियो – ‘बाटो बन्द छ । ट्रक बाहेक अरु सवारी साधन बैकल्पिक बाटो जान सक्नुहुन्छ ।’

नजिकै एउटा प्रहरी मेचमा बसेर मैनबत्तीको उज्यालोमा केही ट्रकहरलाई चेकिङ गरिरहेको थियो । नजिकै गएर सोधें – ‘सर, यो ट्रकमात्र चेक गर्नुको कारण के होला?’

‘कसैले उज्यालो हराउने मेसिन ट्रकमा लुकाएर शहर घुम्दैछ भन्ने सुन्नमा आएको छ ।’

नजिकैबाट एउटा ट्रक हुइँकेर गयो । म वैकल्पिक बाटो अगाडि बढें । रात छिप्पिसकेको थियो । जूनको उज्यालोले वातावरणलाई अलिकति भए पनि सन्तुलित बनाएको थियो । सडकका पेटीमा मुकुट लगाएका केही मान्छेहरू यताउता गरिरहेका थिए ।

बिस्तारै शहरका घरहरू औंलामा गन्न सकिने मात्र देखिन थाले । हामीले घर देख्ने ठाउँमा सङ्लो पोखरी देखिरहेका थियौं । पानीमा माछाहरू मात्र थिएनन्, भ्यागुताका बच्चाहरू पनि ट्यार्र ट्यार्र गर्दै कराइरहेका थिए । आँखाले देख्न सक्ने भेगभरीमा घरहरू हराइसकेका थिए । काठमाडौं पोखरी बनिसकेको थियो । बाटोहरू पुल जस्तै देखिएका थिए । हो, सडकका पेटीमा मुकुट लगाएका केही मान्छेहरू यताउता गरिरहेका थिए । मैले साइकल बेस्सरी कुदाएँ ।

लगभग पच्चीस मिनेट मैले पछाडि फर्केर हेरिन । साइकलको गति पनि कम गरिन । यतिबेला म आफ्नो कोठामा आउनुपर्ने हो ।
तर अगाडि कुनै घरहरू थिएनन् । उस्तै देखिने नौ ट्रक लस्करै राखिएको थियो । ट्रकका छेउमा थुप्रै ‘ब्ल्याक एण्ड ह्वाइट’ झण्डा उभिएका थिए । हजारौं मान्छेहरूको भेला थियो । यो भेलाको आशय बुझ्न नजिकै उभिएका एक वृद्धलाई सोधें ।

‘के को भेला हो?’
‘यहाँ आन्दोलनको तयारी हुँदैछ ।’
‘आन्दोलन ?’ – मैले आश्चर्य जनाएँ ।
‘हामी विश्व अँध्यारो हुनुपर्छ भन्ने आन्दोलनमा छौं ।’

म पङ्क्तिबाट केही पर उभिएँ । जूनको उज्यालोमा मैले केही मान्छेका टाउकाहरू प्रष्टसँग पढ्न सक्थें । पाइन्टको खल्तीमा राखेको मोबाइल निकालें । मोवाइलको समयलाई आधार मान्ने हो भने त्यतिबेला साँझको ६ बजिसकेको थियो । मेरो मोबाइलको वालपेपरमा एक कामुक युवतीको तस्बिर थियो । मैले आजसम्म ती युवतीलाई कतै देखेको थिइन ।

‘तपाईले त मेरो फोटोलाई आफ्नो वालमा राख्नुभएछ त ।’ – अप्रत्यासित प्रश्नले मलाई झस्कायो ।
‘सरी । मैले तपाईलाई चिनिन ।’ – आवाज पछ्याउँदै मैले सोधें ।

‘तपाई एउटा यौन मनोविश्लेषणात्मक कथा लेख्न चाहनुहुन्थ्यो । म त्यही कथाकी पात्र हुँ ।’
‘तर मैले कथा अझै सुरु गरेकै छैन । पात्र चयन र चरित्र चित्रण गरेकै छैन ।’ – मैले भनें ।

‘ऊ केही पाइला पर सरी । मोबाइलको वालपेपर पनि अलिकति स¥यो । भनिहालें नि, त्यहाँ अरु हजारौं मान्छेहरू जम्मा भएका थिए । उनीहरू उज्यालो उन्मुलनको आन्दोलनमा थिए ।

‘जागिर कस्तो चल्दैछ? युद्धकालमा त थुप्रै पत्रकारहरू मारिए भन्ने सुनिन्थ्यो ।’ – उसले आफैले मुस्कुराएर प्रश्न राखी ।

‘उज्यालो उन्मुलन गरेर के फाइदा छ? म यहाँ प्रश्न सोध्न आएको होइन । – मैले प्रतिप्रश्न गरें ।

‘प्रश्न सोधेर प्रश्न सोध्न आएको होइन भन्दिने? त्यसो भए किन आउनुभएको?’

‘बाटो बिराएर ।’ – मैले आँखा चिम्लें । खैर ! मेरा आँखा थाकेका थिए ।

उसको झोला नीलो रंगको थियो । झोलाबाटसादा कापी र पेन्सिल निकाली । केही सडकपेटी सहितको नक्सा बनाई । नक्सामा बाटोहरू प्रष्ट देखिन्थे । मेरो हातमा नक्सा थमाउँदै भनी – ‘यो नक्साले तपाईलाई बाटो खोज्न मद्दत गर्नेछ ।’

मैले नक्सा हातमा लिएँ ।

तपाईलाई युवती कस्ती थिई भन्ने लाग्ला । उसको अनुहार गोलो र गोरो दुवै थियो । आँखा टपक्क मिलेका थिए । आँखाका नानी निख्खर काला थिए । उसको हरेक अभिव्यक्तिमा कामुकता थियो ।

छुट्ने बेलामा मैले उसको नाम सोधें । मुस्कुराएर उसले नाम बताई । नाम त्यही थियो, जुन नाम मैले कथाका लागि छनोट गरेको थिएँ – ‘कुमारी’ ।

म साइकल कुदाएर अगाडि बढिरहेको थिएँ । जूनको उज्यालोमा पहिलोपटक यति बेस्मारी साइकल कुदाउनु परेको थियो । युवतीले दिएको नक्साका आधारमा कम्तिमा आधा घण्टा आफ्नो रफ्तारमा कुदिरहें ।

सडकका पेटीमा केही मुकुट लगाएका मान्छेहरू यताउता गरिरहेका थिए । अगाडि मान्छेको बाक्लो भीड थियो । एक युवाले आफ्नो कपाललाई आकाशतिर फर्काएको थियो । उसले आँखामा गाजल लाएको जूनको उज्यालोमा प्रष्ट देखिन्थ्यो ।

‘कृपया यहाँ के भइरहेको छ, मलाई अपडेट गराइदिनोस् । म पत्रकार हुँ ।’ – मैले झट्ट साइकलको बे्रक लगाएर युवालाई सोधें ।

‘यहाँ उज्यालो उन्मुलनको आन्दोलनको तयारी हुँदैछ ।’ – उसले मलाई हेर्दैै नहेरी उत्तर दियो ।

‘म आत्तिएँ । युवतीले दिएको नक्सा पछ्याउँदा के म फेरि यही ठाउँमा आइपुगें? के यो काठमाडौं नै हो?
त्यहाँ भेला भएका कतिपय मान्छेका अनुहार हेरें । उनीहरूको अनुहारमा निराशाका लामा लामा तन्तुहरू सल्बलाइरहेका थिए ।

‘हामी भुलभुलैयामा अल्झिनु नै थियो ।’ – उही युवती मेरो छेउमा आएर उभिएकी थिई । उसले मलाई हेरेर अर्कोपटक मुसुक्क हाँसी । त्यतिबेला उसका दाँत टलक्क टल्केका थिए । ‘भुलभुलैया मतलब?’ – मैले पूरै ध्यान युवतीमाथि केन्द्रित गरें ।

‘हामी जसरी यो सृष्टिमा अल्झिएका छौं । जसरी हाम्रो राजनीति भुलभुलैयामा अल्झेको छ । मेरी आमालाई पनि केही त्यस्ता रोगहरूले अल्झाएका छन्, जुन रोगको कुनै निदान नै छैन ।’

‘तपाई को हो?

‘तपाईले एउटा कथा लेख्न खोज्दै हुनुहुन्थ्यो । त्यो कथामा मेरो चरित्र लेख्नुभएको थियो ।

‘कुन कथा? तर कथा मैले अझैसम्म सुरु नै गरेको छैन ।’

‘हो, तपाईले सुरु नै गर्नुभएको छैन । मैले कथा लेखिसक्नुभयो भनेकै छैन ।’

जूनको उज्यालोमा मान्छेहरू आन्दोलनको तयारीमा थिए । परबाट प्रहरीको भ्यान रन्किएर आयो । जम्मा भएका मान्छेहरू भाग्न थाले । लस्करै राखिएका नौ ट्रक छापा मा¥यो । ती सबैमा काँचको ऐना राखिएको थियो । ऐनाले काठमाडौंको उज्यालोलाई सञ्चय गरेर अर्कै ग्रहमा पठाएको प्रहरीको वाकीट्वाकीमा सुनिएको थियो । ट्रकभित्र राखिएका ऐनाको हत्यापछि भने काठमाडौंका सडक पेटीमा बत्तीहरू बल्न थाले ।

काठमाडौं अलिकति उज्यालो भएको थियो । केही हराउन बाँकी घरहरूमा पनि उज्यालो छरिएको थियो । अघिको भीडमा कसैले मेरो साइकल चढेर गएछ । मलाई भाउन्न छुटेर आयो ।

उक्त युवती र म मात्र बाँकी थियौं त्यो भेगमा ।

‘माफ गर्नुहोला, तपाई अघि भर्खर एक युवासँग बोल्दै हुनुहुन्थ्यो । उसैले तपाईको साइकल लगेको हुनसक्छ ।’
‘किन?’

‘किनकि त्यो साइकल तपाईका लागि कुनै कामको थिएन ।’

‘हामी धेरै अपरिचित र थोरै परिचित छौं । कृपया तपाईले मलाई चिनेजस्तो व्यवहार नगर्नुस् ।’ – मैले हाँस्दै भनें ।
उसले मेरो बारेमा यसरी बताई – ‘तपाई परिवारको एक्लो छोरो हो । दश पास गर्दासम्म तपाईलाई कलाकार बन्ने मन थियो । आमाले सरकारी जागिरे बनाउन चाहनुहुन्थ्यो । चारपटक तपाई प्रेममा पर्नुभयो । तर, यी सबै कुरा पूरा हुन सकेनन् । त्यसैले तपाईको तालु खुइलिएको छ । बुबाले माछापालन गर्नुभएको छ ।’

उसले यति भनिसक्दा हामी सडकपेटी हिँड्दै काठमाडौंको पूर्वी छेउ आइसकेका थियौं । मैले सोधें – ‘बुबाले माछा पाल्नुसँग के कुरा सम्बन्धित छ?’

‘तपाईका बुबाले पोखरीबाट निस्किन नसकेका माछाहरूलाई हेरेर कतिपटक आफ्नो चित्त बुझाउनुभएको छ । उहाँले आफ्नो जिन्दगीलाई माछासँग तुलना गर्नुभएको छ । सायद बुबाको आँसुको स्वाद पोखरीका माछाले चाखेका छन् ।’

लेकख थापा
उसले मलाई माछाको पोखरीनेर ल्याइसकेकी थिई । केही थोपा आँसु मैले त्यही पोखरीमा चढाएँ बुबालाई सम्झेर ।
त्यसपछि हामी नजिकैको सङ्ग्रहालयमा पुग्यौं । सङ्ग्रहालयको बाहिर लेखिएको थियो – अजायब ।

‘अजायबमा तपाईलाई स्वागत छ । यो शब्दको अर्थ तपाईलाई थाहा छ । यदि थाहा छैन भने अन्त्यमा सोध्न सक्नुहुन्छ ।’ – हामीले ढोकामा पाइला राख्नै लागेको बेला स्वचालित मेसिनले भनेको थियो । मैले उक्त स्वचालित मेसिनलाई पुलुक्क हेर्दा ऊ मुसुक्क हाँसेको थियो ।

युवतीले सङ्ग्रहालयभित्रका केही स्थानहरूसँग परिचय गराई । कतै गाई बाँधिएका थिए । गाईका लागि छुट्टै बाथरुमको व्यवस्था थियो । उनीहरूले घाँस हैन, पाकेका केरा खान्थे ।

छेउमा एउटा बडेमानको सुँगुर थियो । उसले आफ्नो वरिपरि त खुबै सफा राख्थ्यो तर कहिलेकाहीँ गाईको ट्वाइलेटमा गएर फोहोर गरिदिन्छ भन्ने युवतीले सुनाई ।

सङ्ग्रहालयमा केही अनौठा कुराहरूको संयोजन थियो । जस्तो कि, सङ्ग्रहालयको बीचमा एउटा पोखरी थियो । पोखरीमा माछाहरू थिए । छेउमा एउटा धुपीको रुख थियो । रुखमा स्याउ, सुन्तला, अंगुर र कटहर फलेका थिए । रुखको ख्याल गर्न एउटा बाँदरलाई राखिएको थियो । बाँदरले बडो इमान्दारिताका साथ बोटको हेरचाह गर्ने कुरा युवतीले सुनाई । अँ, पोखरीका माछाहरू मलाई देखेर रुन थाले । हुनसक्छ, ती माछामध्ये केही माछाले मेरो बुबाको आँसुको रंग देखेका थिए ।

हामी सङ्ग्रहालयको माथिल्लो तल्लामा जाँदै थियौं । कुकुरहरूले नम्रताका साथ हामीलाई स्वागत गरे । युवतीले ती कुकुरलाई मेरो साथी भनेर चिनाई । कुकुरहरूले पुच्छर हल्लाए ।

पहिलो तल्लामा केही बाघहरू कसरत गर्दै थिए । उनीहरूलाई बिरालो बन्नुपर्ने उर्दी जारी थियो । मैले यो कुरा भित्तामा हेरेर पत्ता लगाएको हुँ । लेखिएको थियो – ‘तिमी बिरालो हौ भने बाघ बन । बाघ हौ भने बिरालो बन ।’
युवतीले मलाई कोठाभित्र लगी ।

गुलावी रंगले कलात्मक बनाएको कोठाको एक छेउमा मार्लिन मुनरोको तस्वीर झुण्डाइएको थियो । झ्यालबाट आएको जूनको प्रकाशले कोठालाई उज्यालो बनाउन सकिरहेको थिएन ।

युवतीले झ्यालनिर राखेको चुरोटको बट्टाबाट एउटा चुरोट निकाली । सल्काई । उडिरहेको धुवाँ समातेर बोत्तलमा राखी । मैले उसको नाम सोधें ।

‘दोश्रो पटक नाम सोध्नुको कुनै कारण होला तर मैले तपाईलाई आफ्नो नाम भनिसकेकी छु ।’

‘म अफिसबाट आइरहेको थिएँ । बाटोमा हिँड्दा हिड्दै रात प-यो । अब घर कसरी जाने होला?’ – मेरो आवाज अलिक सुकेर आयो ।’

‘आजको रात तपाई यहीं बस्दा हुन्छ । यो घर पनि तपाईको आफ्नै घर हो ।’

‘माफ गर्नुहोला । मैले आज एउटा कथा लेख्नैपर्ने छ ।’

‘घरहरू हराएको त तपाईले देख्नुभएकै होला । तपाईको आफ्नै घर पनि त हराएको हुनसक्छ ।’

‘घरहरू किन हराए ?’

भोलि सरकारी निर्णय आउला । प्रतिवेदन आउला । मलाई कसरी थाहा हुन सक्छ? यो कुनै दरवार हत्याकाण्ड पनि त होइन नि, न त कुनै वेपत्ता नागरिकको परिवार हो । प्रतिवेदन आउला किन घर हराए भन्नेबारेमा । – उसले एकैसासमा यो डायलग सुनाई ।

‘यसैपनि यो विश्वलाई चकित पार्ने घटना हो ।’ – मैले भनें ।

उसले आफ्ना कोमल हातले चुरोटको ठुटो निभाई । झ्याल बन्द गरी । कोठा पूरै अँध्यारो भयो । मलाई असहज महसुस भइरहेको थियो ।

‘ठीक छ, तपाई लजालु मान्छे हुनुहुँदो रैछ । म तपाईका लागि एउटा वाइन मगाउँछु ।’ – ऊ एक्कासी सङ्ग्रहालय थर्किने गरी हाँसी ।

मलाई पनि हाँसो लाग्यो ।

सङ्ग्रहालयमा रेष्टुँुरा पनि छ भन्ने कुराको मैले हेक्का गरेको थिइन । बरु मैले सङ्ग्रहालयको एक साइडमा राखिएका हजारौं किताब, अर्को छेउमा राखिएका भगवानहरूका आइटम आइटमका मूर्ति र पोखरीका माछाहरूलाई याद गरेको थिएँ ।

उसले फोन गरेर वाइन मगाई । एकैछिनमा २ वटा ककटेल वाइन आयो । वाइनको बोत्तलमा नेपालीमा लेखिएको थियो, ‘स्याउहरूको मिश्रणबाट बनेको रक्सी ।’

मैले बिहानदेखि केही खान पाएको थिएन । संयोगवश मैले एउटा वाइन पिउने सु–अवसर पाएको थिएँ । हामीले चियर्स गरेर वाइन पियौं । वाइन आधा पनि भएको थिएन । ऊ रुन थाली ।

‘किन रुनुभयो?’ – मैले डराएर सोधें ।

‘तपाईले मलाई वाइन पिउन सिकाउनुभएको थियो ।’
‘तर हामी त पहिलो पटक भेट भएका हौं ।’

‘माफ गर्नुहोला । पहिले पनि भेट भएका केही प्रमाण छन् मसँग ।’

अँध्यारो कोठामा केही जुनकिरीहरू आए । ती जुनकिरीहरूले कोठालाई उज्यालो पार्न खोजेको हुनसक्छ । तर जुनकिरीको उज्यालो आफ्नो पुच्छरमा मात्र अल्झिरहेको थियो ।

युवतीले फेरि अर्को कथा सुनाई – ‘यो भन्दा पहिले हाम्रो भेट भएको थियो । हामी एक औपचारिक कार्यक्रममा भेट भएका थियौं । तपाईले मलाई माया गर्नुहुन्थ्यो । हरेक रात फोन गर्नुहुन्थ्यो । सायद हामी प्रेममा परेका थियौं । एकदिन मलाई भेट्नका लागि आग्रह गर्नुभयो । भेट भएपछि हामी एउटा बन्द कोठामा गयौं । त्यो तपाईको आफ्नै कोठा थियो ।
सुन्दर कोठा, जहाँ मिलाएर राखिएका कुनै पनि वस्तु थिएनन् । अत्यन्तै अव्यवस्थित । तपाई मुस्कुराउनुभयो । म तपाईको प्यारमा परेकी हुनसक्छु । तपाईको ओछ्याननिर गएर म बसें । तपाईले मलाई फकाउन खोज्नुभयो । माफ गर्नुहोला, फसाउन खोज्नुभयो । त्यो दिन म बलात्कृत भएकी थिएँ । तपाईलाई सहमति जस्तो लागेपनि मैले वाध्यताले तपाईका कुरालाई आवेशमा आएर स्वीकार्नुपरेको थियो । तर मलाई त्यो स्मरण किन रमाइलो लाग्छ? मलाई त पीडा पो हुनुपर्ने हो त ।’

उसले यसरी आफ्ना कुरा प्रस्तुत गर्दा अनुहारको भाव हेर्न पाएको थिइन । म डराएँ । जुनकिरीहरू बिलाए । मेरो अवचेतन मनले कतै न कतै उसले भनेका कुरा सत्य हुन् कि भन्ने लाग्न थाल्यो ।

त्यसपछि उसले मलाई बलात्कार गरी । लामो समय हैन, नौ मिनेट । उसले मलाई बलात्कार गरेको भनिरहँदा मेरो दिमागमा पहिलो प्रेमको पात्र दिमागमा नाच्न थाल्यो ।’

त्यसपछि कोठा बिस्तारै उज्यालो हुँदै गयो । उसको अनुहारमा सन्तुष्टि देखिन्थ्यो । मेरो मनमा पनि एक प्रकारको सन्तुष्टि दगुरिरहेको थियो ।

हामीले वाइन लिइसकेका थियौं । उसले डिनर अर्डर गरी । आफ्नो फुकेको कपाल सुम्सुमाउँदै भनी – ‘यो समय मेरा लागि महत्वपूर्ण छ ।’
मलाई हाँसो लाग्यो ।

डिनर आइसकेको थियो । मलाई कुनै कुराको भय थिएन । त्यतिखेर मलाई कम्तिमा पनि एक मिनेटसम्म उसलाई चुम्बन गरिरहँु जस्तो भएको थियो । डिनरको प्लेटबाट फ्राइ गरिसकेको माछा उफ्रियो । मैले पकाइसकेको माछा यसरी बाँचेको पहिलोपटक देखेको थिएँ ।

‘तपाईलाई के भयो?’ – युवतीले माछातिर हेर्दै सोधी ।

‘तपाईको बुबाले कयौंपटक पोखरीमा आँसु झार्नुभएको थियो । तपाई आफ्ना बुबाका आँसु पिउँदै हुनुहुन्छ ।’ – माछाले मतिर हेर्दै भन्यो । त्यसपछि फेरि म-यो ।

‘म माछा खान्न ।’ – धेरैबेर टोलाएपछि मैले युवतीलाई भनेको थिएँ ।

ऊ मेरो नजिकै आई । एक मिनेटसम्म मलाई चुम्बन गरिरही । मरिसकेको माछाले फेरि एकपटक आफ्नो पुच्छर हल्लायो । मैले आँखा बन्द गरें ।

‘भोलि केही माछाहरूले तपाईलाई घर लैजानेछन् । पोखरीबाट निस्केपछि घर जानुहुनेछ । हाम्रो सङ्ग्रहालयमा आउँदै गर्नुहोला ।’ – उसले यत्ति भनी ।

मैले युवतीका आँखामा धेरैबेरसम्म हेरिरहें । उसका आँखामा मैले भूतपूर्व प्रेमिकाको छायाँ भेट्याएको थिएँ । उसको मुहार कतै देखेको जस्तो लागिरहेको थियो । एक्कासी हामी दुवैका आँखा रसाए । के ऊ मेरी प्रेमिका थिई । मैले त्यतिबेला मेरो आफ्नो अनुहारको आकृति नै भुलिसकेको थिएँ । शनिवार, पौष २३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell