राजनीति

वाम गठवन्धन छाड्ने तयारीमा बाबुराम, ‘एमाले–माओवादीले साह्रै हेपे’


काठमाडौं, २६ असोज– घोषणा भएको १० दिन नपुग्दै वाम गठवन्धनमा उम्मेदवार छनौटको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।

खासगरी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो पार्टी नयाँ शक्तिलाई प्रतिनिधि सभामा १५ र प्रदेश सभामा न्युनतम २० सिट दिनुपर्ने अडान राखेपछि गठवन्धनमा समस्या उत्पन्न भएको हो ।

गठवन्धन गर्नु अगाडि आफूहरुलाई १५ सिट दिने समझदारी बनेको नयाँ शक्तिका नेताको भनाइ छ । तर अहिले एमाले र माओवादीले नयाँ शक्तिका लागि प्रनिनिधिसभामा १५ सिट छाड्न मानिरहेका छैनन् । यस्तै प्रदेश सभामा पनि बढीमा १० सिट नयाँ शक्तिलाई निद सकिने एमाले र माओवादीका नेताहरुको भनाइ छ । जसले गर्दा गठवन्धनमा समस्या उत्पन्न भएको छ ।

यस्तै माओवादी केन्द्रले बाबुराम भट्टराईका लागि गोरखा जिल्ला छाड्न नसक्ने अडान लिएपछि गठवन्धनमा अझ विवाद बढेको हो । जसका कारण बाबुराम गठवन्धनबाट बाहिरिने मनिस्थितिमा पुगेका उनी निकट स्रोतको भनाइ छ ।

माओवादी केन्द्रले गोरखा–२ बाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी गरेको छ । बाबुराम भट्टराईले पनि गोरखा–२ बाट चुनाव लड्ने भनेर यसअघि नै घोषणा गरिसकेका थिए ।

बाबुरामले नारायणकाजीका लागि गोरखा–२ छाडेर १ नम्बर क्षेत्रबाट चुनाव लड्न आफू तयार रहेको जनाए पनि माओवादी नेता भने सकरात्मक हुन नसकेको नयाँ शक्तिका एक नेताले बताए ।

माओवादी अध्यक्ष प्रचण्डले बाबुरामलाई काठमाडौंबाट चुनाव लड्न सुझाव दिएका छन् । तर बाबुराम भने कुनै पनि हालतमा गोरखा नछाड्ने मनस्थितिमा छन् ।

सोही विषयमा छलफल गर्न भट्टराई बुधवार नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए । तर ओलीले समेत बाबुरामको चासोमा सकरात्मक जवाफ नदिएको नयाँ शक्ति स्रोतको भनाइ छ ।

एमाले र माओवादीले आफूहरुलाई धेरै हेपेको भन्दै बाबुरामले वाम गठवन्धन छाड्ने मनस्थिति बनाइसकेको नयाँ शक्ति स्रोतको भनाइ छ । अन्तिम पटक छलफल गर्न भन्दै बाबुरामले बिहीवारका लागि माओवादी अध्यक्ष प्रचण्डसँग भेटघाट गर्ने तयारी गरेका छन् । प्रचण्डसँगको छलफल पनि सकरात्मक नभए गठवन्धन छाड्ने बाबुरामको तयारी छ । असोज २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस