साहित्य

कञ्चन शर्माले मेरो गजल वाचन गर्दा दुःख लागेको होइन : रवि प्राञ्जल

अर्घेलो थापा/ काठमाडौं  ९ मंसिर –

नखुलेको आकाश खुलेर आयो
ऊ शायद यो बाटो भुलेर आयो

झ-यो त के भो त्यो जूही र जाई,
यो पलाँस मनमा फुलेर आयो

अहिले कञ्चन शर्मा र सुमन खरेलमात्रै होइन उनीहरूसँगै जोडिएका गजलकार रवि प्राञ्जल पनि चर्चामा छन् । सुमन खरेलको एक टिभी कार्यक्रममा कुनै रचना सुनाउनुस् न त भन्दा प्राञ्जलको गजललाई शर्माले आफ्नैझैं गरेर वाचन गरिदिइन् ।rabi_pranjal-2

कार्यक्रम प्रशारण भएसँगै शर्माप्रतिको सहानुभूति चुलियो । अनि विस्तारै उनले कार्यक्रममा बताएका कुराहरू जति गम्भीर ठानिएको थियो, त्यो नभएको पनि बाहिर आउन थाले । अनेक तथ्य बाहिर आउने क्रममै प्राञ्जल स्वयंले सामाजिक सञ्जालमार्फत् कञ्चनले उल्लेख गरेको गजल आफ्नो भएको जानकारी गराए । कञ्चन शर्माकाे वारेमा सामाजिक सञ्चजालमा बहस शुरु भएसँगै कवि तथा गजलकार प्राञ्जल एकाएक चर्चामा आएका छन् । दुई दशक अगाडी नेपाली साहित्यमा चर्चित प्राञ्जल अहिले कञ्चनले गजल वाचन गरेपछि झनै चर्चित बने।

‘मलाई कञ्चन रेग्मीले मेरो कविता वाचन गरेकोमा दुःख लागेको होइन,’ उनले भने, ‘सर्वसाधारणको जानकारीको लागि मात्रै प्रतिक्रिया जनाएको हुँ ।’ प्राञ्जलको यो गजल २०६७ सालमा गीतको रुपमा रेकर्ड भइसकेको छ । ‘सिर्जना चोरी भएको पहिलो पटक होइन, यी त सामान्य कुरा जस्तै भएका छन्,’ उनले भने, ‘यसपालीचाहिँ प्रतिक्रिया जनाएको हुँ ।’

चर्चामा आएका प्राञ्जल पुराना साहित्यकार हुन् । उनले लामो समयदेखि नेपाली साहित्यमा संलग्न छन् । साहित्य सिर्जनालाई पातलो बनाएर अहिले उनी सरकारी जागिरेको रुपमा काम गरिरहेका छन् । कर्मचारी सञ्चय कोषमा उनी अधिकृत हुन् ।

‘सबै वेहोसी नशा पिएर बिना पिएरै बेहोस म
अरु निर्दोषी माया भुलेर बिना भुलेरै दोषी छु म’

चर्चित गायक भक्तराज आचार्यको स्वरमा रेकर्ड भएको यो गीत उनैको रचना हो । भन्छन्, ‘यो गीतले मलाई चिनाउनका लागि भूमिका खेल्यो, संगीतका विद्यार्थीले मेरो गीतमा अभ्यास गर्छन् ।’ केही गीतहरूले आफूलाई गीतकारका रुपमा चिनाएको उनको भनाइ छ ।

२०३८ सालतिर उनले मधुमास नामक त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन गरे । आफ्नै खर्च र सम्पादनमा प्रकाशन गर्न त्यो समयमा त्यति सहज थिएन । पत्रिका प्रकाशन गर्न पनि अञ्चलाधिश कार्यालयबाट पास गराउनु पथ्र्यो ।

सरकारी कार्यालयले पास गरेन भने पत्रिका प्रकाशन गर्न पाइन्नथ्यो । उनी भन्छन्, ‘पहिले साहित्य लेख्ने स्रष्टा कम हुन्थे । अहिले धेरै छन् । साहित्यको बजार फैलिएको छ ।’ तर त्यो पत्रिकाले लामो समयसम्म निरन्तरता पाउन नसकेको बताउँछन् प्राञ्जल ।

त्यो बेलाको चर्चित पत्रिका ‘रुपरेखा’मा आफ्नो कथा ‘टुक्रिएका सपनाहरू’ प्रकाशन भयो । सुरुमा आफू साहित्यका विविध विधामा कलम चलाउन खोजेको तर आफूलाई गजलकारका रुपमा चिनेपछि गजल र गीततर्फ नै आफू केन्द्रित रहेको उनी बताउँछन् ।

हिँड्दा हिँड्दै जिन्दगी नै थाकेजस्तो लाग्यो
बाटोभरि तुवाँलोले ढाकेजस्तो लाग्यो…

उनको यो गजल पनि चर्चित थियो । उनी भन्छन्, ‘गजल संगीतको एउटा विधा हो ।’ यो गजल समेत त्यतिबेला चोरी भएर विभिन्न माध्यममा आएको उनी बताउँछन् । कसैले अर्काको गजललाई मेरो भन्दैमा आफ्नो नहुने भएकाले आफ्ना सृजना चोरी हुँदा केही नबोलेको समेत प्राञ्जल बताउँछन् । ‘मैले कञ्चन शर्मा रेग्मीले आफ्नो गजल वाचन गर्दा पनि केही भन्नुपर्ने थिएन,’ उनी थप्छन्, ‘संसारभरि मेरो सृजनालाई अर्काको भन्ने भ्रम परेकाले मात्र मैले प्रतिक्रिया जनाएको हुँ ।’ अर्काको सृजनालाई आफ्नो भन्दैमा आफ्नो नहुने पनि उनको भनाइ छ ।

०४० को दशकमा गजलको पुनर्जागरणसँगै गजल लेखनको माहोल बन्यो । गजलहरू रेकर्ड हुन थाले । साहित्यको माहोल व्यापक बन्दै गयो । साहित्यको आफ्नै किसिमको मार्केट बन्दै गयो । अहिले भने नलेखिएका विषयमा पनि साहित्य लेखिन थालेको उनको बुझाइ छ । ‘तुलनात्मक रुपमा पहिलेभन्दा साहित्य बृहद त बन्यो, तर विकृति पनि फैलियो,’ उनी थप्छन्, ‘स्रष्टाले नयाँ प्रयोगका नाममा विकृति फैलाउन हुँदैन ।’

‘साहित्यमा कलम चलाउने सबै एउटै हुन् । साहित्यकारलाई मोफसल र राजधानीवासी साहित्यकार भन्नु राम्रो होइन,’ उनी भन्छन्, ‘बरु फरक भाषामा लेख्ने साहित्यकारलाई भाषिक रुपमा चिनाउनु राम्रो हो ।’

प्राञ्जल आफ्ना अग्रज साहित्यकार लक्ष्मीप्रसाद देवकोटा, भुपी शेरचन, हरिभक्त कटुवालबाट बढी प्रभावित भएको बताउँछन् । अंग्रेजी साहित्यबाट पनि आफू प्रभावित भएको बताउने प्राञ्जलले सृजना चोरी हुनुलाई कानुनी दायरामा ल्याउने हो भने यस्ता खालका घटना फेरि नघट्ने आशा व्यक्त गर्छन् । भन्छन्, ‘मेरा सृजनाहरू कतै न कतै सुरक्षित छन्, यी मेरा सम्पति हुन् ।’

मंसिर १६, २०७३ मा प्रकाशित

अर्घेलो थापा

अर्घेलो लोकान्तरका कला संवाददाता हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस