Ruslan
Tata /sipradi
Nic Asia

साहित्य

पुस्तक चर्चा : डुल्दै-फिर्दै कविता सुनौं

जय छाङ्छा (राई) नियात्रा साहित्यको फाँटमा परिचित नाम हो। त्यसो हुनाले दुर्गाप्रसाद श्रेष्ठले जयलाई ‘सिद्धहस्त नियात्राकार’ को पगरी गुताइदिएको सुहाएको छ। उहाँलाई ‘कूटनीतिक कवि’ को थप चिनारी प्रदान गर्दा श्रेष्ठले अमेरिकाको राजधानी शहर वाशिङ्गटन डि. सी. नजिकै भएर बग्ने पोटोम्याक नदीको प्रतिविम्बमा रचेको कविताको उल्लेख गर्नुभएको छ। तर नेपाल सरकार (उतिखेर श्री ५ को सरकार) को परराष्ट्र सेवामा रहँदा जयले अमेरिकाको साथै जर्मनी, भारत र कतारलाई पनि आफ्नो मुकाम बनाउनु भएको हो। अन्य केही देश पनि सरकारी कामकाजको सिलसिलामा देख्नुभएको हुनुपर्छ। मुख्य कुरो,देखेका–जानेका कुराहरू यात्रा-संस्मरणको रूपमा नेपाली पाठकछेउ पु-याउने जयको प्रशंसनीय बानी छ।

कृति : यात्रामा कविता / यात्रा में कविता 
प्रकाशक : सारांश नेपाल 
संस्करण: पहिलो; २०७३ साल भदौ 
पृष्ठ: २२५ +
मूल्य : रु २५०/-

जयले आफ्नो नवीनतम् कृति ९६-वर्षीय पिता काजीमान राईप्रति समर्पण गर्नुभएको छ। विवेच्य पुस्तक नेपाली-हिन्दी कविता संग्रह हो जसमा पहिले नेपालीमा लेखिएका पद्य रचनालाई हिन्दीमा अनुवाद गरी सिलसिलेवार ढङ्गले तीन खण्डमा राखिएको छ : सम्झनामा भारत, मरूभूमिको मोती र आफैंसंग वार्तालाप। हरेक खण्डमा कविका रसीला, झरीला अभिव्यक्तिको स्वाद चाख्न पाइन्छ। हिन्दी पाठकलाई नेपाली कविताको रस-स्वादन गराउने लक्ष लिई छापिएको यस पुस्तकमा भारतसित गाँसिएका कविताकै अधिकता छ-३० वटाको संख्यामा। १५ वटा पद्य रचना चाहिँ मरूभूमिकै परिवेशमा उभिएर पढ्दा त्यसको यथार्थ अनुभूति हुने रहेछ।img_2954

जय छाङ्छाले कविताको माध्यमबाट पाठकलाई आफू संगसंगै आफू पुगेका ठाउँमा लैजाने रोचक तरिका अपनाउनु भएको छ। त्यसैले उहाँको यो विधि र प्रस्तुति तारिफयोग्य भएको हो। अर्को कुरा, जहाँ पुगेपनि जताको वर्णन गर्दा पनि जयले आफ्नो मातृभूमिका मिल्दाजुल्दा स्थल एवं स्मारकहरूको सम्झना र चर्चा गरेको पाइन्छ। राष्ट्रियता र नेपालीपनको जलप लगाएकै हुन्छ।

जयका काव्य-यात्रा कति सुन्दर र अर्थपूर्ण छन् त्यसको पुष्टिमा यस हरफको लेखक केही उद्धरण अघिसार्दै छु। यसमा नियात्राकार जयलाई कविको रूपमा चिन्न कत्तिपनि बेर नलागोस् भन्ने मनसाय छ। जसरी कसौंडीभरिको भात पाके-नपाकेको जानकारी भाँडोको मुखका एक-दुई सिता मिचेर पाइन्छ त्यसैगरी जय छाङछाको साहित्यिक रुचि र कुशलता दुबैको अनुमान तल दिइएका पङ्तिले छर्लङ्ग पार्नेछन् ।

१. इन्डिया गेट
…इन्डिया गेट तिमीसँग जम्काभेट हुँदा
शहीद गेटलाई सम्झिएँ झल्झली
हो साँच्चै न्यानोन्यानो अनुभूति गरें मैले।

२. वाराणसीका गल्लीहरू
…पेटीपेटी भएर हिंडिरहेजस्तो
अनि भोटाहिटी,असन हुँदै इन्द्रचोकतर्फ बढिरहेजस्तो
एक तमासको अनौठो लागिरह्यो मलाई।

३. दोहाको ट्याक्सी

 …मैले चढेको दोहाको ट्याक्सी त एकदम लोसे रहेछ
यस्तो पाराले कहिले र कसरी पुगुँला म
आफूले सोचेको गन्तव्यमा।

-ध्रुवहरि अधिकारी 

बिहिवार, मंसिर १६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam