ambe

साहित्य

रत्नपार्क टु नैकाप

ईश्वर अर्याल

सिभिल मल नजिकैबाट चढ्ने बेलामा मैले चिहाएर भित्र हेर्न खोजें । सबैका खुट्टा एकआपसमा जेलिएका थिए । मान्छेहरूको भीड अत्यासलाग्दो थियो, ढोका नजिकैको सिटमा एउटा सानो बच्चा बेपरवाह रोइरहेको थियो । उसको आमाले पछ्यौरीले छोपेर उसलाई स्तनपान गराइरहेकी थिइन्, आफ्नो निधारभरि पसिना लिएर ।
ishwar-aryal
‘चढ्नुस्,’ खलासीले भन्यो । मैले उसको ढाडमा दाहिने हातको हत्केलाले हल्का धकेलें । म पनि ढोकाको ह्यान्डल समातेर एक खुड्किलो चढें । ‘भित्र अलि पछाडि जानुस्, ट्राफिकले कराउँछ,’ खलासीको यो भनाई र गाडीभित्रको भीडको अन्तर्विरोध मेरो दिमागमा नराम्रोसँग बल्झियो । दिमाग झनक्क भो, चिटचिट पसिना आउन शुरू भइहाल्यो । अटेसमटेस भीड छिचोल्दा कति यात्रुहरू हैरान बने ।
नचाहेरै कतिलाई स्पर्श गरियो, कतिलाई पछाडिबाट धकेलियो । बदलामा कसैबाट कृत्रिम मुस्कान त कतिपयबाट खुम्चिएको निधार पाएँ । ढोकाबाट तीन–चार सिट छोडेर दाँयापट्टी टक्क सिटमा आडेस लगाएर अडिएँ । उ पनि बल्लबल्ल आडमा आई ।
कलंकीमा ट्राफिकले सिटी फुकिहाल्यो । खलासीले ढोकामा उभिएकालाई धक्का दिएर ढोका ढ्याम्म पा—यो । अनि करीब ४५ जना यात्रुको अझ बढी दुर्दशा शुरू भयो । ड्राइभरले चिट नकाट्न अनुरोध गरिरहेको थियो, ट्राफिकले चिट काट्न खोज्दै थियो । दिउँसो चार बजेको गर्मी, बाहिरको धूलोबाट बच्न भनेर नखोलिएका झ्यालहरूले गाडीलाई करीब १५ मिनेटसम्म बेकिङ मशिन बनाइदियो । फरक–फरक ‘फ्लेबर’का पसिनाका बास्नाहरू स्वाट्ट नाकभित्र प्रवेश गर्दथे । यात्रुहरूका कर्कश आवाजहरू घरी मधुरो हुन्थे, घरी चर्को । दुई सय रुपयाँको चिट लिएर ड्राइभरले गाडी हुँइक्यायो । एक मिनेटमै फेरि घ्याच्च रोक्यो, अगाडि गाडीहरूको लामो लस्कर थियो । ड्राइभर भने ट्राफिकलाई अझै गाली गर्दै थियो ।
केही दिन अघिमात्र चिनजान भएकी रिचा यस्तै गाडीमा भेटिएकी थिई । बागबजारमा जापानी भाषाको क्लास पढ्छे, उसलाई जापान जाने ठूलो रहर छ । आज चौथो दिन हामी सँगै एउटै गाडीमा आएका छौं । उसको भाषाको क्लास सकिँदा मेरो अफिस पनि सकिन्छ । रत्नपार्कमा थानकोट जाने बस वीर हस्पिटलको अगाडिबाट छिर्दा नछिर्दा कुरिरहेका केही यात्रुहरू ढोकाको ह्यान्डल समातेर बससँगै दगुर्छन् । कति असुरक्षित छ आजकलको यात्रा । मानौं बस एउटा भर्खरै उत्पन्न भएको डिम्ब हो र यात्रुहरू शुक्रकीट हुन् ।
जब बस स्ट्यान्डमै गएर घ्याच्च रोकिन्छ, वरिपरिका मान्छेहरू झनै सोहोरिएर आउँछन् । मुश्किलले १५ सिट भएको बस एकैछिनमा निषेचित हुन्छ । त्रिपुरेश्वर पुग्दा–नपुग्दा बसभित्र ५० जना जति भरिइसकेका हुन्छन् । एउटा विस्फोट हुन नसकेको बम बन्छ बस । हरेक मान्छे त्यो भीड देखेर रिसले चुर हुन्छन् तर सम्हालिन्छन् । महिलाहरू अपरिचित र अञ्जानहरुले गरेको खस्रो स्पर्शलाई महादेवले कालकूट विष निलेजस्तै अन्तरात्मामा निलिदिन्छन् । उनीहरूसँग त्यतिबेला गुनासो गर्ने र सुनिदिने कोही हुँदैनन् । यात्रा गर्नु नै छ, हरेक बाध्यताहरू पचाएरै जानुपर्छ ।
‘ड्याडीले स्कुटी किनिदिन्छु भन्नुभाको छ,’ उसले मसिनो गरेर बोलेको स्वरलाई पुनः ‘हँ’ भनेर दोहो—याउन लगाएँ । सोल्टीमोडमा हामी अडेस लगाएको सिटको एउटा मान्छे झ—यो, ऊ बसी । म उसको टाउको पछाडि सिटमा एउटा हात राखें, रंगले खैराएको उनको कपाल हावाको बहावसँगै मेरो हातमा आइपुग्यो । मलाई पनि उनीसँगै बस्न मन थियो तर अर्को भुसतिघ्रे झ्यालमा टाउको अडेस लगाएर उसलाई घुर्नै आँटेको थियो ।
त्यत्तिकैमा गाडीभित्रको भीड फेरि एकपटक सोहोरियो, ‘दाजु, अलि पछि गइदिनुप—यो,’ खलाँसीको यो चिच्याईलाई केही समय नजर–अन्दाज गरेपनि पछि नगई सुख पाइएन । उसको केशको स्पर्श छुट्यो, म उभिएको ठाउँ एउटा बीस र बाईस वर्षको केटाले ओगट्यो, ड्याम्म रिचाको सिटमा अडेस लागेर उसले मोबाइलमा केही टाइप गर्न शुरु ग—यो । ‘स्ट्याटस होला’ सोच्दै म ‘लास्ट’नेर पुगें । रिचाले एकपटक पछि फर्किएर मलाई मुस्कान छोडी ।
बस कलंकी आएर ट्राफिकको फन्दामा पर्ने बेलासम्म मैले पछाडिबाट रिचालाई नै हेरिरहें । नैकाप आइपुग्ने बेलामा म बत्तिदैं उसको नजिक आएँ, म अघि–अघि, उसको हात समातेर तान्दै थिएँ । ‘उफ्फ, झर्न पनि कति गाह्रो ?’ मैले समाएको हात छुटाएर उसले ‘बाई’ भनी । मैले पनि हात हल्लाएँ, धुलो र धुँवाको बीचमा ऊ एकैछिनमा ओझेल भई ।
………………………..
स्कुटी नयाँ थियो, डिओ कम्पनीको । म्यासेन्जर बजेपछि खोलेर हेर्दा उसले टन्नै फोटोहरू पठाएकी थिई आफ्नो स्कुटीको । बदलामा मैले बधाई दिएँ । ‘धन्न लाइसेन्स पहिल्यैदेखि बनाएकी थिएँ, सानिमाको स्कुटी सिकेर ।’ उसको यो म्यासेजलाई मैले चश्मा भएको ‘इमोजी’ पठाएर टारिदिएँ । शनिवारको बेलुका थियो, दुई पेग लगाएर ल्यापटपमा अफिसको अडिट हेर्दै थिएँ । ‘यसपाली एउटा आई–१० कार जसरी पनि लिन्छु ।’ उसको स्कुटी देखेर मलाई डाहा ‘फिल’ भयो ।
‘हजुरलाई चलाउन आउँछ ?’
‘आउँदैन, तिमीले चलाएपछि मैले किन जानिरहनुप—यो ?’
आज शायद उसले मबाट अलि बढी नै ‘एटेन्सन’ खोजिरहेकी थिई । मेरो मूड भने बिलकुलै ‘अफ्’ थियो ।
‘म भोलि बिहान तपाईंको घरमै लिन आउँछु है ?’ उसले यसो भन्दा मलाई गिज्याएजस्तो लाग्यो ।
‘हजुर बिजी हो ? बाई त्यसो भए !’ उ अफलाइन भई ।
………………………………………
उसमा आज गज्जबको आत्मविश्वास देखें । उसको बडी ल्याङ्ग्वेज अर्कै थियो । कफी सक्नेबेलामा मलाई डेरो आँखाले हेर्दै भनी, ‘मैले हजुरलाई चढाउन सक्छु होला, सँगै जाने है !’ म तयार भएर निस्किएँ । मलाई पछि राखेर उसले स्कुटी हुत्त्याई, ‘अलि सुस्त, अलि सुस्त’ भनें । मलाई डर लागिरहेको थियो, धादिङबाट रोडा बोकेर आएको टिपर देख्दा मेरो अझ बढी सातो जान्थ्यो ।
कलंकी आएपछि मैले पछाडिबाट चिच्याएर भनें, ‘यु आर नाउ अ पर्फेक्ट राइडर ।’ उसले ‘हँ हँ’ भनिरही । अफिस आइपुगेपछि उसले हेल्मेट खोल्दै आँखा झिम्क्याउँदै, निधार माथितिर सारेर भनी, ‘कस्तो लाग्यो मैले चलाको ? मजा आयो है ।’
मैले दिनभर उसको बारेमा मात्र सोचिरहें ।
……………………………………….
के उसले मलाई माया गर्छे ? म अनुत्तरित रहें । तर मलाई भने उसले नजानिँदो तरिकाले आकर्षण गरिरहेकी थिई । भनुँ भने मेरो जिन्दगीलाई एकपटक पुनः जीवनदान दिने प्रयास मैले उसलाई भेटेपछि सार्थक होला जस्तो लागेको थियो । मैले अनुको अनुहार सम्झें, रिचा काटीकुटी अनुजस्तै लाग्न थाल्यो । उसको चुच्चो नाक, घुम्रिएको कपाल, लाजका सीमाहरूको बन्धनमा रहेको त्यो पुष्ट वक्षस्थल, कलिला हातका औंलाहरू र घरीघरी झर्किने स्वाभाव बिलकुल अनुको जस्तै थियो । ल्यापटपमा मैले दुईवटैको फोटो लिएर दाँज्न खोजें । उ अनु थिइन्, तर कताकता अनुको पुनर्जन्म जस्तो मान्न थालें । दिन बितेको पत्तो भएन, काम उत्तिकै बाँकी थियो ।
‘के प्रस्ताव राख्नु उचित होला ?’ एउटा चुरोट सल्काएँ, धुँवासँगै अनुको याद पनि भित्र छि—यो, मन चसक्क भयो अनि घाँटी खसखसायो । ‘एउटा कुरा भन्नुछ, बेलुका भन्छु है ।’ टाइप गरें । म्यासेज ‘सीन’ भएन । एक्टिभ नै देखाको छ, तर उसले हेरिन । एकछिनपछि उसले कल गरी । ‘म सुन्धारातिर निस्किन लाको, चार बजे लिन आउँछु है ।’ ‘हस्’, मैले भनें । उ हतारमा थिई ।
मैले कुर्न सकिन, उसलाई म्यासेजमै प्रपोज गर्नुप—यो भनेर फेरि अर्कोपटक टाइप गरें, ‘मलाई तिमी मन पर्छ ।’ म्यासेज ‘सीन’ भएन । ‘यदि तिमिले मलाई आफ्नो मनमा सजाएर जिन्दगी सँगै बाँच्ने मौका दियौ भने म संसारका सारा खुशी तिम्रो अगाडि ल्याएर छरपस्ट पारिदिनेछु, रिचा ।’ तीनचारवटा मायाको इमोजीसँगै यति लेखेर पठाएँ । मन ढुकढुक भइरह्यो ।
चार बज्यो तर ऊ लिन आइन । फोन गरें, काटियो । मैले हतार–हतार उसलाई पठाएको म्यासेज हेरें, अझै सीन भएको थिएन । नयाँ नम्बरबाट फोन आयो, हरियो बटनलाई दाहिनेतिर तानेर हेल्लो भनें । ‘रिचाको लास्ट कल तपाईंसँग भएको रहेछ । उनी दुर्घटनामा परेकी छिन्, टिचिङमा ल्याएका छौं हामीले । म इन्स्पेक्टर बोल्दैछु ।’ मेरो होशले ठाउँ छोड्यो । ‘कहाँ, कसरी’ भनेर सोध्नै लाग्दा फोन टुङटुङ मात्र ग—यो, म हुत्तिएर अफिसको गाडीमा टिचिङ लागें ।
अन्तिम धुकधुकी बाँकी थियो, मनिटरमा देखिएका ग्राफहरू बीचको एउटा लाइन अझै तलमाथि गरिरहेको थियो । मलाई डाक्टरले बाहिर जाने इशारा गरे । निस्कने बेलामा उसको मुखमा हेरें, अचेत थिई ऊ । मुहारको कान्ति उडेको थियो । टाउको रगतले लतपत थियो । लामो सास फेरेर बाहिर निस्किएँ । ‘केस क्रिटिकल छ, तर पनि वि विल ट्राई आवर बेस्ट ।’ मास्क खोल्दै बाहिर निस्केको एउटा डाक्टरले यति सुनाएर अलप भयो । मेरो दुईवटै हातले पुर्पुरो छोडेका थिएनन् ।
उसको ड्याडी आएपछि म हस्पिटलबाट निस्किएँ । अघि देखेको डाक्टरलाई कहीँ न कहीँ पहिला पनि देखेको जस्तो लाग्यो । अफिस पुगेर सम्झिने प्रयास गरें, आठ बजिसकेको थियो । त्यो डाक्टरले अनुलाई पनि त्यही भनेको थियो । बिहे गरेर तीन महिना पनि बित्न नपाउँदै धादिङबाट रोडा बोकेर आएको टिपरले कलंकी नपुग्दै ओरालोमा स्कुटीलाई कच्याककुचुक र अनुलाई रगताम्मे बनाइदिएको थियो ।
अलि पर उछिट्टिएको म चाहिँ नियति सम्झेर टाउको ठोकिरहेको थिएँ । वास्तवमा म अनुको हत्यारा थिएँ । टाउकाको सर्जरी गर्नुभन्दा पहिले अनुले अर्धबेहोशीमा स्कुटर कहिल्यै नचलाउनु है भनेर कसम खुवाएको मलाई हिजै हो जस्तो लाग्यो । सर्जरीपछि ऊ कहिल्यै फर्केर आइन तर यादहरूलाई छुरी बनाएर पठाइरही । त्यसले पलपल मेरो मुटुलाई छियाछिया बनाइरह्यो । मैले आँखा पिलपिल गर्दै फेरि एकपटक रिचालाई पठाएको म्यासेज हेरें, म्यासेज अझै सीन भएको थिएन । भोलिपल्ट हस्पिटल पुग्दा इमर्जेन्सी वार्डनेर रुवावासी चलिरहेको थियो ।
बिहिवार, मंसिर १६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam