साहित्य

हाँस्नै नपाउनु ? (कविता)

जब तपाईं सफाइपूर्वक वधशालामा
तीन दिनसम्म भोकै राखी
हेमोग्लोबिन मासुमा मिलाएर स्वादिलो पारी
चौथो दिनमा जिउँदै उभिन्डो झुण्ड्याएर
भकभक उम्लिँदो तातोपानी खन्याएर छाला उतारी
अब काटकुट पारी बगरेद्वारा
प्लास्टिकमा बडो कलात्मक र यत्नपूर्वक प्याकिङ गरिएको
तपाईंलाई समेत कुनै दिन आमासमान दूध खुवाएको
गाईको मासुलाई चट्ट फ्रिजमा राख्नुहुन्छ
अनि टिलिक्क टाई, कोट लगाएर प्लेन चढी
देश विदेशमा पशु अधिकारका प्रवचनका लागि हिँड्नुहुन्छ
मलाई तपाईंलाई देख्दै खितिति हाँसो छुट्छ
हैन के हाँस्नै पनि नपाउनु ?


हीन कर्मबाट दूर भएको भनिएको तपाईं
वानप्रस्थको उमेरमा पनि आफू उच्च थरवाला भएकोले
आफ्नै हातले चोखो पारेर परेवालाई काटी
अझै त स्वयंपाके नै खाँदैछु नानी भन्नुहुन्छ
तर तपाईंजस्तै मासु ,छाला र हाड भएको
अर्काे सानो थरवाला मानिसले सफा हातले निरामिष खाना दिए पनि
देउता रिसाउँछ हैट अगति परियो भन्दै पर सर्नुहुन्छ
मलाई बेहोश हुने गरी एक्लै हाँसो छुट्छ
हैन के हाँस्न पनि नपाउनु ?


पच्चीस सय वर्षअघिको त्यो सानो तेजस्वी केटो
जब एउटा सामान्य पञ्छीको रक्षाको लागि कसरी लड्थ्यो ?
अहो ! सम्झँदा पनि रोमाञ्च हुन्छ
क्षत्रीय कानूनको वकालत गर्ने बडे बडे एकातिर
तीव्र मस्तिष्कवाला तर्कशील अजेय केटो अर्कातिर
राजकुमार भएर हैन अकाट्य तर्कैले गलायो र भन्यो
महाशय ! मार्नेभन्दा कहाँ हो कहाँ बढी अधिकार बचाउनेको हुन्छ
ओहो ! त्यो भीषण बुद्धिमान् सानो केटो
जसलाई सम्झेर २६ सय वर्षपछि पनि
रोमाञ्चित हर्षाश्रू बग्छ र बारम्बार प्रणाम गर्न मन हुन्छ
अँ त हो त्यही केटोको अनुयायी हुँ भन्दै
गोरु काट्न दिँदैनस् तँ भन्दै तपाईं बाझ्नुहुन्छ
म बाझ्न नसक्ने बबुरो प्राणी
कमसेकम लाफ्टर थेरापीले शान्त हुन त पाऊँ
हैन के हाँस्नै पनि नपाउनु ?


ढुङ्गामा दश रुपियाँको दूध चढायो मूर्खले भन्दै
जब तपाईं त्यही बालअधिकारको झ्वाँकमा
एक हजारको ह्विस्की स्वाट्ट चढाउनुहुन्छ रगतमा
तपाईंको कन्सन्ट्रेटेड अल्कोहलयुक्त रगतले
डाइल्युसनका लागि खाली पोखिनु र अरूको पनि पोखाउनुमात्र देख्छ
कहिल्यै पुग्दैन तपाईंलाई मात्रै
जबकि जसका लागि लडिदिएँ भन्ने झुपडीको
विना काटमार नै उहिल्यै सेचुरेटेड शान्त छ
तपाईं बहुविवाह गर्नेको धज्जी उडाएर
आफैं चाहिँ अनेक जवानीमा पोखिनुहुन्छ
जब थाहा पाउँछु एउटा अन्धविश्वासको विरोध गर्दै
भैंसी झैं हिलोमा डुबुल्की मार्दै
अर्काे अन्धविश्वासमा गई चोखिनुहुन्छ
त्यही हिलोको गन्धमा मलाई नाइट्रस अक्साइड मिलेपछि
हैन के मैले हाँस्न पनि नपाउनु ?


जब तपाईं अतिथिदेवो भवः मेटाएर
कुकुरदेखि सावधान लेख्नुहुन्छ
फलामे गेटको भव्य सुरक्षाभित्र
विदेशी महङ्गा कुकुरकै सुरक्षा रोज्नुहुन्छ
फोटोको गौमाताको जय त भन्नुहुन्छ
तर साक्षात् गाईकै सेवक भने गोबर गनायो भनी हतारहतार अत्तर छर्नुहुन्छ
सामूहिक गौशाला र गौपर्यटन
सोच्न बडे मान्छे कहाँ भ्याउनुहुन्छ ?
त्यही धेरै विदेशी कुकुरका पालक हजुर
जब भागवत कथामा गोपालको जय चिच्याउँदै उफ्रँदै गर्दा
खित्का छुट्छ, हाँसो फुत्किहाल्छ
हैन के हाँस्न पनि नपाउनु ?


बर्बरिकको टाउकोले द्रौपदीलाई युद्धभूमिमा
रगत पिउँदै वीभत्स देखे झैं
जब म तपाईंलाई पहिचान्छु
आफ्ना तरुनीहरूलाई कोठा कोठामा
रक्सी र मासुको व्यवस्था मिलाउन
विश्वका देश देश हतारिँदै
राइफल र को नि के के लिएर
खुनी पञ्जाहरूको खुनी आतंकमा
जब देख्छु गितारका तार झैं करङवाला कुपोषित नदेखेर
खरबौं खर्चेर एलियनसँगको सम्भावित मित्रतामा
तपाईं त मानवअधिकारको अभियन्ता रे हउ भन्ने सुनेपछि
तपाईंलाई म चाहिँ बटारिँदै गरेका च्याप्लिन झैं देख्नपुग्छु
आखिर के र नजर फरक हुनै नपाउनु ?
हैन के हाँस्नै नपाउनु ???

खड्ग प्रसाद दुलाल (राजुु) 
शिक्षक,
श्री त्रिभुवन मावि, गोहिगाडा, मोरङ असार २, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार