Ruslan
Tata /sipradi
Sarbottam Cement

साहित्य

समाजलाई ऐना देखाउने 'भोको घर'

अर्घेलो थापा

तीसको दशकमा लेखिएका साहित्यले अझै पनि हाम्रो समाजका कथा जस्ताको त्यस्तै बोल्छन् । राजनीतिक हिसाबमा एउटा युग धेरै अगाडि बढेको भएपनि हाम्रा समाजका समस्या भने ज्युँका त्युँ छन् ।

समाजको सूक्ष्म चित्रण गर्न नेपाली साहित्य अग्रसर छ । देशको निराशाजनक शासन व्यवस्थाले गरीबलाई एक छाक खान पनि खान धौधौ परेको कथालाई प्रस्तुत गरिएको गोविन्दबहादुर मल्ल ‘गोठाले’को नाटकलाई युवा नाटककार तथा निर्देशक केदार श्रेष्ठले कलात्मक रूपमा प्रस्तुत गरेका छन् ।

नरबहादुर (आकाश मगर) र मन्दिरा (शान्ति गिरी) को गन्थनबाट शुरु हुने नाटकको कथाले भोको पेटको आर्तनाद सुनाउँछ । विविध कारणले जागिर खोसिएपछि नरबहादुरलाई आफ्नो परिवारको पेट पाल्न पनि गाह्रो हुन्छ । आफ्ना छोराछोरी र श्रीमतीको भोको पेट तत्काल पूरा गरिदिन नसकेपनि ऊ पैसा कमाउने योजना बनाइरहेको हुन्छ ।

उसकी श्रीमती मन्दिराले भने मीठामीठा खानेकुराको कल्पना गरिरहन्छिन् । भोजमा खाएका खानेकुरा, मासुको झोल अनि कबाबको कुरा गरिरहने मन्दिराले मीठो खान नपाएको भने धेरै भइसकेको छ । छोरो राजेन्द्र (सुदाम सिके) र छोरी सरिता (सञ्जिता सञ्जी) भोको पेटको समस्या बिम्बात्मक रूपमा प्रस्तुत गरिरहन्छन् ।

नरबहादुरलाई मुख्य चिन्ता आफ्नो भोको पेटको हुन्छ । सबै परिवार बुवाको कमाइमा भर परेकाले उसको जागिर खोसिएपछि परिवारमा आएका स–साना समस्याका वरिपरि नाटक घुमिरहन्छ ।

लगभग एक घण्टा लामो नाटकमा परिवारको पीडालाई यति सुन्दर तरिकाले उतारिएको छ कि, दर्शकलाई समय बितेको पत्तै हुँदैन । कलाकारले आफ्नो चारित्रिक अभिनयलाई कतै पनि चुक्न दिएका छैनन् ।

भोकले रन्थनिएर आफूलाई दन्त्यकथाकी राजकुमारी बताउने सरिताले एक कल्पनाशील लोकमा आफूलाई पु—याउँछे । पात्रको माध्यमबाट दर्शकसमेत दन्त्यकथामा सामेल हुन्छन् । दन्त्यकथाको प्रतिबिम्ब हाम्रो समाजमा भेटिन्छ ।

घरको समस्यामा रुमल्लिएर क्याम्पस जान छाडेको छोरो राजेन्द्र बुवाको पैसा कमाउने योजना, बहिनीको दन्त्यकथा र आमाको मीठामीठा खानेकुराको तारिफ सुन्न दिक्क मान्दैन । आफूलाई समाजवादको पक्षधर बताउने राजेन्द्र भने भोकलाई भुलेकै जाती भन्ने धारणा राख्छ ।

गरीब परिवारको कथालाई मनोवैज्ञानिक रूपमा प्रस्तुत गरिएको नाटक ‘भोको घर’मा समाजको यथार्थतालाई सहज तवरले उठान गरिएको छ । परिवारमा परेको समस्याले नरबहादुरलाई असहज बनाएपनि उसले आफ्ना परिवारलाई पैसा कमाउने योजना सुनाएर आश्वासन दिइरहन्छ । कथानक समाजको वास्तविकताको वरिपरि घुम्छ ।

अभिनयका दृष्टिकोणले नाटक अब्बल बनेको छ । कलाकारले पात्रको भूमिकालाई न्याय दिलाएका छन् । शान्ति गिरीको अभिनय र चोटिलो संवादले दर्शकलाई तारन्तार हँसाउँछ । सञ्जिताले आफूलाई दन्त्यकथाकी राजकुमारी भनिरहँदा उनले गर्ने हाउभाउ सराहनीय छ ।

आकाश मगरले आफ्नो भूमिकालाई भरपूर न्याय गरेका छन् । कम बोल्ने स्वभावको भूमिकामा देखिएका कलाकार सुदाम सिकेले पनि आफूलाई पात्रमा गहन रूपमा ढालेका छन् ।

समाजको गरीबी र सम्भ्रान्त वर्गको दमनलाई सञ्जिता सञ्जीले दन्त्यकथामार्फत सुनाइरहन्छिन् । उनको कथाको दृष्यचित्र भने हामीले हाम्रो समाजमा पाइरहन्छौं । कथाको अर्को महत्वपूर्ण पक्ष यो पनि हो ।

देशमा गणतन्त्र आएपनि समाज परिवर्तन हुन नसकेको सत्यतालाई सुदाम सिकेले समाजवादको नारामार्फत उठान गरिरहन्छन् । देशको राजनैतिक अस्थिरताप्रति पनि नाटकमार्फत विद्रोह गरिएको छ ।

नाटक एउटै दृश्यमा सकिएको छ । यसर्थ हामीले यो नाटकलाई एकाङ्की भन्न सक्छौं । नाटकको मर्मअनुसार दुई वा दुईभन्दा बढी दृश्य हुनु नाटक हो भने एक दृश्यमै सकिनुलाई हामीले एकाङ्की भन्छौं ।

नाटकको शुरुका केही मिनेट अलिक झुर लागेपनि कथा अगाडि बढ्ने क्रममा कलाकारको बेजोड अभिनयले दर्शकलाई एकछिन पनि दिक्क बनाउँदैन । नाटकमा प्रयोग भएका संवाद चोटिला छन् । निर्देशक केदार श्रेष्ठले उत्कृष्ट निर्देशन गरेका छन् ।

कथामा आन्तरिक द्वन्द्व मात्र छैन । सम्भ्रान्त वर्गले गरीब वर्गलाई गरेको दमनलाई टंकमान (अभय बराल) का माध्यमबाट प्रस्तुत गरिएको छ । नरबहादुरले भोको पेट भर्न वर्षौंदेखि बनाएको योजनालाई टंकमानले एकैछिनमा असफल बनाइदिएका छन् ।

समग्रमा नाटक ‘भोको घर’ उत्कृष्ट छ । पात्रले आफ्नो भूमिकालाई गहन रूपमा प्रस्तुत गरेका छन् । नाटकको मञ्च व्यवस्थापन, ध्वनिको संयोजनलाई पनि कुशलताका साथ प्रस्तुत गरिएको छ । विषयवस्तुका हिसाबले समकालीन नाटकभन्दा धेरै पर जान नसकेतापनि नाटक सुन्दर लाग्छ ।

काठमाडौंको सुन्धारास्थित थिएटर मलमा बुधबारबाहेक हरेक दिन साँझ ५ बजेदेखि चल्ने नाटक ‘भोको घर’ शनिवार दिउँसो १ः३० मा पनि हेर्न सकिनेछ ।

(तस्वीरहरू: केदार श्रेष्ठको ट्वीटरबाट)
आइतवार, पौष ३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell
Sarbottam Cement