सन्ध्या जोशी : कलेज टप गरिन् तर ‘नेपाल आइडल’ मा चुकिन्

साउन १९, २०७४
लगभग छ महिना अघिसम्म सन्ध्या जोशीलाई कमैले चिन्थे । कैलालीको धनगढीतिरका केही संगीतप्रेमी र युट्युबमा केही कभर गीत गाएका आधारमा उनका सीमित दर्शकले चिनेपनि सन्ध्या लगभग गुपचुप जस्तै थिइन् ।

सामाजिक सञ्जाल फेसबुकमा समेत उनका थोरै साथी थिए । तर, नेपाल आइडलको पहिलो अडिसनपछि भने उनको प्रस्तुतिले एकाएक हाइप पायो । काठमाडौंमा अडिसन दिएका हजारौं प्रतिस्पर्धीले जस्तै उनले पनि आफ्नै रोजीको गीत सुनाइन् – ‘लैजा चरी...’

यही गीतको कभरले सन्ध्यालाई युट्युबका दर्शकमाझ धेरथोर चिनारी दिइसकेको थियो । योगेश्वर अमात्यले स्वर दिएको यो गीतमा उनले जस्तै धेरै संगीतप्रेमीले कभर गीत गाइसकेका छन् ।

सन्ध्याले नेपाल आइडलमा गाएको त्यही गीतले जजहरुको मन जितिन् । जजले अर्को चरणका लागि पास दिए । लगत्तै शुरु भयो सन्ध्याको ‘नेपाल आइडल’ यात्रा ।

आफ्नो पहिलो प्रस्तुतिले नै केही प्रशंसक कमाइसकेकी सन्ध्याको अडिसन प्रस्तुति सुनेर नै सामाजिक सञ्जाल फेसबुकमा उनलाई हजारौंले पछ्याए । ‘आइडलमा भाग लिएपछिको पहिलो प्रस्तुतिले नै फेसबुकमा फ्यान पेज नै बनाउनु पर्‍यो, सन्ध्या भन्छिन्, ‘धेरैले मेरो त्यही गीत रुचाइदिनुभएको रहेछ ।’

अडिसन राउण्ड हुँदै प्रतिस्पर्धाको ‘टप अठार’ सम्म आइपुग्दा सन्ध्यालाई नेपाल तथा विदेशमा रहँदै आएका नेपालीले समेत भोट हाल्न थालिसकेका थिए । सुदुरपश्चिमका उनका प्रशंसकले पनि सन्ध्यालाई सपोर्ट गरिरहेका थिए । तर, सन्ध्या मात्र आइडलकी प्रतिस्पपर्धी थिइनन् । उनीसँगै थिए अरु सत्र प्रतिस्पर्धी । र, सबैको प्रस्तुति बेजोडको थियो ।

तर, उनी नेपाल आइडलको ‘टप आठ’ भित्र अट्न सकिनन् ।

दर्शकको भोट कम आउनुको कारण आफ्नो प्रस्तुति नै हो भन्ने त उनलाई लाग्छ नै ।

बजारमा नेपाल आइडलका विषयमा निकै टिका टिप्पणीलाई उनले स्वीकार गरिनन् । नेपाल आइडलमा भोटिङ सिस्टममा गडबड हुने गरेको भन्दै आलोचना भए पनि सन्ध्याले भने त्यसलाई नकारिन् । भन्छिन्,‘नेपाल आइडल त्यस्तो प्लाटफर्म हो जहाँ निष्पक्ष रुपमा निर्णय हुने गरेको छ ।’

बेलैमा संगीत नसिक्नु पनि राम्रो गर्न नसक्नुको कारण हो कि भन्ने लाग्छ सन्ध्यालाई । ‘संगीतप्रतिको रुचि त नशा नशामा बगेको थियो तर मैले संगीत सिक्ने समय नै मिलाउन सकिन,’ आफू नेपाल आइडलबाट बाहिरिनुको सम्भावित कमजोरी सुनाउँदै उनी थप्छिन्, ‘मेरा लागि त अडिसन राउण्ड कटाउनु पनि ठूलो कुरा थियो ।’ यतिखेर उनी फेरि मुस्कुराइन् ।

औपचारिक संगीतको ज्ञान नभए पनि निरन्तरको अभ्यासले भने सन्ध्याको स्वरमा निखारता थपिदिएको थियो । आमा शान्ति जोशीको साहित्यमा रुचि । आमाले छोरीले गरेको प्रगतिको सधै तारिफ गरिरहने । सन्ध्यालाई भने साहित्य लेख्न सक्छु भन्ने कहिल्यै लागेन । बरु गीत गाउन र लेख्न सक्छु भन्ने सधै लागिरह्यो ।

परिवार र साथीहरुको तारिफले पनि उनी गीत गाउन भनेपछि हुरुक्कै हुन्थिन् । फुर्सद भयो कि, युट्युब हेरेर गीत गाउँथिन् । सिक्थिन् । नेपाली र अंग्रेजी दुवै गीत सुन्थिन् ।

गीत सुन्ने मात्र कहाँ हो र? विभिन्न गीतका कभर गीत गाएर उनले युट्युबमा अपलोड गर्थिन् । चिनेका साथीले मात्र होइन, अन्जान साथीले पनि गीत राम्रो गाएको भन्दै प्रतिक्रिया दिन्थे । उनलाई यस्तै स–साना कुराले खुशी बनाइरहन्थ्यो ।

‘युट्युब हेरेरै गितार सिकें, मलाई चर्चित गीतभन्दा चर्चित नभएका गीत मन पथ्र्यो तर दर्शकले चर्चित गीतका कभर रुचाइदिनुहुन्थ्यो ।’ उनी आफ्नो ६ वर्षअघिको समय स्मरण गर्दै सुनाउँछिन्, ‘त्यो बेला मेरो स्वरले कस्तो गीतलाई साथ दिन्छ भन्ने नै थाहा थिएन, अहिले मलाई रक पप गीतलाई स्वरले साथ दिन्छ झैं लाग्छ ।’
उनको गीती यात्रा शुरु भएको काठमाडौंबाट भने होइन ।

सानोमा स्केच बनाउन र साहित्यका पुस्तक पढ्न रुचाउने सन्ध्याको मन कसरी संगीततिर मोडियो भन्ने उनलाई पनि थाहा छैन । न त परिवारका कुनै सदस्यले गीत गाएको उनलाई याद छ । बरु आमाले भने छोरीलाई नाच्न कर गरिरहन्थिन् । ‘मम्मीले मलाई गाउनभन्दा नाच्नलाई कर गुर्नुहुन्थ्यो । तर मलाई गीत गाउन सहज लाग्यो,’ आफ्ना टम्म मिलेका दाँत देखाउँदै उनी थप्छिन्, ‘नाच्न त अहिले पनि आउँदैन ।’

‘ज्याक अफ अल, मास्टर अफ नन ।’

कहिलेकाहीं स्कुल पढ्दा आफ्ना गुरूहरूले सन्ध्यालाई यही भन्ने गर्थे । किनकि उनले सबै कुरामा रुचि देखाउँथिन् । सबथोक सिक्न खोज्थिन् । गीत गाउन पनि खोज्ने । खेलमा पनि रुचि राख्ने । पढाइ पनि राम्रै ।

उनलाई परिवारको साथ भने सधै मिलिरह्यो । एसएलसी पास भइन् । त्यसपछि उनी जोडिइन् तीन वर्षे ल्याव टेक्नोलोजीसँग । त्यो पनि पूर्ण छात्रवृतिमा नाम निकालेर ।

एकातिर ल्याब टेक्नोलोजीको पढाइ चलिरहेको थियो । अर्कोतिर संगीतको भूत । पढाइ सँगसँगै उनी धनगढीकै एउटा ब्याण्डमा आवद्ध भइन् । तर, ब्याण्डको नाम बेलाबेलामा फेरिन्थ्यो । किनकि ब्याण्डका सदस्यहरुले बीचबीचमा ब्याण्ड छोडेर हिँडिदिन्थे आफ्नो व्यक्तिगत कामले ।

सन्ध्या आवद्ध भएको समूहको एउटा मात्र ब्याण्ड थियो धनगढीमा त्यतिबेला ।

सात वर्षअघि धनगढीमा संगीतको माहोल बनिसकेको थिएन । अहिले भने ब्याण्डले पनि बजार पाएको सन्ध्या सुनाउँछिन् । त्यतिबेला ब्याण्डमा रहेर गीत गाउँदा उनले धेरै कुरा सिकेकी रहिछन् । ‘हामीले चोकचोकमा समेत गीत गाउँदै हिँड्थ्यो । यसैमा रमाइलो लाग्थ्यो ।’ उनी सुनाउँछिन्, ‘म त्यतिबेला लजालु स्वभावकी थिएँ तर हातमा गितार परेपछि एकाएक जोश आउँथ्यो ।’

गितार बोकेर गीत गाउँदै हिँड्दा उनको गायकी अझ खारिँदै गएको रहेछ भन्ने लाग्छ सन्ध्यालाई । पढाइ पनि राम्रो थियो । चर्चा पनि राम्रै । छोरीको रुचिमा बा–आमा मख्ख थिए । बुबा सरकारी जागिरे । आमा गृहिणी ।

धनगढीको लोकल ब्याण्ड, युट्युबमा कभर हुँदै नेपाल आइडलसम्म पुगेकी सन्ध्याले आफूले नेपाल आइडलबाट धेरै कुरा सिकेको बताउँछिन् । ‘पहिलो कुरा त मैले साथ दिने थुप्रै शुभचिन्तक र समर्थक पाएकी छु, नेपाल आइडलले मेरो व्यक्तित्व विकासका लागि धेरै सहयोग पुर्‍याएको छ ।’ सन्ध्या भन्छिन्, ‘बरु अहिले मलाई अब औपचारिक संगीत सिक्नैपर्छ भन्ने लाग्दैछ ।
के थिएँ, के भएँ । पाँच महिना अघिसम्म बाटोमा हिँड्दा कसैले चिन्नुहुन्थ्यो । अहिले सुभेच्छा दिनुहुन्छ ।’, उनी भन्छिन्, ‘जिन्दगीमा यो मोड आउला भन्ने मैले कल्पना गरेकी थिइन ।’

भेटिने सुभेच्छुकले भेटमा सेल्फी खिच्न आग्रह गर्दा उनलाई रमाइलो लाग्ने गरेको पनि उनी बताउँछिन् ।

गीत सुन्नु मात्ररुचिको विषय भने हैन सन्ध्याको । समय भयो कि, फिल्म हेर्न हलमै पुग्ने गर्छिन् उनी । किताब पढ्न पनि मन लाग्छ उनलाई ।

तर, अहिले उनीसँग त्यतिधेरै समय छैन । आफैले लेखेका र कम्पोज गरेका केही गीत रेकर्ड गर्ने योजना बन्दैछ । आइडलको तयारीमा रहँदा छुटेको पढाइलाई पूरा गर्नुपर्ने जिम्मेवारी थोपरिएको छ ।

सन्ध्यालाई लेखिएका प्रेमकथा मन पर्ने गरेपनि आफूलाई भने आजभोलि प्रेममा कुनै रुचि नलाग्ने बताउँछिन् । ‘मसँग प्रेमको फिलिङ्स नै आउँदैन, शायद प्रेमकथामा नै विश्वास गुम्दै गएको हुनुपर्छ, करिअर बनाउनेमै ध्यान छ ।’, सन्ध्या मुस्कुराउँदै सुनाउँछिन् ।

धनगढीको शैलेस्वरी टेक्निकल कलेज टप गरेपछि उनी काठमाडौंमा बाँकी पढाइ पूरा गर्न आइन् । उनलाई पहिले नै लागेको थियो – ‘काठमाडौं जान्छु र आइओएममा नै पब्लिक हेल्थ पढ्छु ।’

कलेजको चर्चा उनले पहिलेदेखि नै सुन्दै आएकी थिइन् । धनगढीमा कलेज टप गरेर काठमाडौं आएकी थिइन् । छात्रवृत्तिमा नाम निकाल्नैपर्छ भन्ने थियो उनलाई । अन्ततः नाम निकालिन् पनि ।

महाराजगञ्ज चिकित्सा क्याम्पसमा छात्रवृत्तिमा पब्लिक हेल्थ पढ्न थालेपछि पढाइ सँगसँगै युट्युबमा कभर गीत गाउन थालिन्ल । केही साथीले चिन्न पनि थाले । सुन्नेले राम्रो गाएको प्रतिक्रिया दिन थाले ।

नेपाल आइडलको व्यस्तताले छुटेको पढाइलाई मिलाउनमा व्यस्त छ उनको दिनचर्या । क्याम्पसका साथीहरुले पनि उनलाई साथ दिएका छन् । ‘आइडलमा हुँदा धेरै कुराको बारेमा थाहा नै भएन, मलाई धेरैले सपोर्ट गर्नुभएको रहेछ ।’ सन्ध्या भन्छिन्, ‘ठ्याक्कै त म भन्न सक्दिन तर छिटो नै नयाँ गीत बजारमा ल्याउने योजना छ, केही गीत पहिले नै कम्पोज गरिएका छन् ।’

पहिलेभन्दा अहिले उनलाई धेरै कुराको ख्याल गर्नुपर्ने भएको छ । पहिले गितार बोकेर आफ्नै पाराले हिँडे पुग्थ्यो । अब भने अझै धेरै जिम्मेवारी थपिएको सन्ध्या सुनाउँछिन् । ‘केही पाइला त म हिँडिसकें । अझै धेरै लामो यात्रा गर्नुछ ।’ उनी मुस्कुराउँदै थप्छिन्, ‘अझै धेरै मेहेनत गर्न बाँकी नै छ ।’
ADVERTISEMENT

साउन १९, २०७४ मा प्रकाशित

अर्घेलो थापा

अर्घेलो लोकान्तरका कला संवाददाता हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस