काठमाडौं, १५ भदौ – असोज दुई गते तेस्रो चरण अन्तर्गत दुई नम्बर प्रदेशमो स्थानीय तहको निर्वाचन हुँदैछ । लामो समयको रस्साकस्सीपछि मधेसवादी दल राजपा पनि चुनावमा जान तयार भएको छ । राजपालाई चुनावमा लैजानकै लागि पटक पटक सारिएको दुई नम्बर प्रदेशमा हुने निश्चित भएसँगै त्यस क्षेत्रको माहोल तातेको छ ।
नेपालको मुलाधारे राजनीतिमा कांग्रेस, एमाले र माओवादी नै छन् । प्रदेश नम्बर दुईको चुनाव चाहिँ केही फरक छ । मधेसवादी दल राजपालाई मधेसको बलियो शक्तिको रुपमा हेरिएको छ । त्यसैले राजपासँग सबै ठूला दल डराउनु पर्ने अवस्था छ । तर, त्यसको छिनोफानो भने मतदानले लगाउने छ ।
अघिल्ला निर्वाचनहरूको आधारमा मधेसको पहिलो दल कांग्रेस हो । तर दुई चरणको स्थानीय चुनावमा एमालेले कांग्रेसलाई नराम्रोसँग झट्का दिएको छ । कांग्रेस दुई नम्बर प्रदेशको चुनावमा एक सय बढी सिट जितेर पहिलो पार्टी बन्ने दाउमा छ । राजपाले त आफ्नो आधार इलाका नै दुई नम्बर प्रदेश भएकोले नतिजा आफ्नो पक्षमा आउने अपेक्षा गरेको छ ।
तयारीमा दलहरू
दुई नम्बर प्रदेशको चुनावका लागि दलहरू अन्तिम तयारीमा जुटेका छन् । अहिलेसम्म कांग्रेस बाहेकका अरु दलले दुई नम्बरको चुनावी प्रचारलाई तिव्रता दिएका छन् ।
एमाले बरिष्ठ नेता माधवकुमार नेपाल केही दिन अघि तराई झरेका छन् । विरगञ्जमा रहेका नेता नेपालले दुई दिन अघि जनकपुरमा गम्छा र धोती लगाएर भाषण गरेका थिए । जनकपुरमा राजपाका कार्यकर्ताले एमालेको कार्यक्रममा अवरोध गर्न खोजेको थियो । तर एमाले कार्यकर्ताले उनीहरुलाई त्यहाँबाट धपाए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रौतहट पुगेका छन् । उनी विहीवार साँझसम्ममा सिराह पुग्ने माओवादी केन्द्रका नेताहरू बताउँछन् । सिरहा प्रचण्डको आफ्नै निर्वाचन क्षेत्र पनि हो ।
कांग्रेसका हाइ प्रोफाइल नेता चाहिँ अहिलेसम्म तराई झर्न सकेका छैनन् । तराईमा धेरै सिटको आकलन गरेको कांग्रेसका नेताहरु तराई नझर्दा कार्यकर्तामा अन्योलता छाएको छ ।
कांग्रेसमा टिकट वितणको किचलो अझै सकिएको छैन । कांग्रेसभित्र मधेसका नेता विमलेन्द्र निधि लगायतका नेता टिकट वितरणमै व्यस्त छन् ।
दाइ कांग्रेसको घरमा भाई कांग्रेसको भीड !नेता निधिले केही दिन अघि कांग्रेसले मधेसमा एक सय बढी सिट जित्ने बताएका थिए । हालसम्मका निर्वाचनमा कांग्रेस मधेसको पहिलो शक्ति पनि हो । तर टिकट वितरणको किचलाले कांग्रेसका हाई प्रोफाइल नेता काठमाडौंमै कार्यकर्ताको घेराबन्दीमा परेका छन् । अहिलेसम्म तराई झर्न सकेका छैनन् ।
दाई पुस्तालाई रिझाएर भाई पुस्ताले चुनावमा टिकट पाउने कांग्रेसको पुरानो रोग हो । त्यसैले काठमाडौंमा रहेका दाई नेताहरुको घरमा अहिले मेयर, गाउपालिकाको अध्यक्ष बन्न भाई नेताहरुको भीड छ । कांग्रेस नेताहरु निधी र शशांक कोइरालाको घरमा अहिले कार्यकर्ताहरुको भीड छ ।
‘कांग्रेसमा टिकट वितरणको बेलामा कार्यकर्ताहरुको भीड हुनु स्वभाविककै हो,’ मधेशबाट प्रतिनिधित्व गर्ने कांग्रेस नेता आनन्द ढुंगाना भन्छन्, ‘कांग्रेस सबैलाई न्याय गर्ने पार्टी हो । त्यसैले कार्यकर्ताहरुले टिकटको अपेक्षा गर्छन् ।’ ढुंगानाले तराईका नेताहरु अहिले टिकटका लागि काठमाडौंमा आएको समेत स्विकारे ।
‘केही नेताहरुलाई हामी आफैंले बोलाएका पनि हौं,’ ढुंगानाले भने, ‘टिकट वितरणको काम अन्तिम चरणमा पुगेको छ । अब हामी पनि तुरुन्तै प्रचारमा जान्छौं ।’ ढुंगानाले शुक्रवारसम्ममा कांग्रेसले टिकट वितरणको काम सकाउने समेत बताए ।
स्रोतका अनुसार कांग्रेसका नेताहरु विगत २५ दिनदेखि टिकट वितरणको गृहकार्यमा छन् । तर अहिलेसम्म पनि टुंगाउन सकेका छन् । यो बीचमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको भारत भ्रमणले गर्दा पनि टिकट वितरणको काममा ढिलाई भएको कांग्रेस नेताहरु बताउँछन् ।
मधेसवादी भन्दा एमालेलाई कांग्रेसको डरपहिलो र दोस्रो चरणको चुनावमा पहिलो पार्टी बनेको नेकपा एमाले त्यसलाई जोगाउन तराई केन्द्रीत भएर लागेको छ । अन्य दलभन्दा उसको चुनावी गतिविधि अगाडि देखिएको छ ।
पार्टीका शीर्ष नेता तराई झरेका छन् भने अधिकांश जसो स्थानीय तहका उम्मेदवारहरुको टुग्गो एमालेले लगाएको छ र घर दैलो, आमसभा लगायका कार्यक्रममा ध्यान दिएको छ ।
एमाले स्थायी कमिटि सदस्य सत्यनारायण मण्डलले एमालेले टिकट वितरणको काम लगभग सकाएको बताए । चुनावी प्रचारका लागि आफूहरु मैदानमा आइसकेको पनि उनले जानकारी दिए ।
‘तर हामीलाई राजपाले अबरोध गर्ने कोशिश गरिरहेको छ,’ उनले भने, ‘राज्यले पनि उनीहरुलाई नै सहयोग गरेको छ । एमाले विरुद्ध मोर्चाबन्दी भइरहेको छ ।’ उनले कांग्रेससँगै मुख्य प्रतिस्पर्धा हुने भएपनि एमाले दुई नम्बर प्रदेशमा समेत पहिलो पार्टी हुने दाबी गरे ।
राजपाले एमालेलाई रोक्न खोजेको भएपनि मधेशका जनताले एमालेलाई राम्रोसँग चिनेको उनले बताए । भारतसमेत मधेसमा एमालेलाई पहिलो शक्ति बन्नबाट रोक्न लागि परेको भन्दै नेता मण्डलले त्यसलाई चिर्दै एमाले दुई नम्बर प्रदेशमा पहिलो दल बन्ने दाबी गरे ।
चुनावका लागि एमाले नेता माधवकुमार नेपाल एउटा टोली लिएर तराई गइसकेका छन् । तराईबाटै चुनाव जितेका उनलाई राजपाले जनकपुरमा अबरोध गरेको थियो । एमालेले राजपालाई आफूहरु प्रतिकारमा उत्रने चेतावनी समेत दिएको छ ।
एमाले नेता मण्डलले आवश्यकता अनुसार चुनावी प्रचारको लागि नेताहरु मधेश झरिसकेको बताए ।
६० सिटको तार्गेट बोकेर प्रचण्ड तराइ झरेमाओवादी केन्द्र चुनावी प्रचारमा जुटिसेको छ । पार्टीका अध्यक्ष प्रचण्ड केही दिन अघि नेता कार्यकर्ता बोकेर भोट माग्न हिँडेका छन् । रौतहटका स्थानीयसँग भोट मागेका उनले विहीवार सिराहमा भोट मागिरहेका छन् ।
माओवादी नेता तथा पूर्व मन्त्री अजयशंकर नायकले माओवादी ६० सिट जित्ने अपेक्षासहित चुनावी प्रचारमा जुटेको बताए । ‘हिमाल, पहाड र तराईलाई जोड्ने माओवादी नै हो । माओवादीको पक्षमा जनलहर देखिन्छ,’ नायक भन्छन्, ‘हामी ६० सिट जित्ने अपेक्षासहित मैदानमा उत्रिएका छौं ।’
नेता नयाकले माओवादीले पनि टिकट वितरणको काम लगभग अन्तिम चरणमा पुर्याएको जानकारी दिए । उनले माओवादी केन्द्रका नेताहरु अहिले मुख्य गरी प्रचारप्रसारकै काममा जुटेको बताए । उनले अध्यक्ष नै चुनावी प्रचारमा हिँडेकोले पनि माओवादी धेरै सिट जित्ने दावी गरे ।
नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्षसमेत रहेका रामेश्वर राय यादवसहितका दर्जनौं नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेसँगै माओवादी थप उत्साहित भएको छ । उसले मधेसका मतदाताले माओवादी वास्तविक शक्ति भएको थाहा पाएको भन्दै राम्रै सीट संख्याको आकलन गरेको छ ।
तराईमै रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आजै रौतहटमा पत्रकारसँग कुरा गर्दै नेपाली कांग्रेस, राजपा लगायतका दलहरुसँग चुनावी तालमेल गर्न छलफल भइरहेको बताए ।
भोट माग्न गएकै छैन राजपा
संविधान जारी भएसँगै आन्दोलनमा उत्रिएका तराई कन्द्रीत ६ दल मिलेर बनेको राजपा दुई नम्बर प्रदेशको चुनावमा सहभागी हुने भएसँगै उम्मेदवार छनोट लगायतमा व्यस्त छ ।
पहिलो र दोस्रो चरणको चुनावलाई वहिष्कार गरेको राजपाले दुई नम्बर प्रदेशको चुनावलाई प्रतिष्ठाको रुपमा पनि लिएको छ ।
राजपाका नेता लक्ष्मणलाल कर्णले दुई नम्बर प्रदेशको चुनावमा राजपा केन्द्रीत रहेको बताए । राजपाले प्रत्येक जिल्लामा टिक वितरणको प्रक्रियामा सघाउन उच्च स्तरीय समिति गठन गरेको छ ।
‘कसलाई उम्मेदवार बनाउने भनेर १६ गते भित्रमा केन्द्रमा प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएका छौं, कर्णले भने,‘टिकट बाँडेसँगै हामी पनि चुनावी प्रचार र घर दैलोमा जान्छौं ।’ उनले अहिले प्राविक काममा व्यस्त भएका कारण भोट माग्न जनताकोमा जान नपाएको बताए । राजपा नेता कर्णले दुर्इ नम्बर प्रदेशमा पहिलो शक्ति राजपा नै भएको दाबी गरे ।
Advertisment
Advertisment