छन्द र गद्यमा कविता लेख्नेले एक अर्कालाई स्वीकार नगर्नु अतिवाद : नेपाल

भदौ १७, २०७४
नेपाली साहित्य आकाशमा डा. देवी नेपाल नौलो नाम होइन । खासगरी कविता, त्यो पनि छन्द कवितामा कलम चलाउँदै आएका देवी पछिल्लो समय कविताको जागरण अभियानमा पनि सक्रिय छन् । संस्कृत हुँदै नेपाली साहित्यमा प्रभाव पारेको छन्द कवितालाई सरलीकरण गरी युवापुस्ताको ध्यान तान्ने अभियानमा सक्रिय देवी विभिन्न विद्यालयमा विद्यार्थीलाई कवितावोध गराउन पुग्ने गर्छन् ।

काठमाडौंको वाल्मिकी विद्यापीठका सह–प्राध्यापकसमेत रहेका देवीले साहित्यका विभिन्न विधामा कलम चलाएपनि विशेष दख्खल भने छन्द कवितामै देखिन्छ । आफ्नो कृति ‘छन्द–पराग’ को तेस्रो संस्करणको तयारीमा छन् उनी यतिबेला । यही कृति पढेर कतिपय पाठकले कविता लेख्न थालेको प्रतिक्रिया दिइरहने गरेको देवी सुनाउँछन् । ‘कति पाठकले त यो कृतिलाई गुरु मान्नुहुन्छ, कृति पढेर छन्द कविता लेख्न थालेको बताउनुहुन्छ ।’, देवी थप्छन्, ‘तेस्रो संस्करणमा अरु एक सय छन्दबारे लेखेको छु ।’nepal
विभिन्न स्थानमा हुने कार्यक्रममा आफ्ना कविता प्रस्तुत गरेपछि यस्तै कविता कसरी लेख्न सकिन्छ भनेर पाठकले राखेका जिज्ञासका आधारमा आफूले ‘छन्द–पराग’ तयार पारेको बताउँछन् देवी । कृतिमा उनले संस्कृतका विभिन्न छन्दलाई सरलीकरण गरेर पुस्तकका रुपमा विस्तार गरेका छन् । पहिलो संस्करणमा एक सय साठी वार्णिक छन्दका बारेमा लेखेका थिए । दोस्रो  संस्करणमा दुई सय साठी छन्द र गद्य कविताको संरचना सूत्र थप गरेका थिए उनले । अहिले भने ६ महिनामै तेस्रो संस्करण बजारमा आउँदैछ ।

छन्द कवितामा पछिल्लो पुस्ताको व्यापक आकर्षण बढ्दै गएको देवीको बुझाइ छ । प्राचीन कालदेखि नै छन्द कविताले नेपाली कविताको इतिहास रच्दै आएको र पछिल्लो समय भने छन्द कविताप्रति अझ बढी आकर्षण बढ्दै गएको उनी बताउँछन् । ‘पछिल्ला दुई दशकमा नेपाली साहित्यले दुई सयको हाराहारीमा महाकाव्य पाएको छ, यो पुस्ता कवितामा आर्कर्षित भएको छ ।’, उनी सुनाउँछन् ।

आफूले स्नातक तहको शिक्षण सिकाइका क्रममा कक्षा दशमा बालकृष्ण समको ‘इच्छा’ कविताको पहिलो श्लोक पढ्दा एक विद्यार्थीले बीचैमा ‘स्वाहा’ भन्दै गिज्याएको र त्यतिबेला परेको चोटले कविताप्रतिको धारणा बदल्नुपर्छ भनेर आफू लागिपरेको देवी बताउँछन् । ‘ती स्वाहा भन्ने विद्यार्थीको नामसमेत थाहा छैन तर उनी मेरा गुरु हुन् ।’, उनी मुस्कुराउँदै थप्छन्, ‘यदि उनले कवितालाई त्यसरी नहेरेको भए अहिले म अभियानमा जुट्दिनथें होला ।’
त्यतिबेलाको तुलनामा धेरै विद्यार्थी तथा साहित्यका पाठकले कवितालाई हेर्ने दृष्टिकोण फेरिदै गएको उनको बुझाइ छ ।

देवी अहिले समयलाई कविताकै लागि खर्च गर्छन् । साहित्यका अन्य विधामा कलम चलाए पनि कविताप्रति बढी झुकाव भएको देवी बताउँछन् । ‘पहिले कविता बुझाउनैका लागि कति स्कूलमा निःशुल्क पढाएँ, अहिले भने समय मिलाउन गाह्रो छ, यही अभियानको दौरानमा देशका पचास जिल्ला र विदेशमा पनि पुगिसकें ।’, देवी सुनाउँछन् ।

कवितालाई अन्य विधाभन्दा फरक बनाउने तत्व भनेकै लय हो । ‘कविताभित्र लयात्मक चेतना हुनैपर्छ, चाहे त्यो बद्ध छन्द होस् या मुक्त छन्द ।’ उनी थप्छन्, ‘गीतमा पनि कवित्व चेत हुन्छ, कविताको संरचनाबाटै गीत बन्ने हो ।’
छन्दमा कविता लेख्नेले गद्यमा लेख्नेलाई नमान्ने र गद्यमा कविता लेख्नेले छन्दमा लेख्ने कविलाई नमान्ने प्रवृत्ति अझै पनि नेपाली कवितामा रहेको देवी बताउँछन् । यसलाई भने उनले ‘अतिवाद’ भन्छन् । पहिलेको तुलनामा यस्तो प्रवृत्ति कम हुँदै गएको उनको बुझाइ छ ।  ‘माधव घिमिरे एउटा शिखर हुन
भने भूपि शेरचन अर्का शिखर हुन् ।’ उनी थप्छन्, ‘यी दुई कवि एउटाको ठाउँमा अर्को बन्न सक्दैनन् ।’
पछिल्लो समयमा छन्दमा लेख्ने भन्दै शिलोक लेख्ने र गद्य कविताका नाममा अनुच्छेदलाई कविता बनाइदिने प्रवृत्ति हाबी भएको देवीको बुझाइ छ । तर पचासको दशकपछि कविताले पाएको बजारमा युवापुस्ता पनि मोहित भएका छन् । देवीका अनुसार दुई दशकअघि छन्दमा लेखिएको कविता मञ्चमा गद्यमा सुनाइन्थ्यो भने अहिले गद्य कवितालाई पनि लय हालेर सुनाउन थालिएको छ । ‘मिलोस् या नमिलोस् तर छन्दप्रतिको मोह विकास हुँदै गएको छ ।’ देवी सुनाउँछन्, ‘विभिन्न विद्यालयमा पुग्दा पनि कवितालेखन प्रतिको रुचि एकदमै बढेको छ ।’

भलै कविताको बजार व्यापक हुँदै गएपनि आख्यानको बजारले नेपाली कविताको बजारलाई ओझेलमा भने पारिदिएको छ । आख्यान सहजै बुझ्न सकिने तर कविता बुझ्न गाह्रो हुने भएकाले पनि धेरै पाठक आख्यानमा आर्कषित भएको देवी बताउँछन् । ‘महाकाव्यको उद्देश्य कथा भन्नु मात्र होइन, अनुभूति र आख्यानको स्वाद पाठकलाई दिनु पनि हो ।’, उनी थप्छन् ।

छन्दमा कविताको आनन्द र घटनाको आनन्द दुवै हुने भएपनि आम दर्शकलाई घटनाको आनन्द (आख्यान) बुझ्न सहज हुने भएकाले कविताको बजार केही कम देखिए पनि अहिलेको युग कविताको युग भएको उनी बताउँछन् । ‘अब गुराँस देखेर मख्ख पर्ने बेला होइन, अबको युग भनेको चेनताको युग हो ।’ उनले कवितामार्फत पूरै विश्वलाई जागरुक गराउनुपर्ने तर्क राख्दै भन्छन्, ‘हामीमा जबसम्म सामाजिक चेतना आउँदैन, तबसम्म हाम्रा कविताहरु काम लाग्दैनन् ।’

‘राजनीतिले गर्न नसकेको काम कविताले गर्छ, ‘बन्दैन मुलुक दुई चार सपूत मरेर नगए’ पंक्ति भूपि शेरचनको हो भन्ने धेरैलाई थाहा नहोला तर कविताको श्लोक सबैलाई याद छ ।’ उनी थप्छन्, ‘कविताले समाजसँग सिधै सम्पर्क राख्छ ।’
भदौ १७, २०७४ मा प्रकाशित

अर्घेलो थापा

अर्घेलो लोकान्तरका कला संवाददाता हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस