असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
साविकको ‘शाही नेपाली सेना’ लाई सिधै राजाको संरक्षण प्राप्त थियो, सैनिक विषयक ऐन कानून त थिए तर सेनामा तिनको पालना हुने नहुने तय राजदरबारको सैनिक सचिवालय मार्फत राजाले नै गर्थे, गराउँथे । श्री ५ लाई परमाधिपति मानिन्थ्यो । उच्च तहमा पुगेका (पु-याइएका) सैनिक अधिकृतहरूलाई अनुशासनमा राखिएको थियो, तिनले आफूखुसी विदेशीसित सम्पर्क, हिमचिम बढाउन पाउँदैनथे । सेनाको मामीलामा राजदरबार सर्वेसर्वा थियो । रक्षा मन्त्रालय त, एक पूर्व सेनापतिको शब्दमा, हुलाकी काम गर्ने सरकारी निकाय मात्र थियो ।
तर विडम्बना, २०५८ साल जेठमा सेना सहितको चार तहको सुरक्षाप्राप्त राजदरबारभित्र गद्दीनसिन राजा वीरेन्द्र मारिए, उनकी रानी, छोरा र निकट नातेदारहरूको जीवन त्यस रहस्यमय हत्याकाण्डमा समाप्त भयो । तर त्यस नारायणहिटी पर्वको प्रारम्भिक छानबीनको क्रममा सेनापति प्रज्जवलशम्शेर राणाले भनिदिए : राजाको सुरक्षा शाही नेपाली सेनाको जिम्मेवारीमा पर्दैन ! प्रश्न उठ्छ: त्यसो भए राजदरबारमा खटेको सेनाको एकाई कुन प्रयोजनका लागि त्यहाँ राखिएको थियो ? यसको उत्तर कसैबाट आएन, अझै आएको छैन ।
सेनाको क्षमतामा कुनै टड्कारो कमी थियो अथवा सेनाको नेतृत्वले कसैको साँठगाँठमा त्यस्तो घटना हुने स्थितिप्रति आँखा चिम्लेको थियो ?
तत्कालीन सेनापति राणाको बयान र प्रेस-जिज्ञाशाप्रतिको उनको उत्तरलाई जनस्तरमा सहज मानिएको थिएन । सेनाभित्र पक्कै खैलाबैला भएको हुँदो हो किनभने किनभने जेठ १९ गतेको घटना असाधारण र अकल्पनीय प्रकृतिको थियो । संरक्षक गुमाएर सेना टुहुरो भएको घडी थियो । एउटा राजाको सुरक्षा समेत गर्न नसक्ने सेनाले लाखौं जनताको सुरक्षा के गर्ला भन्ने सन्देह सर्वथा उचित हो ।
सेनाका उच्च अधिकृतहरू सेनापतिको हास्यास्पद कथनले उत्तेजित भएको अनुमान उतिखेरै गरिएको हो । ‘सिपाहीको जिन्दगी’ नामक हालै प्रकाशित संस्मरणात्मक पुस्तकमा अवकाशप्राप्त सहायक रथी चिनीयाबहादुर बस्न्यातले सेनापति राणाको त्यस उत्तरलाई “ नैतिकहीन र केटाकेटी पाराको ” भनेका छन् । उनी थप्छन् : “ वास्तवमा राजा (ज्ञानेन्द्र) ले प्रज्वल राणालाई तुरुन्तै बर्खास्त गर्नुपर्थ्यो । त्यस्तो गैरजिम्मेवार भनाइमा “। अर्को विडम्बना, प्रज्जल त पछि फ्रान्स गए---राजदूत भएर ।
बस्न्यातको पुस्तकमा प्रज्वल सेनापति छँदा सेनामा भ्रष्टाचार मौलाएको चर्चा बाक्लै भेटिन्छ । किटान घटनाको उल्लेख गर्ने सिलसिलामा बस्न्यातले लेखेका छन् : पृथ्वीनारायण शाहदेखि राणाकालसम्म नेपालमा बनेका र बाहिरबाट बनेका तोप, हतियार, खुकुरी, सैनिक सामग्री अमेरिकी नागरिकलाई बेचे । “... पैसाको लागि नेपालको इतिहास बेचिएको थियो ” ।
पहिले-पहिले सेनाभित्रका धेरै विषय सार्वजनिक चासो र चर्चाका मामीला बन्न नदिने प्रचलन भएकोले उतिखेरका आर्थिक अनियमितता, भ्रष्टाचारका कुराहरू जनताबीच आइपुग्दैनथे । तैपनि सेनाभित्र भ्रष्टाचार छ, हुन्छ भन्ने कुराको पुष्टि राजा वीरेन्द्रले एकपल्ट आफैंले गरिदिए ---धर्मपालवर सिंह थापालाई सेनापति नियुक्त गर्नुअघिका सेनापतिलाई सेनाभित्रको भ्रष्टाचारमा नियन्त्रण गर्न नसकेको दण्डस्वरूप कार्यकाल नसकिंदै अवकाश दिएर ।
-----------------------------------------------------------------------
रचना: सिपाहीको जिन्दगी (आत्मकथा)
लेखक: चिनीयाबहादुर बस्न्यात
प्रकाशिका: इन्दू बस्न्यात
संस्करण: पहिलो, २०७४
पृष्ठ : ३७५
मूल्य : ३०० रुपिञा
--------------------------------------------------------------------------
त्यसैगरी, राजदरबारमा नातावाद कृपावादको बोलबाला व्यापक थियो; र त्यो निजामतीमा भन्दा जङ्गीतर्फ बढी हुन्थ्यो भनिन्छ । त्यसको झलक दिने एउटा घटना २०५६ सालको शुरूमा भएको थियो । पदावधि सकिएका अधिकृत भिक्ट्री राणा र गोपाल बोहोरा एकैसाथ रिटायर्ड भएकोमा दुई साताभित्रैमा राणाले पुन: बहाली पाए, तर वरिष्ठ बोहोरालाई दरबारले सम्झिन आवश्यक ठानेन । विवेच्य पुस्तकमा यस घटनाको पनि उल्लेख पाइन्छ । राणालाई त पछि राजदूत बनाएर बर्मा समेत पठाइयो ।
पुस्तकमा राष्ट्रसंघको शान्तिसेनामा खटिएर गएका नेपाली सैनिकले रगत पसीनाबाट आर्जन गरी जोगाएको रकमबाट किनिएको सुन कसरी उतै जफत भएको थियो र कुन मेहनत र परिश्रमले आफूले त्यसको पैसा उपर गरेको थिएँ भनी लेख्दै जाँदा बस्न्यात एक ठाउँमा भन्छन् : जाग्रेवको बैंकमा स्वीट्जरल्याण्डबाट आएको झण्डै १० लाख डलर ब्रिफकेसमा हाली हेडक्वाटरमा स.र. दिगम्बर राणालाई बुझाउन लगाएँ । तर सैनिकहरूले आफ्नो सुन बापतको कति डलर फिर्ता पाए “त्यसको मैले आजसम्म कुनै जानकारी पाएको छैन”।
चर्चित पुस्तक पूर्व सहायक रथी बस्न्यातको आत्मकथा भएको हुनाले यो मूलत: आफैंमा केन्द्रित हुनुलाई अनौठो मान्ने कुरा आएन । निजाले ३८ वर्षको फौजी जीवनमा आफूले पाएका स्याबासी र उपलब्धिको उल्लेख गर्नुलाई पनि अन्यथा ठान्न मिलेन । त्यसै सिलसिलामा अस्वस्थ प्रतिस्पर्धा र सेनामा रहेको कृपावादले आफूमाथि परेका असरबारे शिकायतहरू आउनु अस्वाभाविक भएन । अन्यायमा परेको कुरा राजामा जाहेर गर्दा पनि सम्बोधन भएन भन्ने गुनासोबारे उल्लेख हुनु अनुचित होइन ।
आफ्नै देशमा खुलेको आधारभूत तालीममा सरिक हुँदा सर्वप्रथम भै सैनिक सेवामा प्रवेश गरेको युवक नेपालको पहिलो छाताधारी सैनिक (प्याराजम्पर) समेत हुन पुगेको जानकारी जनसाधारणको रुचिको विषय हो नै । बस्न्यात नेतृत्वको टोलीले इजरायलमा पाएको प्रशिक्षणपश्चात् नेपालमा छाताधारी सैनिकको एकाइ स्थापना भएको ऐतिहासिक सन्दर्भ किताबका पठनीय केही अंशमा पर्दछ ।
खम्पा विद्रोह दबाउँदाका प्रसङ्ग, चीनबाट हतियार झिकाउँदाको परिस्थिति, माओवादी विद्रोहबारे राजालाई ब्रिफिङ् गर्दाको अवस्था समेतका विषयमा आजअघि जानकारीमा नआएका कतिपय सूचना यस पुस्तकमा परेका छन् ।
हाँसो ठट्टाका क्षणहरू समावेश गरेर बस्न्यातले पुस्तकलाई रसिलो पनि बनाएका छन् । २०२८ सालमा इलाममा कमाण्डो कोर्स सञ्चालन गर्न गएका बखत ‘चिनीया मेजर’ले तालीम गर्दैछ भन्ने चर्चा सुनेर दार्जिलिङतिरबाट भारतीय गुप्तचरले चियोचर्चो गरेको घटना उनको नामले गर्दा भएको रहेछ !
सेनाका चुनौती तथा सेनाभित्रका समस्या बाहिर अर्थात् जनसाधारणका बीच ल्याउनु हुँदैन भन्ने मान्यता राख्नेहरू पनि छन् । तर जनताले तिरो, कर तिरेर आफ्नै सुरक्षा खातिर पालेको सेनाबारे जानकारी पाउनु हुन्न भन्ने सोच कहिल्यै समयसापेक्ष थिएनन् । सैनिक कारवाहीका बेला तय गरिने कार्यतालिका एवं रणनीतिबाहेक सेनाका संस्थागत मामीला नागरिकको सूचनाको हक अन्तर्गतकै कुरा हुन् ।
खुसीको कुरो हो, सेनामै काम गरी अनुभव हासिल गरेका अधिकृतहरू नै यसबारे कलम चलाउन थालेका छन् । राजदरबारका प्रमुख सैनिक सचिव रहेका जर्नेल विवेक शाहको पुस्तकले दरबार र सेनाका केही पक्ष उद्घाटित गरेको थियो भने महारथी रुक्माङ्द कटवालको संस्मरणात्मक कृतिले सेनामै केन्द्रित घटना, दुर्घटनाहरूको चिरफार गर्नपुग्यो । कटवालपछिका सेनाप्रमुख छत्रमान सिंह गुरुङका कतिपय संस्मरण पनि सम-सामयिक चर्चामा आए ।
राजाका पार्श्ववर्ती रहेका टीका धमलाले बेला-बेलामा अखवारमा सेनासम्बन्धमा सामयिक लेख टिप्पणी छपाएका छन् । प्राज्ञिक / रणनीतिक पक्षमा केशरबहादुर भण्डारीको कलम निरन्तर चलिरहेको देखिन्छ । विद्यावारिधि गरेका प्रेमसिंह बस्न्यातको कलम र वकृत्वकला दुबै जोशिला रहेका छन् ।
बस्न्यातको पुस्तकमा ठाउँ-ठाउँमा भाषागत त्रुटि भेटिन्छन् यद्यपि लेखकले कृति तयार पार्दा साहित्यकार युवराज ‘नयाँघरे’को सहयोग लिएको देखिन्छ । आवश्यक नपरेका ठाउँमा अंग्रेजी लवजको प्रयोग नगर्ने, गर्नुपरेकै ठाउँमा पनि नेपालीमा राम्ररी अर्थ खुलाएर गर्ने र हिज्जेमा एकरुपता अपनाउने सम्बन्धमा ‘नयाँघरे’ ले यथोचित सहयोग दिनुपर्ने हो । ‘कर्णेल’ वा ‘कर्नेल’ जे गरेपनि एकथोक गरेर एकरुपता कायम राखेको भए बेश हुन्थ्यो ।
–ध्रुवहरि अधिकारी
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...