फिल्म समीक्षाः भाँडाकुटीजस्तो ‘झ्यानाकुटी’

मंसिर ५, २०७४

काठमाडौं, ५ मंसिर - चलचित्र ‘कबड्डी’ सफल भएपछि यही सूत्र र परिवेशको वरिपरि रहेर धेरै नेपाली चलचित्र निर्माण भए । केही चलचित्र सफल पनि भए भने केहीले चाहिँ व्यापार गर्न सकेनन् । कम बजेटमा निर्माण हुने उस्तै शैलीका यी चलचित्रले जेनतेन लगानी उठाए । यस्ता धारको चलचित्र निर्माण क्रम भने रोकिएको छैन । तिनैमध्येको  एक चलचित्र ‘झ्यानाकुटी’ पनि हो ।

कास्कीको कुनै एक गाउँमा श्रीमान्–श्रीमती बुधे (सौगात मल्ल) र मालती (बेनिशा हमाल) बसोबास गर्छन् । स–सानो कुरामा पनि झगडा गर्ने यो जोडीबीच एकदिन दह्रै ठाकठुक पर्छ । श्रीमानको रक्सी खाने बानीबाट दिक्क भएकी मालतीले आफ्नो आठ महिनाको छोरो छोडेर घरबाट निस्किन्छे । त्यसपछि उत्पन्न हुने घटनाक्रमले कथालाई अगाडि बढाउँदै लैजान्छ ।


ADVERTISEMENT

चलचित्र केटाकेटीले खेल्ने भाँडाकुटीजस्तो छ । सस्तो अनि नटिकाउ । फिल्मको कथामा कुनै गुदी छैन । अनि फिल्मका पात्रप्रति दर्शकको संवेदना जाग्दैन ।

कलाकारहरूको अभिनय औसत छ । सौगात मल्ल कुनै समयमा अब्बल अभिनय गर्थे तर उनको धार भुत्ते हुँदै गइरहेको अनुभव हुन्छ । अन्य कलाकार बेनिशा हमाल, जीवन भट्टराई, सुमी मोक्तानले कामचलाउ अभिनय गरेका छन् । तर सानो बच्चाको भूमिकालाई भने निर्देशकले सुन्दर तरिकाले पर्दामा उतारेका छन् ।

छायांकन पक्षमा प्रशंसनीय पक्ष खासै केही छैन । हरि गुरागाईंले फिल्मका धेरैजसो दृश्य सामान्य खिचेका छन् । तर छायांकारको फ्रेममा न गाउँको बनोट आउँछ, न त गाउँभित्रका अन्य कुनै पक्ष नै अटेका छन् । धेरैजसो दृश्य घरका आँगन र एक रेस्टुरेन्ट वरिपरि खिचिएका छन् ।

चलचित्रको गीत संगीत राम्रै भन्नुपर्छ । फिल्ममा गीतलाई निर्देशक सिमोस सुनुवारले सुहाउने गरी पस्केका छन् । पात्रको जीवनशैली र उसको चरित्रलाई ख्याल गर्न खोजेपनि पात्रलाई पूर्णतः न्याय गर्न निर्देशक चुकेका छन् । फिल्मका सीमित पात्रबाहेक अरू कुनै पात्रलाई पनि फिल्ममा अटाउन सकेका छैनन् निर्देशकले । यस्तो लाग्छ, गाउँमा अरू कुनै घर पनि छैनन्, मान्छे पनि बस्दैनन् कि झैं गरी फिल्म सकाएका छन् निर्देशकले ।


  
 

चलचित्रको कथावस्तुमा खासै दम छैन । आठ महिनाको छोरो छोडेर मासुको निहुँमा घर छोडेर जाने श्रीमती, श्रीमतीविना नै बाँच्न सक्छु भन्ने तर उसैलाई खोज्दै भौंतारिने श्रीमान्, घरमा किचलो भएको मौका पारेर भाञ्जी बिहे गरिदिन मरिहत्ते गर्ने बच्चैदेखिको साथी वरिपरि फिल्म अल्झेको छ । तर ती घटनालाई विश्वसनीय बनाउन फिल्ममा कुनै कोशिश गरिएको छैन । घटनापछाडिका अपत्यारिला कारणले फिल्मको स्तर घटाएको छ भने पात्रलाई संवदेनाहीन बनाएको छ । 

फिल्मलाई भद्दा र द्विअर्थी लाग्ने केही संवादको बलमा रमाइलो बनाउन खोजिएको छ । श्रीमान्–श्रीमतीको झगडाजस्तो गम्भीर विषयमा फिल्म बनेको त छ तर पूरै फिल्म केटाकेटी खेल्ने भाँडाकुटी जस्तो हलुका बन्न पुगेको छ ।

मंसिर ५, २०७४ मा प्रकाशित

अर्घेलो थापा

अर्घेलो लोकान्तरका कला संवाददाता हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस