को हुन् ओशो ? जान्नुस् उनका बारेमा केही तथ्य

काठमाडौं, २४ मंसिर — आज (डिसेम्बर ११) रहस्यवादी दार्शनिक रजनीश अर्थात् ओशोको जन्मदिन परेको छ ।

उनको मृत्यु भएको २७ वर्ष भइसकेको छ । 

ओशोको जन्म सन् १९३१ मा भएको थियो । भारतको मध्य प्रदेशसिथत कुचवाडामा उनको जन्म भएको थियो । जन्मको समयमा उनको नाम चन्द्रमोहन जैन थियो । बाल्यकालमै उनलाई दर्शनमा रुचि भयो । 

उनले आफ्नो पढाइ जबलपुरमा पूरा गरे । पछि उनले जबलपुर विश्वविद्यालयमा प्राध्यापन गरे । 

उनले धर्म तथा विचारधारामाथि देशभरि प्रवचन दिए । उनको आकर्षक व्यक्तित्वका कारण मानिसमाथि असर पर्ने गर्थ्यो । 

प्रवचनका साथसाथै उनले ध्यान शिविर पनि आयोजना गरे । शुरुमा उनलाई आचार्य रजनीश पनि चिनिन्थ्यो । 

जागिर छोडेपछि उनले नवसंन्यास आन्दोलन शुरु गरे । त्यसपछि उनले आफूलाई ओशो नाम दिए । 

सन् १९८१ देखि १९८५ सम्म उनी अमेरिकामा बसे । त्यहाँ ओरेगनमा उनले आश्रम स्थापना गरे । यो आश्रम ६५ हजार एकडमा फैलिएको थियो । 

ओशोको अमेरिका प्रवास विवादास्पद रह्यो । महंगा घडी, रोल्स रोयस कार, डिजाइनर कपडाका कारण उनी सधैं चर्चामा रहे । 

ओरेगनमा ओशोका शिष्यहरूले उनको आश्रमलाई रजनीशपुरम नामक शहरका रूपमा दर्ता गर्न चाहे तर स्थानीयहरूले यसको विरोध गरे । 

त्यसपछि उनी भारत फर्किए । 

भारत फर्केपछि उनी पुणेको कारेगाँव पार्क इलाकामा रहेको आफ्नो आश्रममा फर्किए । उनको मृत्यु सन् १९९० को १९ जनवरीमा भयो । 

उनको मृत्युपछि पुणे आश्रमको नियन्त्रण ओशोका शिष्यहरूले हातमा लिए । आश्रमको सम्पत्ति करोडौं रुपैयाँ रहेको मानिन्छ र यसका लागि शिष्यहरूमा विवाद छ । 

ओशोको मृत्यु प्रमाणपत्र जारी गर्ने चिकित्सक गोकुल गोकाणी लामो समयसम्म उनको मृत्युको कारणका बारेमा मौन रहे । पछि उनले मौनता तोड्दै मृत्यु प्रमाणपत्रमा गलत सूचना दिएर हस्ताक्षर लिइएको बताए । 

डाक्टर गोकाणी ओशोको मृत्युको समयमाथि पनि प्रश्न उठाउँछन् । ओशोका शिष्यहरूले उनको मृत्युको कारण हृदयघात लेख्नका लागि दबाब दिएको पनि गोकाणी बताउँछन् । (अमेरिकामा उनलाई रासायिनक विष दिइएको चर्चा
पनि चल्ने गर्छ ।)

ओशोको आश्रममा कुनै पनि संन्यासीको मृत्युलाई उत्सवजस्तो गरी मनाइन्थ्यो । तर ओशोको मृत्यु हुँदा त्यसको घोषणा एक घन्टाभित्रै उनको अन्तिम संस्कार गरियो अनि उनको निर्वाण उत्सवलाई पनि संक्षिप्त राखियो । 

ओशोकी आमा पनि आश्रममै बस्थिन् । ओशोको सचिव भइसकेकी नीलमले पछि एक अन्तर्वार्तामा उनको मृत्युसँग जोडिएको रहस्यका विषयमा कुरा गरेकी थिइन् । ओशोको निधनको जानकारी उनको आमालाई पनि ढिलो गरी
दिइएको थियो । नीलमले एक अन्तर्वार्तामा दाबी गरेअनुसार, आमा लामो समयसम्म पनि ‘छोरा, तिमीलाई उनीहरूले मारे’ भनिरहन्थिन् । 

पुणेस्थित उनको समाधिमा लेखिएको कुराले पनि ओशोको महत्त्व थाहा पाउन सकिन्छ ः ‘कहिल्यै जन्मिएनन्, कहिल्यै मरेनन् । उनी धर्तीमा ११ डिसेम्बर १९३१ देखि १९ जनवरी १९९० का बीचमा आएका थिए ।’

बीबीसीबाट

मंसिर २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस