जसले पूरा गरे जितमा ‘ह्याट्रिक’

काठमाडौँ, २६ मङ्सिर  - चुनावी परिणाम अन्तिमतिर आइपुग्दा धेरै ‘हेभिवेट’ नेता ‘रिङआउट’ भएका छन् ।  नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का केही शीर्ष नेताले समेत पराजय भोगेका छन् ।  तर, कतिपय नेताले भने आफ्नो जितलाई निरन्तरता दिँदै ह्याट्रिक गरेका छन् । 
प्रधानमन्त्रीसमेत रहनुभएका शेरबहादुर देउवाले डडेलधुराबाट २०४८ देखि नै लगातार जित हात पार्नुभएको छ ।  उहाँको निरन्तर जितलाई वाम गठबन्धनले रोक्न सकेन ।  यसअघिका संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि देउवा डडेलधुराका साथै कैलाली र कञ्चनपुरबाट पनि विजयी हुँदै आउनुभएको थियो ।  योपटक वाम गठबन्धनका उम्मेदवार खगराज भट्टलाई छ हजार ९४८ मतान्तरले पराजित गर्दै देउवा विजयी हुनुभयो । 
यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालले जितमा ह्याट्रिक पूरा गर्नुभयो ।  खनालले इलामबाट लगातार तेस्रोपटक जित दर्ता गर्नुभएको हो ।  पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा इलाम–१ बाटै खनाल विजयी हुनुभएको थियो ।  खनालले योपटक काँंग्रेसका भूपेन्द्र कट्टेललाई १७ हजार १६७ मतान्तरले पराजित गर्नुभयो । 
यस्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि गोरखाबाट लगातार तेस्रोपटक जित हासिल गर्नुभयो ।  पहिलो संविधानसभामा सबैभन्दा फराकिलो अन्तरको जित हासिल गर्नुभएका भट्टराईले योपटक तुलनात्मक रूपमा प्रतिस्पर्धात्मक चुनाव लड्नुभयो ।  दुईपटक माओवादीबाट विजयी हुनुभएका भट्टराईले योपटक माओवादीकै उपाध्यक्षसमेत रहनुभएका नारायणकाजी श्रेष्ठलाई पराजित गरी तेस्रोपटक जित हासिल गर्नुभयो ।  भट्टराईले योपटक छ हजार ८७४ मतान्तरले जित हासिल गर्नुभयो । 
पूर्वसभामुख सुवास नेम्बाङले पनि इलामबाट लगातार तेस्रोपटक जित हासिल गर्नुभएको  छ ।  नेम्बाङले योपटक काँंग्रेस उम्मेदवार तथा निवर्तमान सांसद केशव थापालाई पराजित गर्नुभयो ।  नेम्बाङले नौ हजार ६५२ मतान्तरले जित निकाल्नुभयो ।  
काँंग्रेसका प्रकाशमान सिंहले पनि काठमाडौँ–१ बाट लगातार तेस्रोपटक जित हासिल गर्नुभयो ।  अघिल्ला दुई निर्वाचन सहज रूपमा जित्नुभएका सिंहका लागि यो पटकको जित सहज रहेन ।  विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई ८१८ मतान्तरले पछाडि गरेर सिंहले जितमा ह्याट्रिक पूरा गर्नुभयो ।  
माओवादी केन्द्रका कृष्णबहादुर महराले तेस्रोपटक लगातार जित हासिल गर्नुभयो ।  भूगोल परिवर्तन गरी योपटक दाङबाट निर्वाचित हुनुभएका महराले १४ हजार १४५ मतान्तरले काँग्रेस उम्मेदवार राजु खनाललाई पराजित गरी तेस्रो जित दर्ता गर्नुभयो ।  
माओवादी केन्द्रकै जनार्दन शर्माले पनि रुकुम पश्चिमबाट काँग्रेसका गोपालजीजङ्ग शाहलाई पराजित गर्दै शर्माले ह्याट्रिक पूरा गर्नुभयो ।  शर्माले १८ हजार ७४३ मतान्तरले जित हासिल गर्नुभयो ।   
नियमित निर्वाचन क्षेत्र सुनसरीबाट सप्तरी आएर निर्वाचनमा भाग लिनुभएका सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि लगातार तीनपटक जित हासिल गर्नुभयो ।  यादवले सप्तरी–२ बाट माओवादी केन्द्रका उमेशकुमार यादवलाई पराजित गरी लगातार तेस्रो जित हासिल गर्नुभयो ।  
यस्तै उदयपुरबाट डा. नारायण खड्का पनि तेस्रोपटक विजयी हुनुभएको छ ।  खड्का एमाले उम्मेदवार मञ्जुकुमारी चौधरीलाई ५४८ मतान्तरले पराजित गर्दै विजयी हुनुभयो ।  २०६४ र २०७० को संविधानसभा सदस्यमा पनि खड्का उदयपुर–१ बाटै निर्वाचित हुनुभएको थियो ।  
यस्तै माओवादी केन्द्रका नेता प्रभु साहले पनि लागातार तेस्रोपटक जित हासिल गर्नुभएको छ ।  साहले रौतहट–३ मा काँग्रेसका सुनीलकुमार यादवलाई पराजित गर्दै लगातार तेस्रो जित हासिल गर्नुभयो ।  साहले नौ हजार ५९३ मतान्तरसहित जित हासिल गर्नुभयो ।  
कास्कीबाट एमाले युवा नेता रवीन्द्र अधिकारीले पनि आफ्नो जितमा ह्याट्रिक पूरा गर्नुभयो ।  अधिकारीले कास्की–२ मा काँंग्रेसका देवराज चालिसेलाई पराजित गर्दै तेस्रो जित निकाल्नुभयो ।  उहाँले आठ हजार ५४६ मतसहित जित निकाल्नुभएको हो ।  
सङ्घीय समाजवादी फोरमबाट काँग्रेस प्रवेश गर्नुभएका अभिषेकप्रताप शाहले पनि जितमा ह्याट्रिक पूरा गर्नुभयो ।  शाहले यसअघि दुई निर्वाचन उपेन्द्र यादव नेतृत्वको दलबाट जित हासिल गर्नुभएको थियो ।  योपटक काँग्रेसका तर्फबाट कपिलवस्तु–३ मा उम्मेदवार रहेका शाहले यादवकै नेतृत्वको दल सङ्घीय समाजवादी फोरमका मङ्गलप्रसाद गुप्तालाई पराजित गर्दै तेस्रो जित हासिल गर्नुभयो ।  
विसं २०५६ मा राप्रपाका सांसद रहनुभएका बृजेशकुमार गुप्ताले पछिल्ला सबै निर्वाचन फरकफरक दलबाट जित्नुभएको छ ।  २०६४ मा सद्भावना, २०७० मा तमलोपा हुँदै गुप्ता योपटक एमालेबाट विजयी हुनुभएको हो ।  गुप्ताले पनि लगातार तेस्रो जित हासिल गर्नुभयो ।  उहाँले कपिलवस्तु–२ बाट काँग्रेस उम्मेदवार सुरेन्द्रराज आचार्यलाई पराजित गरी जितलाई निरन्तरता दिनुभयो ।  
यस्तै सिन्धुपाल्चोक–१ बाट जित निकाल्दै माओवादी केन्द्रका उम्मेदवार अग्नि सापकोटाले लगातारको जितलाई निरन्तरता दिनुभएको हो ।  २०६४ र २०७० मा पनि सापकोटा सिन्धुपाल्चोकबाटै जित हासिल गर्नुभएको थियो ।  बहालवाला सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई १० हजार ७०६ मतान्तरले पराजित गर्दै सापकोटाले जितमा ह्याट्रिक पूरा गर्नुभएको हो ।  
सल्यानबाट माओवादीकै टेकबहादुर बस्नेतले पनि जितमा ह्याट्रिक पूरा गर्नुभयो ।  बस्नेतले काँग्रेस उम्मेदवार राजेन्द्रबहादुर शाहलाई ११ हजार १३० मतान्तरले पराजित गर्दै लगातार तेस्रोपटक जित हासिल गर्नुभयो, गोरखापत्रमा खबर छ  । 

मंसिर २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार