राणाको पार्टी राष्ट्रिय पार्टी बनेन, हारेका कमल थापा आशमा

काठमाडौँ, २६ मङ्सिर- राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का पार्टी अध्यक्ष प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । नेपाली कांग्रेससँगको तालमेलमा निर्वाचनमा होमिएका राप्रपा अध्यक्ष कमल थापा मकवानपुर–१ बाट र राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणा सिन्धुपाल्चोक–२ बाट पराजित भएका हुन् ।

थापालाई एमालेका कृष्णप्रसाद दाहालले पराजित गरे । दाहालको ४०, ६३१ र थापाको ३४,६५८ मत आयो । दाहालले यसअघि ०६४ सालको निर्वाचनमा पनि थापालाई हराएका थिए । त्यस्तै, राणालाई एमालेकै शेरबहादुर तामाङले पराजित गरे । तामाङको ३८,४०१ र राणाको ३०, ३६९ मत आयो । तामाङले राणालाई यसअघि ०६४ र ०७० सालमा भएको संविधानसभा निर्वाचनमा पनि पराजित गरेका थिए ।
राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन झापा–३ बाट वाम गठबन्धनको सहयोगमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै विजय भए । लिङ्देनले जितेसँगै राप्रपाको राष्ट्रिय पार्टी बन्ने सम्भावना जीवितै छ । तर, राप्रपा प्रजातान्त्रिकको भने राष्ट्रिय पार्टी बन्ने सम्भावना समाप्त भएको छ ।

संविधानमा राष्ट्रिय पार्टी बन्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एउटा सिट र समानुपातिकतर्फ तीन सिट अनिवार्य जित्नुपर्ने व्यवस्था छ, नयाँ पत्रिकामा खबर छ  ।

मंसिर २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस