समानुपातिकमा बन्द सूचीका नामहरुलाई तलमाथि गर्न नपाइने

मंसिर २७, २०७४

काठमाडौं, २७ मंसिर — प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दलहरुले समानुपातिक तर्फको बन्द सुचिमा राखेका उम्मेद्धवारका नामहरुलाई नै क्रमशः अनुसार नै राख्नुपर्ने बताएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा प्रमुख आयुक्त यादवले भने,‘दलहरुले आयोगमा बुझाएको बन्द सुचि अनुसार नै क्रमशः पहिलो, दोस्रो र तेस्रोको क्रममा रहेका नामहरुलाई प्राथमिकता दिनुपर्छ, सबैको प्रतिनिधित्व सुनिश्चित गर्नको लागि पनि दलहरुले यसलाई अनिवार्य रुपमा फलो गर्नुपर्छ।’ उनले समानुपातिकमा बन्द सुचिका नामहरुलाई तलमाथि गर्न नपाईने स्पष्ट पारेका छन् ।
उनले समानुपातिकको नतिजा आएपछि कुन दलको कति सिट आउँछ त्यही अनुसार प्रतिशतमा छुट्याउने बताए । उनले भने,‘महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्याउनुपर्छ, यो अनिवार्य शर्त हो।’
यादवले प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भैसकेको र अब दुई दिनभित्रै समानुपातिकतर्फको पनि सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने विश्वास दिलाए । 


ADVERTISEMENT

मंसिर २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस