कविता- कमरेड बाहुनबा !

मंसिर २८, २०७४

शरद पौडल

लामो नाक र ठुल्ठुला आँखा 
तिलचामले लामा लट्टा 
धुवाँले पहेलिएका जुङा र दारी
अनि तिन्लाई स्वाहुने गरि 
निधारमा रातो लेपन
र, जिउमा रातो वस्त्रधारी 
हाम्रा बाहुनबा/कमरेड बाहुनबा । 

नछोऊन् भान्सो कसैले भनेर
अलक्कै चुलो लाउनुहुन्छ
धोतिपाटो फेरेर 
स्वयंपाके बन्नुहुन्छ ।
अरूले पकाएका भाँडा 
अमिलो लाएर माझ्नुहुन्छ 
बल्ल चुलोमा बसाल्नुहुन्छ ।
चोखा अति चोखा 
हाम्रा बाहुनबा/कमरेड बाहुनबा ।

काँधको मैलो जनै समाएर गरिने
लामो जप पछि 
पञ्चायन चल्छ बिहानभरि
निमध्यान चल्छन थरिथरि ।
चिम्म आँखाले
सायद इश्वर खोजिरहन्छ कतै निरन्तर ।
शंख घन्ट र धुवध्वार पछि 
आँखा तेजिला बनेर खुल्छन 
मुहार धप्धपाऊँदो देखिन्छ ।
मुसुमुसु हाँस्छन बल्ल
सन्तोषको मुद्रामा 
हाम्रा बाहुनबा/कमरेड बाहुनबा ।

कन्ठ छ 
गीतासंगै कम्युनिष्ट घोषणापत्र
महाभारत पर्बसंगै अक्टोबर क्रान्ति ।
नाजि राष्ट्रवाद पनि था छ
र थाहा छ माओको क्रान्ति पनि ।
अहँ !कहिँकतै नचुकेका 
कुनै बैरि पार्टीका ढोका नघुसेका 
स्वस्थ्य छविका, स्वच्छ छविका 
हाम्रा बाहुनबा/कमरेड बाहुनबा ।

महिलाहरू, दलित र जनजातिहरू
श्रमजीवी र हुँदा खानेहरू ।
हो, तिन्को पनि दिन फिर्छ भन्नुहुन्छ
तर तिन्ले थान्कामा बस्नपर्छ भन्नुहुन्छ ।

उम्लेको दूध देखाऊदै सम्झाउनु हुन्छ
उम्लनु हुन्न अइमइ, 
उम्लुनु हुन्न दलित 
अहँ उम्लनु हुन्न् गरीपले 
उम्लेसि त पोखिन्छ दूध जस्तै भुईमा ।
सुस्ते सुस्ते हुन्छ
अरामले हुन्छ ।
हुनिबेलामा आँफै भै हाल्छ
जसरी भयो राणा निर्मुल
पंचेति निर्मुल, राजाशाही निरमुल ।
नाथे जातपात र धनी गरिप्
आईमाई र लोउनिमान्छे बीचको 
थोप्लो जत्तिको भेदभाउ 
उसै हटिजान्छ ।

कुरा यसरी नै सुरू हुन्छ संधै 
र अन्त्य पनि यसरीनै 
सल्लाहकार हुनुहुन्छ पार्टीको 
पार्टीलाई संधै बाटो देखाईरहनुहुन्छ
हाम्रा बाहुनबा/कमरेड बाहुनबा ।

मंसिर २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार