सेनाका कर्णेलले नगाएको त्यो गीत, जसले गैरे सुरेशलाई चिनायो

बाह्रबर्ष पहिले २०६२ सालतिर सशस्त्र प्रहरीका इन्सपेक्टर सुरेश गैरे पर्वतमा ड्युटिमा थिए । माओवादी सशस्त्र संघर्ष चलिरहेको थियो, कहिले भिडन्त त कहिले एम्बुसको खतरा । त्यो दिन राजनीतिक झडपका कारण त्यहाँ केहि अप्रिय घटना घटेको थियो । त्यही बेला काठमाडौंबाट डा कृष्णहरि बरालले सुरेशलाई फोन गरे– एउटा गीतमा संगीत भर्नु पर्र्यो । उता तनावमा रहेका सुरेशले बरालसंग लामो कुरा गर्न पनि चाहेनन छोटो कुरा गरेर फोन काटे । ‘यहाँ लफडा चलिरहेको छ । ज्यान रहने हो कि होइन, तपाई संगीतको कुरा गर्नु हुन्छ’ गुरुतुल्य बराललाई यही जवाफ फर्काएर सुरेश आफ्नो ड्युटीमै लागे । 

साँझ पख डा बरालले फेरि सुरेशलाई फोन गरे, तर पुरानो गीतमा संगीत भर्नको लागि होइन । सुरेशसंगको बिहानको संवादबाटै शव्दशिल्पी बरालले दिनभरमा गीत लेखिसकेछन् । तत्कालिक घटनालाई तत्काले शव्दमा उतार्न सिपालु बरालले शव्द सुनाए–‘यहाँ देशको छ चिन्ता तिमी माया मायाँ भन्छौ ।’सुरेशले पनि तत्कालै सहमति जनाए र रातभरमा संगीत एरेन्ज गरे । 

हतारमा रचिएको त्यो गीत जसले गैरे सुरेशलाई आम संगीत स्रोतामाझ थप परिचित गरायो । माया प्रितीका गित नसुन्नेको पनि मनमा झुण्डियो । दीपक लिम्बुले गाएको त्यो बहुचर्तित गीत खासमा नेपाली सेनाका तत्कालिन कर्णेल राम राणालाई गाउन प्रस्ताव गरेका थिए सुरेशले । 

गीतको शव्दको बिचमा रहेका ‘तिमैै्र सुरक्षा गर्न गाह्रो छ यहाँ, आकाशको तारा भन्छौ’ भन्ने शव्द त्यो बेला सुरक्षाकर्मीले गाउन हुने कि नहुने भन्ने बहस भयो । सुरक्षा कमाण्ड समालेका सेनाका अधिकारीले त्यो गीत गाउँन उचित नहुने भनेपछि सुरेशले अन्य केही चर्चित गायकहरुलाइ गाउन अफर गरे । ‘चर्चित गायकहरुले गाउन चर्को पैसा अफर गरेपछि भर्खरै गायन क्षेत्रमा आएका दीपक लिम्बुलाई गाउन लगायौ, जुन गीत सुपरहिट भयो’ सुरेशले दशक पहिलेको घटना स्मरण गरे । 

सेनाका ती कर्णेलले सुरेशको संगीतमा एउटा गीत गाउन रहर गरेपनि त्यो गीत गाउन पाएनन् । पोखराको फुलबारी व्यारेकमा रहेका कर्णेल राणासँग पछि रु गीत गर्ने अरु संयोग मिलेन । ‘गीतको आफ्नो भाग्य हुदो रहेछ, एउटा गीतले मान्छे चिनाउदो रहेछ’ सुरेश भन्छन ।


०००

पाल्पाबाट २०५४ सालमा एसएलसी पास गरेर काठमाडौं आएरका सुरेशलाई संगीत क्षेत्रमा आउछु या सशस्त्रको जागिर खान्छु भन्ने लागेको थिएन, बरु क्याम्पसको लेक्चरर बन्छु जस्तो लागेको थियो । आइए पढ्दै गर्दा देखि नै बोर्डिङ स्कुलमा पढाउथे सुरेशले, साझको समयमा होम ट्युसन पनि  । ललितपुरको बंगलामुखी मन्दिर नजिकै बस्ने सुरेशलाई साथीको कोठामा बज्ने हार्मोनियमले संगीततर्फ आकर्षित गर्यो । त्यो साथी थियो– राजेश थापा । राजेशले सांस्कृतिक संस्थानमा संगीत सिक्ने र घरमा प्राक्टिस गर्ने गर्दथे । त्यही संगतका कारण सुरेशले पनि बरिष्ठ संगीतकार न्यु बज्राचार्यको इन्टिच्युटमा गएर संगीत सिके । 

संगीत सिक्दै गर्दा सुरेशको संगत बरिष्ठ संगीतकार शक्ति बल्लभसंग भयो, छोरालाई ट्युसन पढाउने निहुमा । छोरालाई ट्युसन पढाउने सरको डायरीमा लेखिएको गीत शक्ति बल्लभले देखेपछि सांगीतिक क्षेत्रमा स्थापित हुन चाहेका सुरेशलाई अबसर बन्यो । सुरेशको त्यो गीतलाई शक्ति बल्लभले बालगीत संग्रहमा समावेश गरिदिए । गीतको बोल थियो–

‘रातो रातो रगतले, रंगीएको झण्डा, 
हामीलाई प्यारो छ आफ्नै प्राण भन्दा..’ 

संगीतमा भिज्दै थिए सुरेश, २०६० सालमा भर्खरै स्थापना भएको सशस्त्र प्रहरी बलले नयाँ दरखास्त आह्वान गर्र्यो । सरकारी जागिर खाने धोको पूरा गर्न सुरेश सशस्त्र लगायत विभिन्न संस्थाकोमा दरखास्त हाले र परीक्षा दिए । विभिन्न ठाउमा सुरेशको नाम निस्कियो, नतिजा पहिला आएकोले सुरेशले सशस्त्रमै जागिर खाने मनस्थिती बनाए । अन्यत्र नाम निस्किदा सशस्त्रको कोर्स आधा पूरा भइसकेको थियो । 
सशस्त्रको तालिम चलिरहेको समयमा पनि संगीत प्रतिको मोह टुटेको थिएन, सुरेशमा । तालिम संगै संगीत साधनामा जुटेका सुशेसले सशस्त्रमा जागिर शुरु गरेपछि नै चर्चित गीत जन्मिए । 
...
सशस्त्रमा जागिर शुरु हुनु अगाडि नै सुरेशले सांगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाइसकेका थिए । २०५७ सालमा म्युजिक नेपालले सुरेशको शव्द, संगीत र श्वर रहेको लोक आधुनिक एल्बम निकालेको थियो । त्यो गीत बजारमा चल्यो ।  

‘लाहुरेको जीन्दगी यो खुकुरीको धार, 
पैसाँंग रगत साटे जीत भनु कि हार ?’

विपिन घिमिरे र दीपक ढकालसँग मिलेर निकालेको गीत राम्रो चल्यो । गीत चलेपनि सुरेश आफ्नो श्वरसँग आफै सन्तुष्ट भएनन् । ‘मैले गाएर नहुदो रहेछ, रामकृष्ण ढकाल, आनन्द कार्की, यम बरालको श्वरका अगाडि मेरो केही लाग्दैन भनेर गायन तिर खासै रुची गएन, संगीत मै लागे’ गैरे स्मरण गर्छन् । 

त्यसपछि संगीतमै होमिएका सुरेशले पहिलो औपचारिक एल्बम निकाले–विम्ब । जसमा त्यतिबेला बजारमा चलेका प्रख्यात कलाकारहरुको श्वर थियो । सुरेशको संगीत सबैले मन पराए । 

‘किन हजुर नबोलेको, केही कुरा बिराए की ?’ 
‘सपनीमा मात्र आउने किन हो ?’
‘तिमी मसंग भइदिए जे सुकै सहन्छु म’

जस्ता चर्चित गीतमा योगेश बैददेखि कुन्ती मोक्तान र सत्य स्वरुप जस्ता हस्तिहरुले श्वर दिए । बिम्ब पछि सुरेशका झण्डै डेढ दर्जन एल्बम बजारमा आए । केहि पाइप लाइनमा छन् । 

कृष्णहरि बराल जसले गैरे सुरेशलाई स्थापित गरिदिए

गीतकार डा कृष्णहरि बरालसंगको भेट गैरे सुरेशलाई फलदायि भयो । सांगीतिक क्षेत्रमा मात्र स्थापित गराइदिएनन्, पछि पारिवारिक सम्बन्ध समेत गासिदिए । बरालकी कान्ति छोरीसंग सुरेशको शुभविबाह भयो । 
‘एकफुल अकेन पत्र’ भन्ने संग्रह फेला पारेर बरालसरलाई संगीत गर्छु भनेर फोन गरेको थिए, बराल सरको घरको ३३०४८९ फोन नम्बर कण्ठ थियो’ गैरेले पुराना दिन स्मरण गर्दै भने, ‘उहाँसंग भेट भएपछि त बराल सरले नै मलाइ म्युजिक नेपाल लगेर यो भाईमा सम्भावना छ है भनेर चिनाउनु भयो । यसर्थ पनि मलाइ स्थापित गराउने बराल सर नै हो ।’ 

म्युजिक नेपालबाट उनले बिम्ब एल्बम निकाले, तर त्यति चर्चित नेको एल्बमको रोयल्टि कति पाए होलान ? जम्मा चार हजार ! ‘त्यो एल्मल लाखप्रति बिक्यो भन्ने चर्चा चल्यो, पोखरामा रहेको बानिया थरको मेरो एकजना साथीले मात्र २० हजार चक्का बेचे भनेको थियो’ सुरेश भन्छन, ‘तर रोयल्टि नपाएकोमा धेरै गुनासो पनि छैन । कर्णालीमा दुइ छाक खान नपाउने पनि मेरा श्रोता हुन् । उनीहरुको छाक काटेर रोयल्टि पाइन भनेर मैले गुनासो गर्न मिल्दैन ।’

बिम्ब आएपछि बजारमा सुरेशको माग धेरै भयो, गजलका एल्बम निकाल्ने फेसन नै चल्यो । ‘यसबिचमा यस्तो हाइटमा पुरायो कि आफैलाई व्यालेन्स गर्न गाह्रो भयो’ उनी भन्छन । नेपालमा गजलको विस्तारमा अच्युत घिमिरे र प्रकाश शायमीको ठूलो योगदान रहेको सुरेशको मूल्याङकन छ । 

अच्युत घिमिरेले काठमाडौंको एचबीसी एफएम र प्रकाश शायमीले रेडियो सगरमाथाबाट गजलका कार्यक्रम चलाउने गर्दथे । त्यो बेला कवि गोष्टि जस्तै गजल गोष्टि गर्ने फेसन चलेको थियो । 

दशकको अन्तरमा ट्रेण्ड ब्रेक गर्ने गीत

यहाँ देशको छ चिन्ता भन्ने बहुचर्चित गीत आएको झण्डै एक दशकपछि गैरे सुरेशले उस्तै कालजयी गीतमा संगीत भरे, ‘मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन..’

यो गीत सुरेशले नेपाल प्रहरीका डिआइजी पवन खरेललाई गाउन लगाउने सोचाई बनाएका थिए । महोत्तरी जिल्लामा बस्दा एसपी खरेलले सुरेशको चिनजान भएको थियो । सुरेशसँग एउटा गीत गाउन खरेलले अफर गरेका थिए । ‘खासमा यो गीत उहाँको लागि बनाएको हो, एसपी जस्तो मानिसलाई भद्र खालको गीत दिनु पर्छ भनेर संगीत गरेको थिए, उहाँले रुचाउनु भएको पनि थियो । तर हामी फौजीहरु सरुवा भएपछि उहाँसंग गीत गर्न पाइएन’ केही दिन पहिले लोकान्तरको कार्यालयमा कुराकानीमा सुरेशले त्यो बहुचर्चित गीतको बारे कुरा खोले । 

पछि यो गीत एउटा सिनेमाको लागि बाल  गायक प्रेम परियारले गाए । सिनेमाका लागि भनेर लेखिएको थिएन त्यो गीत, तर त्यो सिनेमाको लागि फिट भयो । ‘८० बर्षको बृद्धको दर्शन बोकेको गीत १२ बर्षको बच्चालाई गाउँन लगाउन कठिन थियो । शुरुमा त्यो बाबु हच्किएको थियो । पछि स्वरुपराजको स्वर सुनेपछि एकै ट्रयाकमा ओके भयो’ मर्ने कसैलाई रहर हुँदैन गीत रेकर्ड गर्दाको अनुभव सुनाए । 

यही गीतका शव्द लेखेर कतिपयले आत्महत्या समेत गरे । ‘एउटा सिनेमाको एउटा मात्र गीत गर्दापनि २० वटा सिनेमाको काम गरेको जस्तो आत्मसन्तुष्टि मिल्यो’ सुरेशले सनाए, ‘तर कसैले यही गीत सुनेर आत्महत्या गरे भनेको सुन्दा खिन्न भएँ ।’ धेरैको भावना छुने गीत नै सफल गीत हो भन्ने सुरेशको बुझाइ छ ।

अहिले सम्म, २ सय ५० देखि ३ सय सम्म गीत÷गजलमा संगीत भरेका सुरेशलाई संगीत नशा बनेर लागेको छ । ‘चुरोट खाने व्यक्तिले जसरी पनि समय निकाल्छ, मेरा लागि संगीतको लागि जुटाउने समय त्यस्तै हो । कुनै घटना भयो भने संगीत फुरि हाल्छ, राती १२ एक बजेसम्म पनि काम गर्छु’ उनी भन्छन, ‘संगीत गर्ने समय फिक्स हुँदैन, कुन बेला दिमागमा आउछ पत्तै हुँदैन ।’

हाल राष्ट्रसंघीय शान्ति मिसनमा रहेका गैरेले अफ्रिकामा रहदा दुइवटा एल्बमको तयारी गरिरहेका छन् । ‘सुरक्षा घेराभित्र निश्चित जिम्मेवारी भएकोले अहिले मलाई समय छ, विश्वभरका संगीतको अध्ययन गरिरहेको छु’ उनले भने, ‘फेरि पनि केही नयाँ गरौ भन्ने छ ।’

कलाअनुरागी जीवन संगीनी

गीत संगीत संगै बराल परिवारसँग सुरेशको सम्बन्ध घनिष्ट बन्यो । ‘मेरो पनि बिहे गर्ने उमेर भएको, बराल सरको कान्छी छोरीको पनि बिहे गर्ने उमेर भएको । मैले प्रस्ताव गरे, यदी हजुरलाई म योग्य लाग्छु भने छोरी दिनुस’ बिवाहबारे सोधिएको सवालमा सुरेशले हास्दै भने, ‘मन नपरेको पनि होइन् तर अहिलेका ठिटा ठिटीले जस्तै माया (लभ) गर्दै हिडेको पनि होइन, बरालसरसँगको अनुमति र राजीखुसीमै बिबाह भयो ।’

सुरेश पत्नी बरालपनि बाबुको बिडो थाम्ने लाइनमा छिन् । अग्रेजी साहित्यमा एमए गरेकी स्वीकृति बराल सुशेरको संगीतमा नारी भन्ने एल्बन निकाल्दै छिन् । ‘मेरो गीतको फष्ट लिसनर्र मेरो श्रीमति र भाइ हो, दुवैबाट बरोबर फिडव्याक पाउछु’ उनले भने, ‘बुबा आमा चाहिँ गाउँमा हुनुहुन्छ संगीत बारे त्यति धेरै बुझ्नु हुन्न ।’

कयौ गीत सफल भएपनि सुरेशलाई मन परेका कतिपय गीत भने हुनुपर्ने चर्चा भएन जस्तो लाग्छ । माधव ढकालको ‘एकमाुठी मात्र छ आश..’  तथा डा ऋषि बास्तकोटीको ‘हरजित राम्रो लाग्छ मन परेपछि ...’ जस्ता गीत पर्याप्त चर्चा पाउन नसकेको उनको ठहर छ । ‘मैले अघि पनि भने नि गीतको पनि भाग्य हुँदो रहेछ’ सुरेशले भने । 

भविष्यको योजना वारेको सवालमा सुरेश अझै २÷४ बर्ष आफूलाई अपडेट गर्नुपर्ने बताउछन् । ‘फेरि नयाँ टेण्डको काम गर्ने इच्छा छ । मलाई थाहा छ, सधैभरी टाकुरामा बस्न सकिदैन, झर्छु र फेरि चढ्छु भन्ने आत्मविश्वास छ’ उनी भन्छन् । 

नामको अगाडि थर, अन्तराष्ट्रिय प्रचलन 

त्यो बेला टाइलट राख्ने चलन खुबै थियो । अझ साहित्य संगीतमा लाग्नेले त नामको पछाडि उपनाम राख्ने चलन थियो । सुरेश नाम गरेका संगीतकारहरु अरुपनि थिए, सुरेश अधिकारी, सुरेश कुमार, सुरेश प्राञ्जली लगायत । ‘सुरेश मात्र लेखेको भए म आझेलमा पर्ने थिए, गैर त ेरो बिडो हो, म रमेश हुन सक्थे । घिमिरे हुन सक्दिनथे । त्यसैले नामको अगाडि थर लेखे’ सुरेश भन्छन, ‘अहिले त अन्तराष्ट्रिय प्रचलन पनि नामको अगाडि थर लेख्ने रहेछ ।’

बालकृष्ण समले भनेजस्तै जीन्दगी नियमित आकस्मिकता हो भन्ने उनलाई लाग्छ । ‘कहिले टुडिखेलमा मम्फुली बेच्ने दिदीले मेरो गीत गुनगुनाइरहेकको सुन्छु, कहिले बसमा हिडदा गीत बजेको सुनिन्छ’ यही कुराले संगीतमा आत्मसन्तुष्टि मिलेको छ । 
 

पुस ३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस