अमेरिका र चीनबीच युद्ध होला ?

पुस ५, २०७४

काठमाडौं, ५ पुस — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सोमवार नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्ने क्रममा चीन र रुसलाई प्रतिद्वन्द्वीका रूपमा प्रस्तुत गरेर उनीहरूले तेर्स्याएको जोखिमका बारेमा चर्चा गरेका छन् । अमेरिकी शक्तिलाई चीन, रुस तथा अन्य देशहरूले चुनौती दिइरहेको राष्ट्रिय सुरक्षा नीति दस्तावेजले उल्लेख गरेको छ ।

हुन पनि अहिले विश्व राजनीतिमा चीनको उदय अनि अमेरिकाको तुलनात्मक पतन भइरहेको स्थिति छ । उदाउँदो शक्ति चीनले अस्ताउँदो अमेरिकालाई अब केही वर्षपछि नै दोस्रो स्थानमा धकेल्ने अनुमानहरू भइरहेका छन् । यसले ल्याउने द्वन्द्वका सम्बन्धमा धेरै पुस्तक प्रकाशित भएका छन् तर तीमध्ये सबभन्दा महत्त्वपूर्ण पुस्तक ग्राहम एलिसनको ‘डिस्टाइन्ड फर वार ः क्यान अमेरिका एन्ड चाइना इस्केप थ्युसिडाइड्ज ट्य्राप ?’ हो । 

अन्तर्राष्ट्रिय राजनीतिमा विशेषज्ञता हासिल गरेका ग्राहम टिलेट एलिसनले प्राचीन ग्रिसेली इतिहासकार थ्युसिडाइड्सको विचारलाई चीन र अमेरिकाबीचको संघर्षका आलोकमा अवलोकन गरेका छन् । हिस्ट्री अफ द पेलिपोनेसियन वारका लेखक थ्युसिडाइड्सले तत्कालीन राज्यहरू स्पार्टा र एथेन्सबीचको युद्धलाई आफैंले भोगेका थिए । उनका अनुसार, स्पार्टा एक स्थापित शक्ति थियो भने एथेन्स चाहिँ उदाउँदो शक्ति थियो । एथेन्सको उदयले स्पार्टालाई असहज बनायो अनि ‘स्पार्टामा एथेन्सप्रतिको डरले गर्दा उनीहरूबीचको युद्ध अवश्यम्भावी भयो’ । 

उदाउँदो र स्थापित शक्तिबीचको यही संघर्षलाई एलिसनले ‘थ्युसिडाइड्सको धराप’ नाम दिएका छन् अनि विगत ५०० वर्षको इतिहासमा १६ वटा यस्ता संघर्षको उदाहरण उनले पुस्तकमा पेश गरेका छन् । ती १६ मध्ये १२ वटा संघर्ष युद्धमा परिणत भए । 

पुस्तकमा १६ वटै संघर्षको विश्लेषण गरिएको छ र बढी जोड चाहिँ अमेरिका र उदाउँदो चीनबीचको संघर्षलाई दिइएको छ । एलिसनले चीन र अमेरिका ‘युद्धको बाटोमा हिँडेको र युद्ध हुन नदिन भरमग्दुर प्रयत्न गर्नुपर्ने’ कुरालाई पुस्तकको प्रमुख विषय बनाएका छन् । 

चीनको सभ्यता पाँच हजार वर्ष पुरानो हो र ऊ सभ्यताको त्यही पुरानो उचाइँमा पुग्ने प्रयत्न गरिरहेको छ । आफूलाई संसारको केन्द्र भाग (मिडल किङ्डम) मान्ने गरेको चीनले साम्राज्यवादी आक्रमणका कारण बेहोर्नुपरेको बेइज्जतीलाई दोहोरिन नदिनका लागि शक्ति आर्जन गरिरहेको छ । 

दोस्रो विश्वयुद्धपछि शक्तिशाली भएको अनि सोभियत संघको पतनपछि संसारमा एकध्रुवीय शासन चलाएको अमेरिकाले चीन दुई दशकको अवधिमा अल्पविकसित राष्ट्रबाट संसारकै दोस्रो अर्थतन्त्र बन्न पुगेको देख्नुपरेको छ । तर अमेरिकाले उदाउँदो चीनलाई कसरी ‘डील’ गर्ने थाहा नपाएको र अमेरिकासँग गतिलो रणनीति नै नभएको एलिसनको गुनासो छ । 

एलिसनले चीनको तीव्र विकासका बारेमा पुस्तकमा विस्तृत वर्णन गरेका छन् । राष्ट्रपति सी चिनफिङले सबै शक्ति आफूमा केन्द्रित गरेकोमा एलिसन अत्यधिक प्रभावित देखिन्छन् । सीले त्यसरी शक्ति केन्द्रित गर्नुका पछाडि चिनियाँ कम्युनिस्ट पार्टी सोभियत कम्युनिस्टको नियत भोग्न बाध्य नहोस् भनेर हो । कम्युनिस्ट पार्टीमा विभिन्न शक्तिकेन्द्रको उदय भएमा शासन चलाउन गाह्रो हुने बुझेर सीले प्रशासन तथा सेनामा पार्टीको नियन्त्रण कठोर पारेका हुन् । 

यसरी घरमा शक्तिशाली भएको चीन यसअघि नै विश्वव्यापीकरणको फाइदा उठाएर व्यापारमार्फत विदेशमा पनि शक्ति आर्जन गर्न सफल रहेको छ । चिनियाँ सामानले विश्व बजारमा पहुँच बढाउँदै गएपछि चीनको आर्थिक सूचकांकमा वृद्धि हुँदै गएकाले चीन अब सुरक्षा संयन्त्र अभिवृद्धिमा लागेको छ । 

चीनले सुरक्षा बजेट बढाइरहेको छ र जलसेनालाई मजबूत बनाउने उसको उद्देश्य हो । अमेरिकाको ओबामा प्रशासनले सुरक्षा बजेट घटाएकोमा ट्रम्प प्रशासनले चीन (र रुस) लाई विचार गरेर सुरक्षा बजेट बढाउने भएको छ । जलसेनाको शक्तिप्रदर्शनले पनि चीन र अमेरिकाबीचको संघर्ष चर्काउन सक्ने देखिन्छ । विशेषगरी दक्षिण चीन सागर र पूर्वी चीन सागरमा चीन र अमेरिकाबीचको संघर्ष हुने देखिन्छ । त्यसबाहेक एसियामा अनि प्रशान्त महासागरमा आफूअतिरिक्त कुनै पनि शक्तिले नियन्त्रण नगरोस् भन्ने अमेरिकाको चाहनालाई चीनले चुनौती दिएकाले द्वन्द्वको स्थिति आउन सक्छ ।

आफ्नो कार्यकालको शुरुवातमा ट्रम्पले चीनलाई चिढ्याउँदै ताइवानी राष्ट्रपतिको फोन कल लिएका थिए । निर्वाचन अभियानका बेलामा चीनविरुद्ध विषवमन गरेका ट्रम्पले सरकार चलाउँदै गएपछि बिस्तारै चीनप्रतिको नकारात्मक धारणा घटाउँदै लगे । तर अमेरिकाका युद्धप्रिय रणनीतिकारहरूले चीनलाई घेर्नका लागि एसिया र प्रशान्त क्षेत्रका विभिन्न स्थानमा सेना तथा युद्धपोतहरू तैनाथ गरेका छन् । चीनसँगको आणविक युद्धलाई पनि इन्कार गर्न सकिने स्थिति छैन । 

गत मार्च महिनामा अमेरिकी जलसेनाले दक्षिण चीन सागरमा पाँचवटा युद्धपोत र विमानवाहक जहाजहरू तैनाथ गरेको थियो । अनि प्रशान्त महासागरमा रहेको गुआममा उसले आणविक क्षमतायुक्त बम्बर विमानहरू तैनाथ गरेको छ । दक्षिण कोरिया र अस्ट्रेलिया समेतमा गरी अमेरिकाले प्रशान्त क्षेत्रमा अनेकौं हातहतियार तैनाथ गरेको छ । 

जोन पिल्गरले चीन र अमेरिकाबीच सम्भावित युद्धका विषयमा ‘द कमिङ वार’ नामक एक वृत्तचित्र नै बनाएका छन् । 

उक्त वृत्तचित्रमा अमेरिकाका युद्ध रणनीतिकार एन्ड्रु क्रेपिनेविचले चीनको उत्तेजक गतिविधिविरुद्ध अमेरिकाले कदम चाल्दै हातहतियार तैनाथ गरेको बताए । चीनले एसिया तथा प्रशान्त क्षेत्रमा उत्तेजक गतिविधि गरेकाले उसलाई हवाई आक्रमण तथा सामुद्रिक नाकाबन्दीमार्फत सजाय दिइने उनको भनाइ छ । 

अनि चीनलाई घेर्नका लागि भारत, जापान र अस्ट्रेलियासँग मिलेर ‘क्वाड्रिल्याटरल’  रणनीति पनि अमेरिकाले बनाइरहेको छ । चीनले एक पेटी एक सडकमार्फत एसिया, युरोप र अफ्रिकाका देशलाई आफ्नो सञ्जालमा ल्याउन खोज्दै गर्दा अमेरिकाले त्यसको प्रतिक्रियास्वरूप चीन घेर्ने अर्थात् ‘इन्सर्कलिङ चाइना’ रणनीति ल्याएको हो । नेपाललाई पनि त्यसको अंग बनाउने अमेरिकाको रणनीति भएकाले हालै उसले नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेसन नामक निकायमार्फत ५२ अर्ब रुपैयाँको आर्थिक सहायता गरेको छ । 

यस्ता उत्तेजक गतिविधिका बाबजुद दुई देशबीच युद्ध होला नै भनेर ठोकुवा गर्न सकिन्न तर त्यसको सम्भावनालाई पनि नकार्न सकिने स्थिति छैन । रणनीतिक अविश्वासले दुई देशबीचको सम्बन्धलाई थप जटिल बनाउँछ तर दुवैले विश्वासको वातावरण निर्माणमा ढिलाइ गर्नुहुँदैन भन्ने ग्राहम टी एलिसनको आशय हो । 

एलिसनले पुस्तकमा चीन र अमेरिकाबीचको द्वन्द्व विस्फोट हुन नदिनका लागि चारवटा उपाय प्रस्तुत गरेका छन् : महत्त्वपूर्ण स्वार्थहरू प्रस्ट पार्ने, एकअर्काको लक्ष्यलाई बुझ्ने, उपयुक्त रणनीति अवलम्बन गर्ने र राष्ट्रिय चुनौतीलाई सम्बोधन गर्ने । यसमा विशेषगरी अमेरिकी रणनीतिकारहरू चनाखो हुनुपर्ने एलिसनको धारणा छ । 
 

एजेन्सीहरूको सहयोगमा 
 

पुस ५, २०७४ मा प्रकाशित

विन्देश दहाल

विन्देश दहाल लोकान्तर डट् कममा अन्तर्राष्ट्रिय राजनीतिबारे लेख्छन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस