जसले महेन्द्रको शालिकमा कालो पोते, पछि कसरी दरवारको प्रिय पात्र बने ?

पुस ६, २०७४

जनकपुरधाम ६ पुस– विक्रम संवत १९८३ साल गुरु पुर्णिमाको दिन धनुषाको हंसपुर कठपुल्ला ८ स्थित पल्टन सिंह तथा लवकी देवीले आफ्नो सन्तानको रुपमा मकेश्वर प्रसाद सिंह जन्म दिएका थिए । पार्टी पौवामा सामान्य लेखपढ गर्न जानेका मकेश्वर १८ वर्र्षको उमेरमा गाउँबाट सदरमुकाम जनकपुर आएका थिए । जनकपुरको रेल्वे स्टेशन एरियामा उनको पहिले देखि नै घर थियो । त्यही उनी बसोवास गर्न थाले । 

जनकपुर आईसकेपछि उनको संगत नेपाली कांग्रेसका नेता महेन्द्र नारायण निधिसँग भयो । २००८ साल तिर महेन्द्रनारायण निधिकै सँगतमा परेपछि उनी पनि कांग्रेसको सदस्यता प्राप्त गरेर राजनीति गर्न थाले ।  निधिकै कारण कांग्रेसका संस्थापक नेताहरु सुवर्ण शम्शेर राणा, कृष्ण प्रसाद भट्टराईसँग चिनजान उनको भएको थियो । कांग्रेसमा उनको सक्रियता वढ्दै गएपछि २०१६ सालमा तत्कालिन धनुषा महोत्तरी र सर्लाही सम्मिलित जिल्लाको जिल्ला स्तरीय कोषाध्यक्ष बनाइएका थिए । किनभने उनी सुवर्ण शम्शेरको लविमा थिए । हुन त उनी पञ्चायती व्यवस्था विरुद्ध कांग्रेसले गरेको आन्दोलनमा लागेर पटक पटक जेल परेका थिए । 


ADVERTISEMENT

२०१७ सालमा संसद र संसदीय व्यवस्था विघटन भएपछि कांग्रेसका नेताहरु जेल परिरहेको बेला उनी पनि निर्वासित हुनु परेको थियो । २०१७ साल पुष १ मा संसद र संसदीय व्यवस्था विघटन भएपछि कांग्रेसका नेताहरु जेल परेपछि त्यसको तेस्रो दिन उनी भारत निर्वासित हुनुपरेको थियो । 

२०१८ साल कार्तिक २६ गते महेन्द्रनारायण निधिको नेतृत्वमा कार्तिक २६ गते भएको सत्याग्रहमा स्वदेश फिर्ता भएपछि करिब २ वर्र्ष भन्दा वढीको समय जति जलेश्वर कारागारमा बन्दीको रुपमा जीवन विताउनु परेको थियो । त्यो बेला महेन्द्र नारायण निधि, जिल्ला सचिव बलराम नायक, नागेश्वर झा, रामचन्द्र मिश्र लगायत ९ जना मानिसहरु पक्राउ परेका थिए । 

राजा वीरेन्द्रले भने, ‘म विवश छु । पारिवारिक कारणले । मेरो परिवारको अधिकांश सदस्यले सूर्य बहादुर थापालाई असाध्यै मन पराउँछन् । तत्काल म केही गर्न सक्दिनँ । तिमि केही पनि नगर, चुप लागेर बस ।’ 

कांग्रेसका तत्कालिन कार्यबाहक सभापति सुवर्ण शम्शेरको बिचारले २०२१ सालमा जनकपुर नगरपालिका वार्ड नं. १ को निर्विरोध वार्ड सदस्यका रुपमा चुनिएका थिए । २०२१ मंसिर १९ गते जनकपुरको वार्ड नं. १ बाट उनी निर्वाचित भएका थिए । २०२३ सालमा जनकपुर विकास समितिको सचिव भएर जनकपुरको विकासका कार्यहरुमा योगदान पुर्याएका थिए ।

पञ्चायती व्यवस्थाको विरोध गरिरहेको अवस्थामा मकेश्वर बाबु पनि २०२६ साल फागुन ७ गते जानकी मन्दिरको प्राङ्गणमा रहेको राजा महेन्द्रको प्रतिमामा कालो पोत्ने कार्य गरेका थिए । परिणाम स्वरुप उनलाई पक्राउ गरी कारागार पठाइएको थियो । उनीसँगै सरोज प्रसाद कोइराला र महेन्द्रनारायण निधि पनि पक्राउ परेका थिए । राजकाज ऐन र सुरक्षा ऐनका आधारमा पक्राउ गरिएको थियो । करिब ९ महिना पछि उनी जेलबाट निस्किएका थिए ।

पञ्चायतका कट्टर विरोधी यसरी भए पञ्चायतका कट्टर समर्थक

पञ्चायती व्यवस्थाको विरोध गरिरहेका मकेश्वरबाबुको जिन्दगीमा के त्यस्तो भयो र उनी पछि गएर त्यही राजा महेन्द्र र उनले लागु गरेको पञ्चायती व्यवस्थाका कट्टर समर्थक बने भन्ने प्रश्न अहिले पनि आम जनमा अनुत्तरीत रहेको पाईन्छ । भद्रगोल जेलमा रहेका बेला उनको स्वास्थ्य अवस्था विग्रदै गएको थियो । 

राजा महेन्द्रका विशेष दुतको रुपमा विष्णुमणि आचार्यलाई जेलमा पठाइएको थियो । विशेष दुत आचार्यसँग मकेश्वर बाबुको पहिले देखि नै चिनजान थियो । विष्णुमणि आचार्यको जनकपुरको रंगभूमि मैदान बारहविघाको सामुन्ने घर छ । त्यसकारण उनको चिनजान थियो । अर्को तर्फ आचार्य राजा महेन्द्रका अत्यन्त नजदिक मानिने विश्वास पात्र मध्ये एक थिए । जेलमा गएर आचार्यले मकेश्वर बाबुलाई के भन्यो भने तपाई स्वास्थ्य स्थितिबाट अत्यन्त लाचार भईसक्नुभएको छ, तपाई विदेशमा गएर आफ्नो इलाज गराउनुस, सम्पुर्ण खर्च दरबारले बेहोर्छ तर सर्त एउटा मात्र के छ भने तपाई पञ्चायती व्यवस्थाको विरोध गर्नुको साटो त्यसको समर्थन गरी पञ्चायतमा आउनुस ।

जेलबाट मुक्त भएपछि मकेश्वर बाबु उपचार गर्नका लागि भारतको कलकत्ता पुगे । त्यही कांग्रेसका कार्यबाहक सभापति सुवर्ण शम्शेरलाई भेट गरी राजा महेन्द्रले आफ्ना दूत आचार्य मार्फत दिएको प्रस्ताव बारे बृतान्त सुनाए । मकेश्वर बाबुका नाती रितेश सिंहका अनुसार सुवर्ण शम्शेरले मकेश्वर बाबुलाई ग्रिन सिग्नल दिए । 

सुवर्ण शम्शेरले मकेश्वरबाबुलाई भने, ‘अब हाम्रो रणनीति नै भनेको के हो भने हाम्रो मान्छेहरु पनि पञ्चायतमा घुसपैठ गर्नुपर्दछ । हाम्रो मान्छे पञ्चायतमा गयो भने त्यहाँ भित्रका कुराहरु पनि हामी कहाँ सूचना प्राप्त हुन सक्छन् । फेरि तपाई जस्तो मान्छे पञ्चायतमा गएर पनि प्रजातन्त्रलाई नै बल पुग्छ । त्यसकारण तपाई पञ्चायतमा छिर्नुस ।’ त्यसपछि उनी पञ्चायतमा प्रवेश गरेका थिए ।

 २०२७ सालमा उनी जिल्ला पञ्चायतको सदस्यका रुपमा चुनिएका थिए । त्यसपछि २०२९ सालको विद्यार्थी आन्दोलनमा पुनः तेस्रो पटक गिरफ्तार भई सिन्धुली जेलमा ७ महिना जति बन्दी जीवन विताई रिहा भएका थिए । २०३२ सालमा जानकी मन्दिर जिर्णाेद्धार समितिका सदस्य भई जानकी मन्दिरको भौतिक विकासका लागि योगदान पुर्याएका थिए । 

२०३५ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा उनी निर्वाचित भई २०३६ सालमा स्व किर्तीनिधि विष्टको सरकारमा उनलाई सम्भार तथा पर्यटन सहायक मन्त्रि बनाइएको थियो । उक्त सरकारको समयमा सिंहदरबारमा आगो लागेपछि नैतिकताको आधारमा विष्ट सरकारले राजीनामा दिएको थियो । 

त्यसकारण ४५ दिन मात्र उनी सहायक मन्त्रीको रुपमा रहेका थिए । तर त्यो ४५ दिनको अवधिमै उनले जनकपुरलाई पर्यटकिय स्थलको रुपमा विकास गर्नका लागि पहिलो पटक पर्यटन कार्यालय पनि जनकपुरमा स्थापित गराएका थिए ।

प्रधानमन्त्री सुर्यबहादुर थापासँगको टकराव

 २०३७ सालमा पञ्चायत व्यवस्थालाई नै जनमत संग्रहमा जिताइएपछि सुर्यबहादुर थापाको नेतृत्वमा बनेको सरकारमा मकेश्वर बाबुलाई फेरि बन तथा भुसंरक्षण मन्त्री बनाइएको थियो । त्यो बेला एउटा रोचक घटना भयो र मकेश्वरबाबु र तत्कालिन प्रधानमन्त्री थापाका बीचमा ठुलो टकरावको स्थिति उत्पन्न भयो । त्यो बेलामा एउटा गोल्छा काण्ड भएको थियो । त्यो के भने हुलास चन्द गोल्छाले भारतका एक जना ठेकेदारसँग खैर आपुर्ति गर्ने सम्झौता गरेका थिए । 

मेची, कोशी, सगरमाथा र जनकपुर गरी ४ अञ्चलको जंगलका खरीको बोट काटेर आपुर्ति गर्ने कामका लागि ठेक्का लिएका थिए, गोल्छाले । बन तथा भुसंरक्षण मन्त्रीका रुपमा रहेका मकेश्वर बाबुलाई कन्भिन्स गर्नका निम्ति गोल्छा मकेश्वर बाबुको मन्त्रालय स्थित क्वार्टरमा पुगेका थिए । 
१५ लाख रुपैयाँ व्रिफकेशमा लिएरै मकेश्वर बाबुलाई गोल्छाले प्रभावमा लिन खोज्दा मकेश्वर बाबुले त्यो अफर स्वीकार गरेनन् । बरु गार्डलाई लगाएर गोल्छालाई घाँटी समातेर बाहिर निकाल्न लगाए, मकेश्वर बाबुले । गोल्छालाई ठुलो अपमान बोध भयो र जाँदाजाँदै गोल्छाले तपाईको मन्त्री पद नै म खाईदिन्छु, तपाईको सव स्वाभिमान म सिद्धियाईदिन्छु भन्दै चेतावनी दिएर गोल्छा बाहिरिएका थिए । 

त्यो घटनाको ४÷५ दिन पछि गोल्छाले आफ्ना मान्छेलाई मेचीको जंगलमा पठाएर खैरको रुख कटानी गराउन सुरु गरे । मन्त्री मकेश्वर बाबुलाई पनि त्यो कुराको सूचना गयो । सूचना पुग्ने वितिकै तत्कालिन बन अधिकृतलाई टेलिफोन गरी के निर्देशन दिए भने प्रहरी प्रशासनको मद्दत लिई त्यो कटानी रोक्न लगाई कटानीमा संलग्न व्यक्तिहरुलाई गिरफ्तार गर्नुस् । तर, बन मन्त्रीको निर्देशनलाई डिएफओले ठाडै के भनेर अस्विकार गरिदिए भने रुख कटानीको लागि प्रधानमन्त्रीको कार्यालयबाट परिपत्र गरिएको छ । 

प्रधानमन्त्री सुर्यबहादुर थापाले रुख कटानीको लागि आदेश दिएको थियो । मकेश्वर बाबुले त्यो कुराको बारेमा छानविन गर्दा सुर्यबहादुर थापाले २५ लाख रुपैयाँ गोल्छाबाट लिएर आदेश गरेको बुझियो । आवेशमा आएर मकेश्वरले साँझको समयमा राजा वीरेन्द्र्रसँग अपरझट दर्शन भेटको माग गरे । 

दर्शन भेटमा मकेश्वर बाबुले राजा वीरेन्द्र्रलाई के भने भने, अहिले कटान भईरहेको रुख सानै छ, २ हजारको दरले अहिले एउटा रुख विक्री भईरहेको छ केही वर्र्षमै त्यो रुख ५० हजार रुपैयाँमा पनि बेच्न सकिन्थ्यो । तर, त्यसो नगरी प्रधानमन्त्री सुर्य बहादुर थापाले गोल्छाबाट २५ लाख रुपैयाँ लिएर रुख कटानी गर्न आदेश दिए । 

जवाफमा राजा वीरेन्द्र्रले के भने भने, ‘म विवश छु । पारिवारिक कारणले । मेरो परिवारको अधिकांश सदस्यले सुर्य बहादुर थापालाई असाध्यै मन पराउँछन् । तत्काल म केही गर्न सक्दिनँ । तिमि केही पनि नगर, चुप लागेर बस ।’ 

फेरि जवाफमा मकेश्वर बाबुले राजा वीरेन्द्र्रलाई यसो भने,  ‘सरकार म मन्त्री पदमा रहेर पनि मैले दिएको आदेश डिएफओले मान्दैन भने नैतिकताको आधारमा पनि म अब मन्त्री पदमा बसिरहन सुहाउँदैन । भोलि म आफ्नो राजीनामा हजुरकहाँ पठाईदिन्छु, हजुरले स्वीकृत गरिबक्सियोस् ।’

राजा वीरेन्द्र्रले भने, प्रधानमन्त्रीमार्फत राजीनामा आउनुपर्छ, तिमिले प्रोटोकल तोड्नु भएन । यस्तो सोझो मान्छे पनि रिसाउँछन् त ? न भन्दै भोलि पल्ट मकेश्वर बाबुले दरबारमा राजा कहाँ राजीनामा पठाए । अनि दरबारले राजीनामाको कारण सहित स्पष्टिकरण माग्यो । 

सरकारी काम काजमा प्रधानमन्त्रीको दख्खल अन्दाजी भएकोले मन्त्री पदमा रहिरहन नैतिकताले नसुहाएको मकेश्वर बाबुले जवाफ दिए । तर, दरबारले राजीनामा स्वीकार गरेन । राजीनामा फिर्ता भयो । राजा वीरेन्द्र्रले फेरि मकेश्वर बाबुलाई बोलाएर तिमि राजीनामा नगर, क्षेत्री क्षेत्री बीच किन लडाई गरेको भन्दै सम्झाए ।
 राजीनामा गर्नु नै छ भने प्रधानमन्त्रीको कारण नदेखाई भाषालाई परिवर्तन गरी स्वास्थ्यको कारण देखाउँदै राजीनामा गर भनेर राजा वीरेन्द्र्रले आदेश दिए । यदि त्यसो गरेनौं भने पञ्चायत विरोधीहरुले खेल्ने ठुलो अवसर पाउनेछन् । राजाको आदेश पश्चात मकेश्वर बाबुले राजीनामा पत्रमा भाषालाई परिमार्जन गर्दै स्वास्थ्यको अवस्था देखाई राजीनामा पठाए । 

राजा वीरेन्द्र्रले त्यसपछि उक्त राजीनामा स्वीकृत गरेका थिए । मकेश्वर बाबुले राजा वीरेन्द्र्रको सम्मानका लागि त्यसो गरेका थिए ।

राजीनामा गरेको २ दिन पछि राजा वीरेन्द्र्रले मकेश्वर बाबुलाई खाना खानका लागि दरबार बोलाए । तिमि जस्तो इमान्दार मान्छेलाई मैले यस घटना क्रममा साथ दिन सकिन, तर यसको क्षतिपुर्ति तिमिले भविष्यमा मबाट पाउने छौ भन्दै सुनाए । 

अहिले तिमि काठमाडौंको घरमै बसेर आराम गर । जवाफमा मकेश्वर बाबुले भने, ‘सरकार, म यहाँ काठमाण्डौमा भाडामा किन बस्नु, मेरो घर आफ्नो छैन, बरु जनकपुरमै गएर आफ्नो घरमा आराम गर्छु भने ।’ त्यो कुरा सुन्ने वितिकै राजा वीरेन्द्र्र आश्चर्य चकित हुँदै तिम्रो काठमाण्डौमा घर पनि छैन ? भनेर सोधेका थिए । पछि हाँस्दै राजा वीरेन्द्र्रले ल त्यसो भए तिमि जनकपुरमै गएर आराम गर ।

दुई वर्र्ष पछि जनताले मत हाल्ने गरी २०३८ सालमा आम चुनावको घोषणा भयो । उक्त निर्वाचनमा मकेश्वर सिंहलाई कुनै पनि हालतमा जित्न नदेऊ, उसको राजनीति नै समाप्त पार्नुपर्छ, उसले मलाई राजाको अगाडीमा नङ्गयाएको छ, भन्दै प्रधानमन्त्री सुर्य बहादुर थापाले खुन्खार एसपी रणबहादुर चन्दलाई जनकपुर पठाए । 

चुनाव हुनुभन्दा अघिसम्म मकेश्वर बाबु र हेमबहादुर मल्लको जित सुनिश्चित थियो । तर, एसपी रणबहादुर चन्दले मकेश्वर बाबुलाई पराजित गराई हेम बहादुर मल्ल र देवनारायण यादवलाई जिताए । त्यो कुराको पुष्टि पछि गएर कसरी भयो भने जितिसकेपछि हेम बहादुर मल्लले धनुष सागरलाई काठमाण्डौको रानी पोखरी झैं बनाउने भनेर जिर्णोद्धार गर्न लाग्दा धनुष सागरको पानी सुकाइएको थियो । पानी सुकाउने क्रममा धनुषसागरबाट मतदानको बेलामा प्रयोग गरिएका मत पेटिका सहितको बाकसहरु फेला परेको थियो । 

उक्त चुनावको परिणाम पछि मकेश्वर बाबु समाजसेवामा सक्रिय भए । १५ दिन पछि राजा वीरेन्द्र्रले मकेश्वर बाबुलाई दरबार बोलाए । भेटघाटमा वीरेन्द्रले भने, ‘मलाई थाहा छ, तिमिले हारेको होइन, सूर्यबहादुरले तिमिलाई हराएको हो । तिमि चिन्ता नगर, १ सय २७ जना सदस्य चुन्ने क्रममा १४ वटै अञ्चलबाट २८ जना मनोनित गर्ने मेरो अधिकार छ । तिमि भोलि विहानको ७ बजेको रेडियो नेपालबाट समाचार सुन्नु । तिमि अहिले घर जाउ ।’

मकेश्वर बाबु काठमाण्डौमा घरमा फर्किएर भोलि पल्ट समाचार सुन्दा उनी पनि मनोनित भएको समाचार प्रकाशित भयो । राष्ट्रिय पञ्चायतको सदस्यका लागि भएको निर्वाचनमा उनी पराजित भएपनि राजा वीरेन्द्र्रले उनलाई मनोनयन गरेका थिए । राजनीति क्रम अगाडी वढ्दै गयो । राजा वीरेन्द्र्रले राज्य सभा(राजाको सल्लाहकार सभा) पुनर्गठन गर्दा मकेश्वर बाबुलाई आजिवन सदस्यमा मनोनयन गरेका थिए । 

पञ्चायत सदस्य र राज्य सभा सदस्यको सपथ ग्रहण गरेको ६ महिना पछि मकेश्वर बाबुको स्वास्थ्यमा खरावी देखियो । उनलाई मुटुमा समस्या देखा पर्यो । जेलमा हुँदा प्रोस्टेट ग्लेन्डमा पहिले देखि नै समस्या थियो । 

काठमाडांैको शिक्षण अस्पतालमा उनी भर्ना भए । राजा वीरेन्द्र्रले दरबारका सचिवलाई जिज्ञासा गर्न अस्पताल पठाएर एउटा सन्देश के पठाए भने विदेश गएर इलाज गराउ । राजाले दरबारको उक्त सचिव मार्फत थाईल्याण्डमा उपचार गराउन सन्देश पठाएका थिए । जवाफमा मकेश्वरले ‘मसँग रुपैयाँ छैन, यहाँबाट डिस्चार्ज भएर जनकपुर जान्छु । गाउँको सम्पति बेचेर दिल्लीमा गई उपचार गराउँछु’ भनेर मकेश्वर बाबुले सचिवलाई सुनाए । सचिवले सोही कुरा राजा वीरेन्द्रलाई गएर सुनाए । 

त्यसपछि फेरि सोही सचिव अस्पतालमा आई के भने भने ‘तपाईको थाईल्याण्डमा अहिले सम्पुर्ण उपचार गराईन्छ र त्यसपछि तपाईको मोतियाविन्दुको पनि रिपोर्टमा समस्या देखिएकोले आँखाको उपचार गर्नको लागि थाईल्याण्डबाटै जापान पठाइने छ । त्यो सम्पुर्ण उपचारको खर्च राजाले आफ्नो व्यक्तिगत कोषबाट तिर्नेछन् । एक हप्ता पछाडी तपाई जाने हो, थाईलेन्डका तत्कालिन राजदुत रामचन्द्र बहादुर सिंहले सबै व्यवस्था मिलाउने छन् ।’ थाईल्याण्ड र जापानमा उनको उपचार भयो । साढे ९ लाख रुपैयाँ दरबारले उपचार खर्च बेहोरेको थियो ।

उपचार गराएर स्वदेश फर्किएपछि मकेश्वर बाबु राजा वीरेन्द्र्रलाई धन्यवाद दिन दरबार जाँदा तिमि स्वस्थ्य भयौ, म खुशी छु, मन्त्री मण्डलको पुनर्गठन गर्ने बेलामा तिमिलाई महत्वपुर्ण मन्त्रालय दिनेछु भनेर सोचेको थिएँ, तर, तिम्रो स्वास्थ्य अवस्था राम्रो नभएकाले अब तिमि अब जनकपुर बसेर राजनीति गर भन्दै राजा वीरेन्द्र्रले आदेश दिए । राजाको आदेश पछि उनी जनकपुर फर्किए । 

‘तिमिले भनेको कुरामा म अनावश्यक रिसाएँ । साँच्चिकै त्यो त आध्यात्मिक इतिहास बोकेको ठाउँ हो । मैले के गर्ने, भूमि सुधारमा बस्ने गोरुहरुको कारण उनीहरुले सिफारिस गरेको हो । तिमि नै भन, ज्वार्ईँलाई दिईसकेको कुरा तिमिले नै कसरी फिर्ता माग्थ्यौ ?' राजा महेन्द्रले भने ।

आफुलाई आँखाको उपचार दरबारले त गरिदियो तर आम सर्वसाधारण जनताले आँखाको उपचार कसरी गराउँलान भन्ने चिन्ता वढेपछि उनले जनकपुरमै आँखाको अस्पताल हुनुपर्छ भन्ने कुरा सोच्न थाले । त्यतिबेला जनकपुरमा भारतको उत्तर प्रदेशबाट केही डाक्टरहरु आएर शिविर चलाउने गर्थे । नेपाल रेडक्रस मार्फत उनले पहल कदमी गरेर नेपाल रेडक्रस सोसाईटी जानकी आँखा अस्पताल स्थापना गर्न लगाए ।

यता राजनीतिक परिस्थिति परिवर्तन हुँदै थियो । पञ्चायती व्यवस्था विरुद्ध आन्दोलन चर्कदै थियो । २०४६ सालको आन्दोलन हुने बेलामा उनी फेरि कांग्रेसको सदस्यता लिए । महेन्द्रनारायण निधिसँग पारिवारिक दोस्ती समेत रहेका कारण कृष्णप्रसाद भट्टराईले ४७ सालमा उनलाई फेरि कांग्रेसको सदस्यता जनकपुरमा दिलाए । तर, दुई वर्र्ष पछि अब कुनै पनि पार्टीमा सदस्य नभई राजनीतिबाटै सन्यास लिने भन्दै २०४९ सालमा उनी राजनीतिबाट सन्यास लिएका थिए । राजनीतिबाट सन्यास लिए पनि उनी समाजसेवामा भने सक्रिय रहँदै गए ।

रंगभूमि मैदानका लागि राजा महेन्द्रसँगको टकराव

२०२७ साल तिर राजा महेन्द्रले दरबारको पारिवारिक खुशियालीमा उत्सव मनाईरहँदा आफ्ना ३ ज्वार्इँलाई १२÷१२ विघा जग्गा उपहार स्वरुप दिने घोषणा गरेका थिए । घोषणा भईसकेपछि तत्कालिन सम्बन्धित भुसंरक्षण विभागबाट जग्गाको खोजी गर्न लगाईयो । विभागले तराईको दुई ठाउँ र काठमाण्डौको १ ठाउँ सिफारिस गर्यो ।

सिरहाको मिर्चैयामा ६/६ विघाको दुई टुक्रा, जनकपुर रंगभूमि मैदानको बारहविघा र काठमाण्डौको महाराजगंज स्थित १२ विघाको प्लट दिन मिल्ने भन्दै भूमि सुधार विभागले सिफारिस गर्यो । उक्त सिफारिस अनुसार राजा महेन्द्रले ३ वटै ज्वाईँलाई ति जग्गाहरु उपहार प्रदान गरे । जेठो ज्वाईँले काठमाण्डौमा उद्योग संचालन गरे, कान्छो ज्वाईँले मिर्चैयामा चिनी मिल संचालन गरे । र, माईलोले जनकपुरको रंगभूमि मैदानमा वियरको उद्योग संचालन गर्ने सोचका साथ काम अगाडी वढाउन निधो गरे ।

दरबारकै मानिसबाट मकेश्वर बाबुले उक्त कुरा थाहा पाएपछि राजा महेन्द्रका सबैभन्दा नजिकका व्यक्ति मानिने सरदार विष्णुमनि आचार्यसँग भेट गरे । आचार्यको जनकपुरमा रंगभूमि मैदानको ठिक सामुने जनकपुरमा पनि घर थियो । आचार्यले जनकपुरलाई प्रिय ठाउँ मान्थे । आचार्यको दरबारमा यतिसम्म प्रभाव थियो कि तत्कालिन प्रधानमन्त्री तुल्सी गिरी भन्दा पनि उनले भनेको कुरालाई राजा महेन्द्रले इन्कार गर्दैनथे । त्यसैले मकेश्वर बाबुले सरदार आचार्यलाई भेटेर रंगभूमि दिनु भनेको ठुलो पापको काम हुन्छ र त्यसले पछि विद्रोह पनि निम्तिन्छ, राजालाई रोक्नुस्, भनेर भने । 

राजा महेन्द्र जस्तो मान्छे जसको आफुले एक पटक गरिसकेको निर्णयबाट फिर्ता लिने बानी छैन, यस्तो कुरा भनेर म सजायको भागिदार हुन्न भनेर आचार्यले जवाफ दिए । त्यसो भए मलाई नै राजासँग दर्शन भेट गराईदिनुस् भनेर भनेपछि आचार्यकै पहलमा राजा महेन्द्रसँग मकेश्वर बाबुको दर्शन भेट भयो । 

यूवराज वीरेन्द्रलाई राजा महेन्द्रले बोलाएर भने, ‘म त मुटु रोगी भएँ, म अब कति दिन छु छैन, म पश्चात तिमिले नै देश चलाउनु पर्छ । राजापाठ चलाउनु पर्छ । यो व्यक्ति मकेश्वर सिंह हो । यसलाई चिन । यी जस्ता व्यक्तिलाई कहिल्यै पनि साथ नछोड्नु । राजा जस्तो व्यक्तिलाई पनि यीनले गल्ती औंल्याए ।'

दर्शन भेटका क्रममा मकेश्वर बाबुले यसो भने, ‘सरकार, जनकपुरको यो बारहविघा भनेको धार्मिक ठाउँ हो । त्यो ठाउँमा भगवान राम जानकीको विवाह हुँदा स्वयम्बर भएको ठाउँ हो । त्यो ठाउँमा ज्वाईँ साहवले कारोवार गर्ने भएपनि फलिफाप हुँदैन । र, यसले जनमानसमा पनि ठुलो विद्रोह निम्त्याउँछ ।’ यति सुन्ने वित्तिकै राजा महेन्द्र रिसाए । 

‘मैले छोरासरह ज्वाईँलाई दिईसकेको बक्सिस मैले फिर्ता लिन्न । विद्रोहको नामले मलाई तिमिले डराउन दिन खोज्ने ? ९÷९ वर्र्ष जेल बसेर तिमिलाई पुगेन । सरदार बाजेको नजिकको मान्छे तिमि नभईदिएको भए अहिले तिमिलाई फेरि जेल हाल्थें ।’ खुरुक्क यहाँबाट गईहाल भन्दै राजा महेन्द्रले आक्रोश पोखे ।

तर, राति राजाको मनमा के भयो, भोलि विहान फेरि राजाले मकेश्वर बाबुलाई दरबारमा बोलाए । ‘तिमिले भनेको कुरामा म अनावश्यक रिसाएँ । साँच्चिकै त्यो त आध्यात्मिक इतिहास बोकेको ठाउँ हो । मैले के गर्ने, भूमि सुधारमा बस्ने गोरुहरुको कारण उनीहरुले सिफारिस गरेको हो । तिमि नै भन, ज्वार्ईँलाई दिईसकेको कुरा तिमिले नै कसरी फिर्ता माग्थ्यौ ’? राजा महेन्द्रले भने । 

सरकारको आदेश भयो भने ज्वाईँ साहवलाई म कन्भिन्स गर्छु भन्दै मकेश्वर बाबुले सरदार आचार्यलाई लिएर ज्वाईँ साहवको दरबारमा पुग्नु भयो । ‘त्यो जग्गाको ऐतिहासिक तथा धार्मिक पृष्ठभूमिबारे बताउँदा ज्वाईँ साहव त राजा भन्दा पनि बढी आक्रोशित हुनु भयो । तुरुन्त मेरो घरबाट बाहिर जानुस भनेर ज्वाईँ साहवले मकेश्वर बाबुलाई आदेश गरे । तर, ज्वाईँ साहवसँगै एक जना उनको आफन्त बुढो मान्छे पनि सँगै बसेका थिए । उनले त्यो कुराको गाम्भीर्यता र सम्वेदनशिलतालाई बुझ्दै के भने मकेश्वर सिंह बाहिर जाँदैन, बरु तिमिले पुनर्बिचार गर्नुपर्छ ।’ धार्मिक जग्गामा गरिने कारोवारले तिमिलाई पनि फलिफाप गर्दैन । तर, त्यो बुढो आफन्तको कुरालाई पनि ज्वाईँ साहेवले मानेनन् । 

त्यसपछि १२ विघाको ठाउँमा जनकपुरमै अर्को ठाउँमा २४ विघा जग्गा छ, बरु त्यो जग्गा लिनुस भनेर मकेश्वर बाबुले प्रस्ताव गरेपछि ज्वाईँ साहेव तयार भए । अनि रत्न सागर स्थित जनकपुरको १२ विघा र कभर्ड हल नजिकको अर्को १२ विघाको प्लट दिलाइयो । यसरी अत्यन्तै बहुमूल्य सम्पदाको रुपमा रहेको रंगभूमि मैदान जोगाउन मकेश्वर बाबुको ठुलो प्रयत्न रहेको थियो । 

पछि गएर मकेश्वर बाबुले रंगभूमि मैदान नीजि मान्छेहरुले पनि कब्जा गर्लान कि भन्ने डरले सताएपछि त्यसको संरक्षणका लागि प्रयत्न गरे । राजा महेन्द्रलाई उनले भने,‘ जनकपुर चुरोट कारखानाको लागि कलकताबाट ठुलो ठुलो मेसिन आएको छ । गेट बनाउनका लागि आएको वेलिडङ मेसिनबाट १२ विघा घेर्नका लागि ग्रिल बनाउन हजुरले आदेश दिबक्सियोस् ।’ राजाले आदेश दिए । ग्रिल बन्यो । उनले आफ्नै दाई तपेश्वर सिंहलाई कन्भिन्स गरी ५ हजार इटा बराबरको मुल्य लिई, स्थानीय स्तरमा सिमेन्ट आदि सामग्रीहरु जुटाई १२ विघा मैदानको कम्पाउन्ड वाल निर्माण गर्नुका साथै त्यसमा ग्रिल लगाएका थिए ।
यति भईसकेपछि राजा महेन्द्रले मकेश्वर बाबुलाई दरबारमा बोलाए । ‘म राजा महेन्द्र जो कुनै निर्णय गर्दा कहिल्यै पनि गलत निर्णय नगरेको व्यक्तिबाट भएको गलत निर्णयलाई तिमिले समयमै सचेत गरायौ, तिम्रो आँट, साहस र बुद्धिमताको म प्रशंसा गर्छु । मैले पुर्व पश्चिम राजमार्ग पनि बनाएँ’ महेन्द्रले आफ्ना बुवालाई भनेको कुरा स्मरणगर्दै मकेश्वरका नाती रितेशले लोकान्तरसँग भने । 

कम्युनिष्ट जस्तो देश रहेको सोभियत संघबाट विभिन्न पुलहरु निर्माण गर्न लगाएको छु । जग्गा सम्बन्धि यो कुरा बाहिर पब्लिकमा गयो भने नराम्रो हुन्छ । यो कुरा बाहिर सार्वजनिक नगर्नु भनेर राजा महेन्द्रले मकेश्वर बाबुसँग बाचा गराए । त्यति खेरै दरबार हुँदै गईरहेका यूवराज वीरेन्द्रलाई राजा महेन्द्रले बोलाएर भने, ‘म त मुटु रोगी भएँ, म अब कति दिन छु छैन, म पश्चात तिमिले नै देश चलाउनु पर्छ । राजापाठ चलाउनु पर्छ । यो व्यक्ति मकेश्वर सिंह हो । यसलाई चिन । यी जस्ता व्यक्तिलाई कहिल्यै पनि साथ नछोड्नु । राजा जस्तो व्यक्तिलाई पनि यीनले गल्ती औंल्याए ।’

त्यहाँबाट राजा महेन्द्रले चिनजान गराएको समय देखि राजा वीरेन्द्र्रले पञ्चायती व्यवस्था रहुनजेल सम्म कुनै न कुनै पदमा राखेका थिए । राजा वीरेन्द्र्रले उनलाई सम्मान स्वरुप राज्यसभा सदस्य, पञ्चायत सदस्य, पञ्चायत नीति तथा जाँचबुझ समिति सदस्य जस्ता पदहरुमा मनोनित गरेका थिए । राजा वीरेन्द्र्रले मकेश्वर बाबुलाई ३ किसिमको तक्मा पनि प्रदान गरेका थिए । प्रवल गोर्खा दक्षिण बाहु, शुभराज्याभिषेक पदक तथा भुकम्प पीडित पदक उनलाई नारायणहिटी राजदरबारबाट प्रदान गरिएको थियो ।

राजा ज्ञानेन्द्रको प्रस्ताव अस्वीकार
पछि राजा ज्ञानेन्द्रको शासनकालमा पनि राजा ज्ञानेन्द्रले उनलाई राजनीतिमा सक्रिय हुन भनेका थिए । जनकपुर भ्रमणमा आएको बेला राजा ज्ञानेन्द्रसँग मकेश्वर बाबुले दर्शन भेट गरेका थिए । उक्त समयमा तिमि जस्तो विकास प्रेमी मान्छे किन यति चाँडै राजनीतिबाट निस्क्रिय भएको, राजनीति गर । धार्मिक नगरी जनकपुर जस्तो ठाउँको विकास गर्न तिमि सक्रिय हुनुपर्छ भनेर भन्दा मकेश्वर बाबुले जवाफ दिए, ‘सरकार म भन्दा पहिले नै मेरो एकलो छोरा र बुहारी दुवैको मृत्यु भईसकेको छ । म अब आफ्नो जिवनको सम्पुर्ण समय आफ्ना दुई नातीहरु रितेश र रुपेशलाई दिन चाहन्छु । भित्रैबाट म अब टुटिसकेको छु । अब राजनीति गर्दिन ।’

जानकी मन्दिरको ५२ विघा जग्गा बचाउन मकेश्वर बाबुको संघर्ष
जानकी मन्दिरको ५२ विघा जग्गा यहाँका केही नेता र प्रशासनले आफ्नो नाउँमा नामसारी गराउन लागेका थिए । यो कुरा बाहिर सार्वजनिक भएपछि मकेश्वर बाबु बेंगा शिवपुरका स्थानीयवासीहरुलाई जम्मा गरी संघर्ष गर्न उक्साएका थिए । 

स्थानीयवासीहरुलाई घरेलु हतियार सहित प्रदर्शन गर्न लगाएका थिए । पछि नामसारी गर्न खोजेका जनकपुरका एक जना नेताले उनलाई टेलिफोन गरी तिमि पछाडी हट नत्र तिम्रो घरमै बम विस्फोट गराईदिन्छु भनेर धम्की समेत दिएका थिए । पछि दरबारलाई जानकारी गराई उनले त्यो काम रोकाउन लगाएका थिए । जानकी मन्दिरको परिसर अहिले जति खाली छ पहिले त्यति थिएन । त्यो परिसर पनि उनले अत्यन्तै जोखिम मोलेर खाली गराएका थिए ।

जानकी आँखा अस्पतालको १ विघा १८ कठ्ठा र नेपाल अपाङ्ग संघको अहिले १९ कठ्ठा जग्गा रहेको छ । यी दुईवटै जग्गा एउटा कुट्टी अन्तरगत बाबाजीको मातहतमा थियो । तर, त्यो जग्गा कब्जा गर्नका लागि महोत्तरीका १, धनुषाका ३ र काठमाण्डौका १ जना नेता र तत्कालिन अञ्चलाधीश दामोदर शमशेरले त्यो जग्गा ६ जनाको नाउँमा नामसारी गराउने प्रपन्च रचेका थिए । 

त्यो कुरा मकेश्वर बाबुले थाहा पाएपछि त्यसको विरोध गर्नु भयो । त्यो ५ जना मध्ये एक जना जो जनकपुरकै थिए उनको कोठामा आई त्यो दुई ठाउँको जग्गा मध्ये एक ठाउँको जग्गा तपाई नै राख्नुस र बाँकी एक ठाउँको जग्गा हामी ५ जनाले बाँड्ने छौं भनेर प्रस्ताव गरेका थिए । तर, त्यो जग्गा लिएर मैले के गर्ने भनेर अस्विकार गर्दा त्यो जग्गामा पोखरी खनेर माछा पालन गरी राजनीति गर्न आय स्रोत पनि हुने भनेर प्रलोभन दिँदा पनि उनी तयार भएनन् । 

पछि राजा वीरेन्द्र्रबाट ठाडो आदेश गर्न लगाई जग्गा नामसारी हुनबाट उनले रोक्न लगाए । तत्कालिन अञ्चलाधिश दामोदर शम्शेरलाई राजाले प्रष्ट रुपमा के आदेश दिए भने त्यो जग्गाको के कार्यमा सदुपयोग हुन्छ मकेश्वर बाबुसँग सोधेर गर्नु भनेपछि मकेश्वर बाबुले पछि त्यहाँ जानकी आँखा अस्पताल र नेपाल अपाङ्ग संघ निर्माण गर्न लगाउनु भयो ।

विकासका लागि सदैव अग्रसर

जनकपुरमा अहिले जे जति पनि पुर्वाधारहरु छन् प्रायः जसो पुर्वाधारहरु निर्माण हुनुमा मकेश्वर बाबुको ठुलो योगदान रहेको छ । ती पुर्वाधारहरु निर्माण गर्न उनले आर्थिक लगानी नगरेपनि जग्गा दाताहरुलाई खोजेर तिनीहरुलाई उत्प्रेरित गरी जग्गा दान गर्न लगाउने र ती दान गरिएको जग्गाहरुमा विद्यालय, अस्पताल जस्ता पुर्वाधारहरु निर्माण गराउन उनको ठुलो भूमिका छ । रामस्वरुप साह, रामसागर साह जस्ता जग्गा दाताहरुलाई प्रोत्साहित गरी विद्यालय, कलेज, अस्पताल निर्माण गर्न लगाएका थिए । सोही क्रममा हालको जनकपुर अञ्चल अस्पताल तथा पहिलेको जानकी पब्लिक अस्पतालको विकासको काम होस वा राराब क्याम्पस, सरस्वती नमुना उच्च माध्यमिक विद्यालय, सकलभवन कन्या माबि, बाल मन्दिर, नेपाल रेडक्रसको भवन आदिको निर्माण सहित विभिन्न मठ मन्दिर, धर्मशाला, सागरपोखरी आदिको निर्माण तथा जिर्णोद्धारमा उनको महत्वपुर्ण योगदान रहेको छ । 
२०६७ साल पुस ६ गते मकेश्वर बाबुको निधन भयो । बिहीवार जनकपुरमा श्रद्धान्जली सभाको आयोजना गरी मकेश्वरको स्मरण गरिएको छ ।

(स्वर्गीय मकेश्वर बाबुका नातीहरु रितेश सिंह र रुपेश सिंहसँग लोकान्तरका प्रदेश प्रतिनिधि अजय अनुरागीले गरेको कुराकानीमा आधारित)
 

पुस ६, २०७४ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस