जङ्गबहादुरको युरोप भ्रमण : लण्डनमा सडक बढार्ने नेपालीसँग भेट, फ्रान्समा राष्ट्रपतिलाई चोटिलो जवाफ

ध्रुवहरि अधिकारी
पुस १५, २०७४

अङ्ग्रेजको छल गोर्खालीको बल ।

 


ADVERTISEMENT

यस लोकोक्तिले सूर्यास्त नहुने साम्राज्य खडा गर्ने अङ्ग्रेजको चतु-याञीको साथसाथै तिनै अङ्ग्रेजसितको सङ्ग्राममा अतुलनीय साहस देखाउने दुबैथरीको खुबीको राम्रो झलक दिन्छ । ‘इष्ट इण्डिया कम्पनी’ नामक व्यापारिक एजेण्ट भई दक्षिण एसिया पसेका अङ्ग्रेजले कालान्तरमा हिन्दुस्तानमाथि हुकुम चलाएको इतिहास जग-जाहेर छ ।

 

‘जङ्गबहादुर इन् युरोप’ पुस्तकका पाता पल्टाउने सुरसार गर्दा यतिबेला मलाई एक समयका कुशल प्रशासक विष्णुप्रताप शाहको सम्झना हुन्छ जसले एक प्रसङ्गमा सुनाएका थिए :--नेपाल र बेलायतको मैत्रीको चर्चा त हामी बेला-बेलामा गर्छौं तर ब्रिटिशले नेपालीसित चिनारी गरेको त लडाञीको मैदानमा हो नि भन्ने तथ्य चाहिँ भुसुक्कै बिर्सन्छौं ।

 

राजा गिर्वाणयुध्दको राज्यकालमा, मुख्तियार (प्रधानमन्त्री) भीमसेन थापाको पालामा नेपालले हिन्दुस्तानको अधिपति भएर बसेको अङ्ग्रेजसित विभिन्न मोर्चामा लड्दा नेपालीले बहादुरीको परिचय दिएका हुन् । हुन त त्यस (सन् १८१४-१६) लडाञीमा नेपाल पराजीत भयो र निकै ठूलो भूभाग गुमायो पनि---सुगौलीमा भएको सन्धिको उल्लेख यसै सन्दर्भमा बरोबर हुने गर्छ । तर गुमेका कतिपय प्रदेश कुशल कूटनीतिको माध्यमबाट भीमसेन थापाकै पालामा फिर्ता पनि भए , केही भूभाग जङ्गबहादुरको पालामा फेरि नेपालमै आए । विचारणीय छ, नेपालको सेनाले ‘सूर्यास्त नहुने अङ्ग्रेज साम्राज्य’को जल्दोबल्दो सैन्यशक्तिलाई सानो पहाडी मुलुकसित सन्धिमा आउन बाध्य पार्नु , सिङ्गो देशकै अस्तित्व नै  मेटिन लागेको अवस्थामा त्यसको रक्षा गर्नु र नेपाली सेनाको वीरताबाट त्यसबखतको बेलायतलाई परिचित गराउनु चानचुने उपलब्धि थिएन ।

 

भन्नु परोइन, नेपालीले वीरता प्रदर्शनको त्यो अवसर नपाएको भए अङ्ग्रेजले कालान्तरमा हिन्दुस्तानका स-साना रजौटाहरूहरू सरह नेपाललाई आफ्नै पाउमुनि राख्नेथिए । र, सन् १९४७ पछि नेहरू र पटेलको टोलीले पनि नेपाललाई समेत उत्तराधिकारमा पाएको भूखण्ड भनी सरासर भारतमा गाभ्ने थियो । जङ्गबहादुरले अङ्ग्रेजसित निकट सम्बन्ध गाँसेर नेपालको विशिष्ट चिनारी कायम गरेको हुनाले र त्यसपछिको कालखण्डमा चन्द्रशम्शेर समेतका शासकले त्यसलाई जोगाइराखेको हुनाले विश्वको मानचित्रमा नेपाल रहिरहेको हो ।

 

आधुनिक नेपालको इतिहास अध्ययन गर्ने जोसुकैले पनि जङ्गबहादुरको समयलाई गहिरिएर हेर्ने कोशिस गरेको हुन्छ । र, त्यो जङ्गले कोतपर्व गरी विरोधीहरूलाई छिमोलेर विवादग्रस्त राणाशासनको जग बसाले भन्ने कुरामा सीमित छैन । अन्य धेरै विषय छन् । सन् १८५७ मा हिन्दुस्तानमा ‘सिपाही विद्रोह’ हुँदा अत्तालिएका अङ्ग्रेजलाई विद्रोह दबाउने काममा सैनिक सहयोग गरी पहिले लडाञीमा गुमेका प्रदेशमध्ये नयाँ मुलुकको रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता लिन जङ्गबहादुरले पाएको सफलता उल्लेख्य मानिन्छ । यसलाई सातवर्षअघि ( सन् १८५० ) उनले गरेको बेलायतको यात्रासित जोडेर हेर्नु सर्वथा सान्दर्भिक हुन्छ ।

 

माथि उल्लेख भएकै छ, नेपाल-अङ्ग्रेज युध्दपछि सुगौली सन्धि भयो । त्यही सन्धिको माध्यमबाट यी दुई देश एक-अर्कासित कूटनीतिक सम्बन्धमा जोडिए । काठमाडौंमा बेलायतका ‘रेजिडेण्ट’ (राजदूत) बस्ने चाँजो मिलाइयो । यी र यस्ता अन्य कामको थालनी सन् १८१६मा भएको हुनाले सन् २०१६ मा दुइशयौं वर्षगाँठ मनाउँदै लण्डन र काठमाडौंमा समारोहहरू गरिए । र, त्यही अवसरलाई मिल्ने गरी जोन ह्वेल्पटनले ‘जङ्गबहादुर इन् युरोप’ (अङ्ग्रेजी) पुस्तकको दोस्रो संस्करण छपाए । नेपालको राजनीति र सामाजिक स्थितिको अवलोकन र अध्ययनमा ४० वर्षभन्दा बढी समय बिताएका यी बेलायती विद्वान्‌ले जङ्गबहादुरको बेलायत र फ्रान्स भ्रमणलाई समेटेर लेखेको यो पुस्तकको पहिलो संस्करण सन् १९८३ मा सहयोगी प्रेसबाट निस्केको थियो; सन् २०१६ मा यसको पुनर्मुद्रण मण्डला बुक प्वाइण्टबाट भएको देखिन्छ ।

 

‘जङ्गबहादुर इन् युरोप’ को दोस्रो संस्करणमा आइपुग्दासम्ममा नेपालबारेका अन्वेषक जोन ह्वेल्पटन तीन-चारवटा अन्य कृतिका लेखक भैसकेका छन् । जे होस्, जङ्गबहादुरसम्बन्धी यस  दोस्रो संस्करणको भूमिकामा जोन (उनका धेरै नेपाली मित्रले झैं मैले पनि पहिलो नाम मात्र लेखेको हुँ) ले लेखेका छन् ---सुधार, परिमार्जन र थप सामग्रीले गर्दा यो पुस्तक पहिलोको दाँजोमा १० प्रतिशतले मोटाएको छ ।

 

पहिलो संस्करण नेपाली किताब ‘जङ्गबहादुरको बेलायत यात्रा’ मा आधारित थियो जसलाई वि.सं. २०१४ सालतिर कमलमणि दीक्षितले छपाएका थिए । दोस्रो संस्करणमा अन्वेषक विश्व पौडेलले यसबीचमा र पत्ता लगाएका सामग्री थपिएको छ । पौडेलका सहयोगी कृष्ण अधिकारीको योगदानको पनि जोनले उल्लेख गरेका छन् । जोनले विद्यावारिधिको लागि आफूले शोधपत्र तयार पार्दा फेला परेका नयाँ तथ्य पनि यसमा समेटेको जानकारी दिएका छन् । जानकारी अनुसार, पौडेलले जङ्गको बेलायत यात्राबारेको १० हजार शब्दको एक अङ्ग्रेजी प्रकाशन पत्ता लगाएका छन् जुन कुनै एक मोतिलाल सिंहको कृति रहेछ । उतिबेलै अङ्ग्रेजीमा लेख, किताब लेख्ने मोतिलाल को हुन् त ?

 

लण्डनको सडकमा झाडू-बढारूको काम गरिरहेको अवस्थामा जङ्गबहादुरले भेटेर आफ्नो निजी दोभाषेमा सामेल गरेका मोतिलालले आफू भादगाउँको बासिन्दा भएको र सन् १८१४-१६ को लडाञीमा खटिएको बताएका छन् । युध्दपछि कलकत्ता पुगेको, घरजम गरेको अनि  पैसा कमाउने धुनमा एक जहाजी कप्तानको मद्दतले बेलायत छिरेको तर त्यहाँ पुगेपछि अनेक हण्डर गोता खाएको बेली-विस्तार लगाएका छन् ।

 

सन् १८५० का बेलायत र फ्रान्सका अखबारमा छापिएका विवरणमा नेपाली राजाका राजदूत जङ्गबहादुरले बेलायतमा महारानी भिक्टोरियाबाट कस्तो सम्मान पाए, पेरिसमा राष्ट्रपतिले कसरी खातिर गरे भन्ने विस्तृत कुराहरू परेका छन् । दोभाषे भई आफूलाई सघाउन खटिएका दुई बेलायती अफिसरहरूबाट जङ्गबहादुरले के कसरी काम लिए र चतुरता प्रदर्शन गरे त्यसको घतलाग्दो वर्णन जोनको किताबमा पाइन्छ । काठमाडौंका रुद्रविक्रम राणाको घरमा भेटिएको खेस्राकापीमा लेखिएको ‘जङ्गबहादुरको बेलायत यात्रा’ मा पाइएका तर अर्थबर्थ नलाग्ने अनेक वर्णन र सन्दर्भलाई जोनले निकै मेहनतका साथ पठनीय गद्यमा ढालेका छन् ।

 

यात्रामा सामेलमध्ये कुन चाहिँ व्यक्तिले यात्रावर्णन लेखेको हो त्यसको टुङ्गो नलागेको अवस्थामा आधिकारिकता स्थापित हुन पाएको थिएन, जोनको प्रयासले त्यो अन्योलको अन्त्य भएको छ । जङ्गबहादुरकै कान्छा छोरा पद्‌मबहादुरले नै लेखेको जङ्गको जीवनचरित्रमा समेत फेला नपेरका कुरा जोनको अन्वेषणले थपेको छ । 

 

पुस्तकमा जोनका निजी धारणा र दृष्टिकोणहरू यत्रतत्र पाइन्छन् जुन आश्चर्य होइन । जस्तो, मोतिलाल सिंहलाई बेलायत पुग्ने पहिलो नेपाली हुन् भनेर कृष्ण अधिकारीले लेखेको कुरामा जोनले सन्देह प्रकट गरेका छन् । अनुसन्धानको क्रममा भोलि अर्को नेपालीको नाम जानकारीमा आउने सम्भावना छँदैछ । त्यस्तै, जोनले युरोपेली प्रेसले नेपाली र गोर्खाली शब्दहरूको अर्थ, तात्पर्य छुट्याउन नसकेको निष्कर्ष निकाल्दा आफ्नो मत पनि दिएका छन् । भाषाको सन्दर्भ आउँदा, जोन नेपाली आफ्नै क्षमतामा उभिएको भाषा हो भनेर किटान गर्न भुल्दैनन् (Nepali is a language in its own right…)

 

जङ्गबहादुर अङ्ग्रेजीमा दखल नभएका राजनीतिज्ञ भएपनि हाजिरजवाफी क्षमता भएका कुशल कूटनीतिज्ञ थिए—यस निचोडको पुष्टिमा पेरिसको त्यस घटनालाई प्रसङ्गमा ल्याउन सकिन्छ जसमा जङ्गले एलिजे दरबारमा भेटघाटको क्रममा फ्रान्सिसी राष्ट्रपतिबाट पोशाकबारे भएको टिप्पणीको प्रत्युत्तरमा दिएको जवाफको चर्चा भएको छ । हाम्रो पोशाक त नेपालको जस्तो चहकिलो र आकर्षक छैन भन्ने राष्ट्रपतिको कथन सम्बन्धमा जङ्गको उद्‌गार यस्तो किसिमको रह्यो :--

                                  हो, हाम्रो देशको पहिरन केही चहकिलो देखिन्छ                                      तर त्यो दर्जा र ओहोदा छुट्याउने हिसाबले तय गर्दाको नतीजा हो । यता                             फ्रान्सका पोशाक र पहिरन त्यत्ति हेक्का गरिने किसिमको नहोलान् तर                        विज्ञान, सभ्यता एवं प्रशासन र सरकार सम्बन्धी संगठन                                    समेतको दृष्टिकोणबाट फ्रान्स विश्वमा अग्रस्थान रहेको राष्ट्र हो ।

 

दोभाषेको माध्यमबाट नेपालका राजदूतले यस्तो युक्तियुक्त विचार प्रकट गरे भनी उस बखतको एक फ्रान्सिसी पत्रिका ‘बुलेटिन ड पेरिस’ मा खबर छापिएको छ ।

 

माथि पनि उल्लेख भएको छ, जोन ह्वेल्पटनको नेपाल विषयक अध्ययन विस्तृत र गहन छ तर घटना, परिस्थितिको विश्लेषणमा उनका सबै हेराइ वस्तुनिष्ठ वा सन्तुलित छन् भन्न चाहिँ मिल्दैन । जोनका आत्मपरक धारणा अथवा आग्रहका झलक कताकति भेटिन्छन् । जस्तो, पेरिसमा भेटिएका पञ्जाबी व्यापारीहरूसितको कुराकानीमा हिन्दुस्तानका स-साना रजौटाहरूले एक-एक गरी आफ्नो प्रभुत्व अङ्ग्रेजका पाउमा सुम्पेको सिलसिला आउँदा जङ्गबहादुरले अङ्ग्रेजी जालबाट नेपाल चाहिँ जोगिएको र त्यसमा आफ्नो पनि भूमिका रहेको जायज दाबी गरेका छन् । त्यसै क्रममा उनले अङ्ग्रेजको अगाडि हिन्दुस्तानीहरू दुर्बल देखिन्छन् भन्ने अर्थ लाग्ने गरी आफ्नो तर्क अघिसारेका छन् । तर जोनले यस कथनलाई अर्कै ढङ्गले अर्थ्याएका छन् ---यो समथर भूमिमा (मधेस) का बासिन्दालाई हेप्ने पहाडी दम्भको प्रदर्शन थियो । जोनको यस व्याख्याले जङ्गबहादुरको समयको नेपालको तुलना यतिखेरको नेपालमा देखिएको मधेसी असन्तुष्टिसँग दाँज्न खोजेको देखिन्छ । तुलना गर्न नमिल्ने दुई परिस्थितिको तुलना सुहाएन । तसर्थ यो वस्तुनिष्ठ मूल्याङ्कन भएन कि ?

 

अर्को कुरा, तराईको पेटी महत्वपूर्ण भूभाग हुँदाहुँदै पनि नेपाललाई समग्रमा पहाडी मुलुक मान्ने चलन छ । र, पहाडी इलाकामा जन्मे-हुर्केका मानिस नै लड्ने-भिड्ने काममा प्रभावकारी हुन्छन् । जोनकै जन्मथलो बेलायतले अद्यापि आफ्नो सेनामा नेपालको पहाडी भेगकै युवकलाई मात्र गोर्खा सैनिकको रूपमा भर्ती गर्ने गर्दछ । भारतको सेनामा पनि यसै गरिन्छ, मधेसका युवकलाई लिएको देखिँदैन । अझ अर्को कुरा, जोन आफैंले पृष्ठ ५२ मा ‘किङ्डम् अफ् नेपाल’ मा दक्षिणतर्फको १०-३० माइलको क्षेत्रको चर्चा गर्दा ५० वर्ष अघिसम्म तराई औलोग्रस्त थियो भनेर लेखेका छन् । अनि अहिले ‘पहाडी’ भनिनेहरूको हालीमुहाली हुँदाको श्री ५ को सरकारले नै अमेरिकी सहयोगबाट औलो उन्मुलन गराएपछि तराई व्यापक रूपमा बसोबासयोग्य हुन सकेको यथार्थतिर आँखा चिम्लिन मिल्दैन कि ?

 

पहिलो संस्करणमा राखिएको नेपाली विद्वान् हृषीकेश शाहले लेखेको ‘परिचयात्मक खण्ड’ लाई केही लामो भए पनि जोनले दोस्रो संस्करणमा यथावत् राखेका छन् । सम्भवत: अङ्ग्रेजीका (खासगरेर विदेशी) पाठकहरूलाई नेपालको ऐतिहासिक परिप्रेक्ष्य बुझ्न सहज होला भनेर यसो गरिएको हो । बी.पी. कोइराला प्रधानमन्त्री छँदा संयुक्त राष्ट्रसंघमा नेपाली प्रतिनिधि रहेका र पछि राजा महेन्द्रको शासनकालमा परराष्ट्रमन्त्री भएका शाह एक ठाउँमा लेख्छन् :--नेपालले सन् १८५७ को सिपाही विद्रोहमा मद्दत गरेको, सन् १९०३ मा योङ्हसब्याण्डको नियोगलाई तिब्बत जान सघाएको र पहिलो र दोस्रो विश्वयुध्दमा पनि अङ्ग्रेजकै पक्षबाट लडाञीमा होमिएको समेतका घटना अहिलेको परिवेशमा राष्ट्रिय स्वाभिमान अनुकूल नठानिन सक्छन् । ती कदम र नीति सही नदेखिएलान् । तर वास्तविकता के हो भने त्यो बाटो नअपनाएको भए नेपालले आफ्नो स्वतन्त्रता र भौगोलिक एकता आजसम्म कायम राख्न सक्ने थिएन ।

 

शाहले युरोपबाट फर्केपछि जङ्गबहादुरले समाज सुधारका काम थाल्दै मुलुकी ऐन जारी गराएको घटनालाई पनि महत्वपूर्ण मानेका छन् किनभने त्यस ऐनले नेपालमा ‘विधिको शासन’ को थालनी गरायो : सैध्दान्तिक रूपमै भए पनि राजाले नै राजादेखि प्रजासम्मलाई लागु हुने गरी भनेर यस ऐनको तर्जुमा गराए । यो प्रतिबध्दता ऐनको प्रस्तावनामै परेको छ । जग-जाहेर छ, वि.सं. १९१० को मुलुकी ऐन ११० वर्ष बहाल रह्यो र २०२० साल भाद्रमा आएर राजा महेन्द्रले समयानुकूल हेरफेर गरी अर्को मुलुकी ऐन कार्यान्वयनमा ल्याएका हुन् । अहिले आएर नेपालको अगाडि ‘नयाँ’ शब्द थप्नेहरूले असहज र दुरुह ‘संहिता’ बाट ‘ऐन’लाई विस्थापित गर्ने प्रकृया अघि बढाएका छन् । हेरौं के के हुँदै जाने हो ।

 

नेपाल विश्वसमुदायमा स्थापित देश हो; विगत ६० वर्षदेखि संयुक्त राष्ट्रसंघको सदस्य-राष्ट्र रहिआएको छ । यसको राजनीतिक भूगोल भारत र चीनजस्ता ठूलो आकारका देशका बीचमा परेकोले बाँकी विश्वलाई नेपालको निर्माण र इतिहासबारे थप जिज्ञाशा हुनु स्वाभाविक छ । तसर्थ जिज्ञासु पाठकहरूलाई भरपर्दा पाठ्यसामग्री (अङ्ग्रेजीमा) जतिसकेको धेरै उपलब्ध गराउने आवश्यकता टड्कारो भएको हो । आशा गरौं, जोन ह्वेल्पटनको यस पुस्तकबाट यो दिशामा गहकिलो योगदान हुनेछ । ###

(१४ पौष २०७४ शुक्रवार)

पुस १५, २०७४ मा प्रकाशित

ध्रुवहरि अधिकारी

अधिकारी ‘लोकान्तर’का अध्यक्ष हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार