×

NMB BANK
NIC ASIA

चुनावमा किन पराजित भयो कांग्रेस, भविष्य कसरी सुधार्ने ?

पुस १६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन र हालै सपन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लज्जास्पद पराजय भोगे पछि नेतृत्व तह र कार्यकर्ता पङ्तिमा हारको कारण खोतल्ने क्रम शुरू भएको छ । टेलिभिजनका पर्दा, अनलाईन र छापा लगायतका मेडियाहरूमा नेपाली काँग्रेस पराजयका विषयमा विचार–विमर्ष, समीक्षा र टिप्पणीहरू राम्रैसंग आइरहेका छन् । नेपाली काँग्रेस पराजयमा आएका यी प्रतिक्रियाहरू अस्वाभाविक होइनन् । यस्ता विचार र प्रतिक्रियाहरू अझ आउनु पर्छ, जसले नेपाली काग्रेसलाई सुधार र पुनःनिर्माण गर्ने कार्यमा बाटो देखाउन सकुन् । तर अहिले एक आपसमा दोष मात्र देखाउने, अर्कामा दोष थोपरेर आँफु चोखो बन्दै नेतृत्वमा पुग्न प्रयत्न गर्ने लगायतको क्रम पनि त्यत्ति कै देखिएको छ, यस्ता प्रवृत्ति भने पार्टीका लागि घातक हुने निश्चित छ । नेपाली काँग्रेस पराजयका कुनै एउटा मात्र कारण छैन । सैद्धान्तिक विचलन, कमजोर एवम् अदक्ष नेतृत्व, पार्टीका आदर्श छोडेर केवल सत्ता केन्द्रित हुने प्रवृत्ति, अराजकता, अनुशासनहिनता लगायत थुप्रै कारण छन्, यो लामै खोज र अनुसन्धानको विषय बन्न सक्दछ ।

Muktinath Bank


 नेपाली काँग्रेस अहिले इतिहास मै सबैभन्दा कमजोर बन्नु र हालैको निर्वाचनमा सर्मनाक पराजय भोग्नुको प्रमुख कारण पार्टी स्थापनाकालिन सिद्धान्तबाट विचलित हुनु र वीपी कोइरालाको निधन पछि राष्ट्रियता र प्रजातन्त्रको मूल्य–मान्यता र कार्यक्रम माथि वीपी कोइरालाको राजनीतिक अडान, विचार र चिन्तनलाई क्रमशः परित्याग गर्नु र समाजवादलाई व्यहारिक रूपमा लागु गर्न नसक्नुको एकमुष्ट परिणाम हो भन्नेमा कुनै सन्देह छैन ।  पार्टीका स्थापनाकालिन सिद्धान्त र राजनीतिक अडानलाई छोड्दा पार्टीले आफ्नो आन्तरिक संगठनमा कहिले पनि बहश, छलफल गरेन । नेता विशेषको उग्रराजनीतिक महत्वाकांक्षा र सत्तास्वार्थमा प्रजातान्त्रिक मूल्य, सिङ्गो देश र आफ्नै पार्टीको हित र भविष्य प्रति पर्वाह नगरी स्वेच्छाचारी ढङ्गले काम गर्दै गयौ । यो देशलाई धर्म निरपेक्षता आवश्यक थियो थिएन, संघीयता आवश्यक थियो थिएन, देशबाट राजसंस्था फल्नु जरूरी थियो थिएन यी यस्ता धेरै महत्वपूर्ण मुद्धाहरूमा पार्टीको केन्द्रिय समिति, महाधिवेशन वा महासमिति कतै छलफल गरिएन, आमजनताको मत लिने काम गरिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND
नेता विशेषको उग्रराजनीतिक महत्वाकांक्षा र सत्तास्वार्थमा प्रजातान्त्रिक मूल्य, सिङ्गो देश र आफ्नै पार्टीको हित र भविष्य प्रति पर्वाह नगरी स्वेच्छाचारी ढङ्गले काम गर्दै गयौ ।

महान विचारक, पार्टीका संस्थापक, राजनेता विश्वेश्वरप्रसाद कोइरालाको तल उल्लेखति यी पङ्तिहरूबाट वीपीको दुरदर्शिता र वर्तमान काँग्रेसको अवस्थालाई राम्रोसंग प्रतिविम्व गर्दछ । –“म मरे पछि नेपाली काँग्रेसमा मेरो भूमिकाको वारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरूलाई बङ्ग्याएर इतिहासको गलत व्याख्या गरिनेछ । नेपाली काँग्रेसमा मैले लिएको अडान र मेरो दृष्टिकोणलाई गौण बनाइनेछ । मैले नेपाली काँग्रेसमा सदैव सैद्धान्तिक र विषयगत अडान लिएको छु । राष्ट्रियताको विषयमा, प्रजातान्त्रिक संस्थाहरूको विषयमा, आर्थिक विकास र समाजवादी व्यवस्थाको विषयमा मेरा अडानका निरन्तरता छन् । हिन्दुस्तानका वारेमा, राजाको वारेमा र संसारसंगको सम्पर्कका वारेमा मेरो दृष्टिकोणमा एउटा निरन्तरता छ र यसका आधारहरू मैले सँधै उल्लेख गरेको छु । २००७ सालको क्रान्ति हामीले हिन्दुस्थानबाट सञ्चालन ग¥र्यौं । हामीलाई हिन्दुस्थानले सञ्चालन गर्न खोजेको कुराको मैले सँधैभरी र सबभन्दा बढी विरोध गरेको छु । मैले राजालाई हमेसा महत्व दिएको छु । मलाई थुनामा राख्दा पनि मैले त्यही विचार राखेको छु । उनको निरङ्कुश शैलीको मैले सँधै र सबभन्दा बढि विरोध गरेको छु । मैले हिन्दुस्थानमा वसेर संगठन गर्दा पनि आफ्नो राष्ट्रियताको छवि कायम राख्ने प्रयास गरें । राजासंग मेलमिलापको कुरा गर्दा पनि प्रजातन्त्रको आग्रहमा मैले कहिल्यै समर्पण गरिन । मेरा यी अडानहरूका वारेमा व्यापक भ्रम सिर्जना हुने सम्भावना मैले देखेको छु । नेपाली काँग्रेसको इतिहास ती सबै आदर्शहरू र लक्ष्यहरूका साथ भएको संघर्षको इतिहास हो । मलाई लाग्दछ मुलुकको उज्ज्वल भविष्यका लागि नेपाली काँगे्रसमा ती कुराहरूको निरन्तरता रहनु पर्दछ । जुन दिन नेपाली काँग्रेसले राष्ट्रियताको आफ्नो अडान छोड्नेछ, यो निरर्थक भएर जानेछ । जुन दिन यसले प्रजातन्त्रको आदर्शहरू छोडेर केवल सत्ताको राजनीति गर्नेछ यो निरर्थक भएर जानेछ । नेपाली काँग्रेसलाई उसको अग्रिम ऐतिहासिक भूमिकाका लागि मेरा दृष्टिकोणहरू अुनुरूपको यसको इतिहास लेख्न आवश्यक छ ।” (जेलजर्नल, पृष्ठ छ ज)


Advertisment
Nabil box
Kumari

वीपीका यी महान विचारले वीपी कति भविष्य द्रष्टा थिए वा दूरदृष्टिका थिए भन्ने त वुझाउँदछ नै यसले काँग्रेसले कसरी वीपीको विचारलाई छाड्यो र आजको दुःखदायी अवस्थामा आइपुग्यो भन्ने कुरालाई पनि राम्रैसंग प्रष्ट गर्दछ । 

Vianet communication
Laxmi Bank

प्रजातान्त्रिक मूल्य–मान्यता विपरित कम्युनिष्टहरूसंग ज्यादा लहसिंदा कमजोर

वीपीको राजनीतिक अडान र प्रजातान्त्रिक मूल्य–मान्यता विपरित कम्युनिष्टहरूसंग ज्यादा लहसिंदा आज कम्युनिष्ट शक्ति नेपालमा बलियो भएको राजनीतिक यथार्थ हो । जसको कारण १५ सालको प्रथम संसदीय निर्वाचनमा १०९ सिटमा मुस्किलले ४ सिट जितेका कम्युनिष्ट शक्तिले ०४८ सालको संसदीय निर्वाचनमा सशक्त प्रमुख दलको हैसियत प्राप्त गरे भने अघिल्लो संविधानसभामा झण्डै दुई तिहाई उपस्थिति रह्यो, दोस्रो संविधानसभामा बहुमत कम्युनिष्ट कै थियो भने राष्ट्रिय राजनीतिमा काँग्रेसको कमजोर उपस्थितिका बीचमा बामगठवन्धन निर्माण पछि हालै सम्पन्न संसदीय निर्वाचनमा कम्युनिष्ट शक्तिले झण्डै दुई तिहाई सिट जित्नु र ७ प्रदेश मध्ये ६ प्रदेशमा बामपन्थी सरकार बन्ने अवस्था आउनु सामान्य भएको छ । यी सबै काँग्रेसको स्थापना कालिन राजनीनितक सिद्धान्त र राजनीतिक लाइन र वीपीको राजनीतिक अडान विपरित नेपाली काँग्रेस अनावश्यक क्रान्तिकारी बन्ने नाममा बामपन्थी भाषमा फसेको परिणाम हो । 

राजा ज्ञानेन्द्रको निरंकुश कदमको प्रतिशोधमा नेपाली काँग्रेस कम्युनिष्टहरूसंग नजिक पुग्नु काँग्रेसका लागि कति अभिशाप भयो भन्ने कुरालाई राजनीतिक घटनाक्रमले सिद्ध गरिदिएको छ । माले, मसाले र मण्डले भनेका एउटै हुन् भनेर क्रान्तिकारी भाषण गरेर कहिल्यै नथाक्ने काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्ने सपना देख्नु नै राजतन्त्र विनासको सुत्र बन्यो भने काँग्रेसको बामपन्थी रूझानमा फस्न गै काँग्रेस पतनको प्रमुख कारण बन्न पुग्यो । 

वीपी कोइरालाको विचार र राजनीतिक अडानलाई परित्याग गरेर अगाडि बढेको कारणबाट नेपालमा कम्युनिष्ट बलिया हुँदै गएका हुन् ।


सैद्धान्तिक रूपमा नेपाली कांग्रेसले लिएको गलत राजनीतिक लाइन र नीति कै कारण काँग्रेस कमजोर बन्दै कम्युनिष्ट शक्ति बलियो बन्दै गएका हुन् । वीपी कोइरालाको विचार र राजनीतिक अडानलाई परित्याग गरेर अगाडि बढेको कारणबाट नेपालमा कम्युनिष्ट बलिया हुँदै गएका हुन् । ०१७ को राजा महेन्द्रको निरंकुश कदम पछि काँग्रेसलाई खतम गर्न कै लागि राजा महेन्द्रले कम्युनिष्ट शक्तिलाई बढावा दिएको तथ्य त छँदैछ । वीपी कोइरालाको निधन पछि वीपीको राजनीति अडान र विचार विपरित काँग्रेसले कम्युनिष्टहरूलाई प्रजातान्त्रिक आन्दोलनमा साथ लिन थाल्यो । काँग्रेसले वीपी को निधन पछि ०४२ को सत्याग्रह आन्दोलन र ०४६ सालको जनआन्दोलनमा कम्युनिष्ट पार्टीहरूलाई साथमा लिए कै कारण त्यसको परिणामले आम जनताले कम्युनिष्टहरूलाई पत्याउन थाले । मानौं यतिसम्म त ठिकै थियो । हुँदा–हुँदा नेपाली काँग्रेसले काँग्रेस कै टाउको काटेर शुरू भएको उग्रबामन्थी शक्ति माओवादीलाई पनि काँधमा बोक्यो । यसो भन्नुको मतलव गिरिजाप्रसाद कोइराला वा काँग्रेसले माओवादीलाई शान्ति प्रक्रिया ल्याएको विरोध गरेको होइन । काँग्रेस जस्तो जिम्मेवार पार्टीले नै गर्नुपर्ने काम थियो, त्यो भयो, त्यसको स्वागत गर्नु पर्छ । विरोध यसमा हो कि आफ्नो सिद्धान्त र आदर्शमा सम्झौता नगरीकन गर्नु पथ्र्यो त्यो भएन । विरोध त्यसमा हो । 


नेपाली काँग्रेसले संसदीय पद्धतिमा आउँदै गरेको प्रविस्पर्धी दल एमालेलाई होच्याउन, साइजमा राख्न वा कमजोर बनाउने नाममा माओवादीलाई अन्तरिम संसदमा एमाले सरह ८३ सिट दिनु ठुलो गल्ती थियो । पञ्चायत कालमा काँग्रेसलाई समाप्त गर्न राजा महेन्द्रले कम्युनिष्टलाई पोषेका थिए, त्यसैको परिणाम एकदिन देशबाट राजतन्त्र नै समाप्त भयो । एउटा कम्युनिष्ट पार्टीलाई कमजोर बनाउने नाममा माओवादीलाई पोस्दा आज त्यसको हविगत काँग्रेस भोग्दैछ । माओवादीका कमरेड प्रचण्डलाई शीरमा राखेर सरकार सुम्पिनु, स्थानीय तह निर्वाचनमा काँग्रेसी कार्यकर्ता र आम प्रजातन्त्रवादी जनतालाई रूवाउँदै सिद्धान्तहिन ढङ्गले प्रचण्ड पुत्री लगायतलाई जिताउन नेपाली काँग्रेसले माओवादी केन्द्रलाई गरेको समर्थनले काँग्रेसलाई परेको क्षतिको अन्दाजसम्म वर्तमान काँग्रेस नेतृत्वले गर्न सक्दैन । 

राष्ट्रियता माथिको काँग्रेसको अटल एवम् दिव्य अडान खुकुलो


नेपाली काँग्रेसलाई जनताले विश्वास गरेको यस पार्टीको सिद्धान्त, विचार र प्रजातन्त्रको लागि निर्वाह गरेको गौरवशाली भूमिका र नेताहरूको उच्च छवि थियो । तर आज नामको नेपाली काँग्रेस त छ तर इतिहासको त्यो गौरवशाली काँग्रेस रहेन । न त्याग र समर्पण भावले भरिएका आदर्शवादी उच्च नेता रहे न नीति, सिद्धान्त र आदर्श रह्यो । 

राष्ट्रियता प्रति दह्रो अडान भएको, प्रजातन्त्रको मूल्यमा कुनै सम्झौता नगर्ने, धर्म पनि मान्ने, राजा पनि मान्ने मध्यमार्गी पार्टी भएको कारणले नै नेपाली काँग्रेसलाई जनताको विश्वास र अपार समर्थन रहँदै आएको थियो । त्यत्रो उच्चराष्ट्रवादी अडान भएको वीपी कोइराला जस्तो महान नेताले नेतृत्व गरेको पार्टीले भारत सरकारले अन्तराष्ट्रिय कानूनको भावना विपरित ५ महिनासम्म कठोर नाकाबन्दी गरेर नेपाली जनतालाई चरम दुःख दिंदा सत्तास्वार्थमा अल्झेको कमजोर नेतृत्वको कारण नेपाली काँग्रेसले त्यो नाकाबन्धीलाई नाकाबन्दिसम्म भन्न सकेन भने निर्वाचनमा अनि जनताले नेपाली काँग्रेसलाई दण्डित नगरेर कसलाई गर्छ ? विशेष गरेर वीपी कोइराला जसले ०७ सालको जनक्रान्ति दिल्लीमा गएर सम्झौतामा टुङ्गिएको विषयलाई लिएर जीवनभर निको मानेनन् उन कै भाई पार्टी सभापति बन्दा दिल्लीमा दौडिएर गएर माओवादीसंग जुन दिन १२ बुँदे समझदारी गरे त्यसै दिन देखि राष्ट्रियता माथिको काँग्रेसको अटल एवम् दिव्य अडान खुकुलो बन्न पुग्यो भन्दा अन्यथा हुँदैन । 

राष्ट्रियता प्रति दह्रो अडान भएको, प्रजातन्त्रको मूल्यमा कुनै सम्झौता नगर्ने, धर्म पनि मान्ने, राजा पनि मान्ने मध्यमार्गी पार्टी भएको कारणले नै नेपाली काँग्रेसलाई जनताको विश्वास र अपार समर्थन रहँदै आएको थियो ।

सिद्धान्त, नीति, आदर्श, प्रजातान्त्रिक राजनीतिक संस्कार र व्यवहारले काँग्रेस पार्टीलाई जनताले विश्वास गरेको हो । यी सिद्धान्त, व्यवहार र चरित्रलाई छोडेका दिन काँगे्रस काँग्रेस जस्तो रहँदैन । आज नेपाली काँग्रेस नामको पार्टी त छ, तर सिद्धान्त, आदर्श र संकारले त्यो इतिहासको गौशरवशाली नेपाली काँग्रेस समाप्त हुदैछ । त्यसैले आज काँग्रेस कमजोर भएको छ, निर्वाचनमा पराजय भोग्न वाध्य भएको छ । पछिल्लो प्रजातान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया, संविधान निर्माणका क्रममा कम्युनिष्ट पार्टीहरूसंग क्रान्तिकारी हुने होडमा आफ्ना स्थापना कालिन मौलिक सिद्धान्त, मान्यता, आदर्श र वीपी कोइरालाका राजनीतिक अडान र विचार माथि काँग्रेसले पटक–पटक सम्झौता गरेको छ । त्यो सम्झौता, तत्कालिन सात राजनीतिक दल र माओवादी बीच दिल्लीमा भएको १२ बुँदै समझदारी, सरकार माओवादी भएको वृहत शान्ति सम्झौता लगायतका कयौं सहमति र सम्झौता क्रममा काँग्रेसले प्रजातान्त्रिक मूल्य र आदर्श माथि प्रसस्त सम्झौता गरेको छ ।  काँग्रेसले कम्युनिष्ट जस्तो सिद्धान्त र चरित्र ग्रहण गर्ने हो भने काँग्रेसलाई जनताले किन भोट हाल्ने ? त्यसका लागि त कम्युनिष्ट पार्टीहरू नै छँदैछन् नि । यस पटक नभन्दै जनताले त्यसै गरे । बामपन्थीलाई भोट हाले । 

०४८ सालको पहिलो संसदीय निर्वाचनमा तत्कालिन पार्टी सभापति एवम् अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पराजय, ०५० सालमा काठमाडौं क्षेत्र नं. १ मा कृष्णप्रसाद भट्टराईलाई हराउन पार्टी कै शक्तिशाली नेता एवम् प्रधानमन्त्री लाग्ने प्रवृत्तिले काँग्रेस भित्र पसेको अराजकता र कुसंस्कारले आजसम्म काँग्रेसलाई सताइ रहेको छ । अन्तरघात, अनुशानहिनता र अराजकता काँग्रेस भित्र कहिल्यै निको नहुने रोग जस्तो भएर बसेको छ । यस कारणले पनि विगत देखि नै काँगे्रस कमजोर बन्दै गएको थियो भने, यस पटकको निर्वाचनमा पनि यो प्रवृत्ति देशव्यापी रूपमा नै त्यतिकै प्रभावी बन्यो । 

 सर्वोच्चनेता गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराईमा पनि मानवजन्य कमजोरी थिए, चित्त नबुझ्दा पार्टीबाट अलग भएर बस्नु भयो तर उहाँहरूले आफ्नो राजनीतिक स्वार्थमा पार्टी र देशलाई नोक्सान पु¥याउने काम गर्नु भएन । ०४८ को संसदीय निर्वाचन पछि प्रधानमन्त्री र ०५४ सालमा सम्पन्न पार्टीको ९ औं महाधिवेशन पछि पार्टीको सभापति बन्नु भएका गिरिजाप्रसाद कोइरालाले पछिल्ला दुई जीवित संस्थापक नेता सर्वमान्य नेता सिंह र सन्तनेता भट्टराईलाई पनि साथमा लिएर पार्टी र सरकार सञ्चालन नगरी एकलौटी ढङ्गले सञ्चालन गर्ने प्रवृत्तिले गिरिजा वावुमा अधिनायकवादी प्रवृत्ति हावी भयो । त्यही शैलीको खुलेर विरोध गर्दा गणेशमान सिंहले आँफैले स्थापना गरेको पार्टीबाट जीवन छँदै अलग भएर वस्नु प¥यो भन, अर्का संस्थापक सन्तनेता कृष्णप्रसाद भट्टराईले पनि पार्टीले स्थापनाकालिन सिद्धान्त र बाटोलाई छोडेर गलत बाटो हिड्न थाले पछि पार्टीबाट अलग हुनु प¥यो । यसबाट पार्टीलाई पुग्न गएको क्षति प्रति केवल सत्ता राजनीतिक स्वार्थमा अल्झेका हाम्रा नेताको ध्यान गएको छैन ।    

पार्टी र सरकार सञ्चालनमा देखिएको देउवाको कमजोरी

नेपाली काँग्रेसको १३ औं महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुगेका वर्तमान सभापति शेरबहादुर देउवाको झण्डै दुई वर्षको समय नेतृत्व, पार्टी र सरकार सञ्चालनमा देखिएको कमजोरी, उनका शैली र अभिव्यक्ति आदिले काँग्रेसलाई जनतामा अलोकप्रिय बनाएको कारणले काँग्रेसलाई कमजोर बनाएको र यसबाट स्थानीय तह र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्रोसंग असर पारेको विषयलाई नजरअन्दाज गर्न मिल्दैन । नेपाली काँग्रेसको सभापतिले नेतृत्व गरेको वर्तमान सरकार र यस अघि काँग्रेस समेत सम्मिलिन प्रचण्डले नेतृत्व गरेको सरकारका अलोप्रिय कामको नकारात्मक एकमुष्ट असर काँग्रेसलाई मात्र प¥यो । विवादास्पद व्यक्तिलाई राजदूत लगायतमा नियुक्त गर्ने, एउटा डी आई जीको बढुवामा अनावश्यक ढङ्गले सिङ्गो पार्टीलाई विवादमा मुछ्ने, प्रधानन्यायधिश माथिको व्यर्थको अविश्वास प्रस्ताव, नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले स्वतन्त्र न्यायालयको मान्यता विपरित गएर सर्वोच्च अदालतको फैसलाको विरूद्धमा पार्टी केन्द्रिय समितिबाट विचारै नगरी प्रस्ताव परित गर्ने, आम–जनताले के भन्लान भनेर ख्यालै नराखी नेपालको इतिहासमा नै सबै भन्दा ठुलो(रेकर्ड कायम राख्दै) ६४ जनाको मन्त्रिमण्डल बनाएर लोक हँसाउने लगायतका यस्ता काम भए जसले काँग्रेस पार्टी र यसको नेतृत्व प्रति जनतालाई चरम निरास बनाएको र यसबाट निर्वाचनमा निकै नकारात्मक असर गरेको यथार्थलाई उल्लेख नगरी आँखा चिम्म गरेर बस्न मिल्दैन ।


 पार्टी भित्र कायम रहेको लज्जास्पद ६०/४० को भागवण्डा संस्कृतिको अन्त्य गर्छु भनेर पार्टी सभापतिमा निर्वाचित भएका सभापतिले पार्टीमा गुटगत राजनीतिलाई अन्त्य गर्नुको सट्टा मन्त्रिपरिषद् गठन, टिकट वितरण लगायतमा गुटगत आधारमा काम गरेर पार्टीलाई गुटहरूको महासंघको रूपमा परिणत गरेको कारणले पार्टी थप कमजोर बन्न गएको छ ।

पछिल्ला स्थानीय तह र प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचनमा योगदान, त्याग र क्षमतालाई पर्वाह नगरी गुटगत आधारमा टिकट वितरण गरिएको कारणले समेत नेपाली काँग्रेसले निर्वाचनमा पराजय भोग्नु परेको हो । 

नेपाली काँग्रेसमा पार्टी क्रियाशील सदस्य वितरण गर्ने कुनै निश्चित मापदण्ड बनेको छैन । पार्टी संगठन र पदाधिकारी कब्जा गर्ने मनोविज्ञानबाट प्रेरित भएर जथाभावी सदस्य वितरण गरिएको छ । यस पटक मैले प्रदेशसभा सदस्यमा निर्वाचन लडेको प्रदेशमा एघार सय भन्दा बढि क्रियाशील मध्ये एक चौथाई भन्दा बढि सदस्यलाई मैले भेट्न सकिन । पार्टी वडा समितिका सभापतिले आफ्ना क्रियाशील सबै सदस्यलाई चिन्न सक्ने अवस्था छैन । अहिले कै पारामा क्रियाशील सदस्य वितरण गर्ने पद्धतिलाई कायम राखिराख्ने हो भने एक दिन यही स्वेच्छाचारी, अराजक एवम् अनुशासनहिन क्रियाशील सदस्यहरूले नै नेपाली काँग्रेसको संगठनलाई ध्वस्त पार्ने निश्चित छ ।  


यसकारण विशेष महाधिवेशन

काँग्रेसले आफ्ना सदस्यलाई आर्थिक पारदर्शीता र अनुशासनमा राख्न विशेष कार्यक्रम बनाउनै पर्दछ । चन्दा असुलेर, होनीअहोनी काम गरेर राजनीति चलाउने वा परिवार चलाउने प्रवृत्ति पार्टी भित्र बन्द हुनै पर्छ । कार्यकर्ता जम्मा गर्ने नाममा पार्टीमा वेरोजगार युवा पङ्तिको भिड जम्मा गर्ने ठाउँ बन्नुहुन्न । नेपाली काँग्रेसका कार्यकर्ताले स्थायी लेखा नम्बर लिने र राज्यलाई कर तिरेको रसिदको पार्टीलाई बुझाउने व्यवस्था गरिनु पर्छ । यो कामको प्रारम्भ पहिलो चरणमा पार्टी केन्द्रीय समितिका सदस्य एवम पदाधिकार, जिल्ला सभापति, महाधिवेशन प्रतिनिधिबाट हुनु पर्दछ । क्रमिक रूपमा सबै कार्यकर्तामा लागु गर्नु पर्दछ ।

पार्टीका कार्यकर्तालाई उत्पादनशील एवम् सिर्जनशील काममा प्रेरित गर्ने, कुनै पेशा, व्यवसाय वा निश्चित वैधानिक आय स्रोतका काममा लाग्नका लागि पार्टीले सँधै अभिप्रेरित गर्नु पर्छ । त्यसरी प्राप्त भएको वैधानिक आयबाट नियमानुसार राज्यलाई कर तिर्नु पर्ने व्यवस्था अनिवार्य गर्नु पर्छ । आफ्नै खुट्टामा उभिन सक्ने कार्यकर्ता मात्र स्वाभिमान र इमान्दार भएर निष्ठापूर्वक पार्टीको सेवामा लाग्न सक्छन् । नेपाली काँग्रेसले यस तर्फ ध्यान दिन जरूरी भएको छ ।

कमसेकम नेपाली काँग्रेसका प्रत्येक केन्द्रीय सदस्य एवम पदाधिकारी, महाधिवेशन प्रतिनिधि, जिल्ला समिति, क्षेत्रीय, र नगर समितिका सदस्य एवम पदाधिकारीले आफ्नो सम्पतिको विवरण पार्टीलाई बुझाउने व्यवस्था गर्नु पर्दछ । पार्टीको अधिलेख विभागले यसलाई व्यवस्थित गर्नु पर्दछ । 

नेपाली काँग्रेसको आर्थिक मामिलालाई पारदर्शी ढङ्गले व्यवस्थापन गर्नु पर्दछ । केन्द्र, जिल्ला, क्षेत्र र नगर समितिहरूले अनिवार्य रूपमा चन्दा संकलन, अन्य आय र खर्चको हरहिसाव दुरूस्त राखी रजिष्टर्ड अडिटरबाट लेखा परिक्षण गर्ने परिपार्टी बसाल्न आवश्यक छ । 

कार्यकर्ता संरक्षण कोषको स्थापना

 सक्रिय सदस्यबाट उठेको लेबीको निश्चित रकमबाट एउटा कार्यकर्ता संरक्षण कोषको स्थापना गरिनु पर्दछ । यस कोषमा महाधिवेशन प्रतिनिधिले वार्षिक रूपमा निश्चित रकम अनिवार्य रूपमा बुझाउनु पर्ने व्यवस्था समेत गर्नु पर्दछ । आर्थिक दृष्टिले विपन्न वर्गका पार्टी कार्यकर्ता वा उसको परिवारलाई क्यान्सर, किड्नी फेल, मुटु रोग जस्तो प्राण घातक रोग लागेको अवस्थामा उपचार खर्च स्वरूप सहयोग गर्न र ठुला आगजनी, बाढी, पहिरो, भुकम्प लगायतको प्राकृतिक विपत्ति परेको अवस्थामा सहयोग गर्न त्यो कोषको सदुपयोग हुनेछ । त्यस कोषको सञ्चालन एवम व्यवस्थापन पारदर्शी ढङ्गले निश्चित विनियम बनाई गरिनु पर्छ ।

नेपाली काँग्रेस जस्तो राष्ट्रिय चरित्र बोकेको गौरवशाली प्रजातन्त्रवादी पार्टीले महिला, विद्यार्थी, तरूण, मजदुर, जेष्ठ नागरिक लगायत वर्गिय आधारमा बाहेक जाति, धर्म आदिका आधारमा कुनै पनि प्रकारको भातृ वा शुभेच्छुक संस्था खोल्न हुँदैन । कम्युनिष्ट पार्टीको सिको गर्दै प्रजातान्त्रिक मूल्य र मान्यता विपरित जातिगत आधारमा खोलिएका सुभेच्छुक वा भातृ संस्थाहरू तुरून्त खारेज गर्नु पर्दछ ।

पार्टीको विभिन्न तह र संसदीय निर्वाचनमा एक पटक आरक्षणको कोटा उपयोग गरिसके पछि पुनः आरक्षण सिटको उपयोग गर्न नपाउने व्यवस्था कडाईकासाथ लागु गर्नुपर्छ । 

पार्टीका महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई महाधिवेशन वा महासमिति वैठकमा मात्र सहभागी बनाउने पद्धतिमा सुधार गरेर पार्टीको केन्द्र, जिल्ला, क्षेत्रीय समितिले पार्टीको विधान बमोजिम नियमित रूपमा कार्यसम्पादन गरे नगरेको निगरानी राख्ने गरी निश्चित अवधिमा पार्टीलाई प्रतिवेदन बुझाउने गरी विधानमा प्रवन्ध गर्नु पर्छ । 

 नेपाली काँग्रेस माथि उल्लेखित विविध कारणले दिन दिनै कमजोर बन्दै गएको, निर्वाचनमा पराजय भोगेको अवस्थामा पार्टीलाई विधि, पद्धति र प्रक्रियाबाट चलाउने, स्पष्ट नीति सिद्धान्त र कार्यक्रमका साथ पार्टी समयानुल गतिशील बनाउन आग्रह र पूर्वाग्रह भन्दा माथि उठेर कुनै नेता रिसाउने हुन् कि भनेर कसैको मुख नताकी निष्ठावान कार्यकर्ता पङ्ति अग्रसर हुनै पर्छ, आँटिलो कदम चाल्नै पर्दछ । यसका लागि पार्टी विशेष महाधिवेशन डाक्नै पर्दछ । 

(वीपीको मेलमिलाप दिवसका अबसरमा कांग्रेस नेता ढकालले काँग्रेसको आमूल परिवर्तन र पुनःनिर्माणको लागि राखेको प्रस्तावको अंश)  


 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x