काठमाडौंका सडकमा मान्छे मार्ने ‘पासो’ (भिडियो रिपोर्ट)

पुस १८, २०७४

काठमाडौं, १८ पुस– विदेशबाट नेपाल घुम्न आउने पर्यटकको पहिलो गन्तव्य हो काठमाडौंको ठमेल । नेपाल आउने जो–सुकै विदेशी पर्यटक पनि ठमेल पुगेकै हुन्छन् । विदेशमा नेपालबारे राम्रो प्रचार गर्न ठमेल जतिसक्यो आकर्षक ठाउँ बनाइनु पर्ने हो । तर यहाँको सडक नाक खुम्च्याउनुपर्ने अवस्थाका छन् । 

‘एक महिना अगाडि मात्रै पिच गरेर गएको हो,’ ठमेलको इन्द्रेणी चोकका एक स्थानीय भन्दै थिए, ‘अहिले आएर सबै पिच उप्किसकेको छ ।’


ADVERTISEMENT

काठमाडौंको मुटु मानिने प्रदर्शनीमार्गदेखि पुतलीसडक जाने सडकको अवस्था पनि त्यस्तै छ । त्यहाँ हरेक तीन महिनाको फरकमा पिच हुने गरेको स्थानीयले बताए । तर त्यो पिच एक महिना पनि टिक्दैन । केही समय अगाडि मात्रै पिच गरिएको त्यो बाटो ठाउँ–ठाउँमा भत्किसकेको छ ।

यी त प्रतिनिधि ठाउँ मात्रै हुन् । काठमाडौंका कुनै पनि सडक अहिले सद्दे छैनन् । कहिले मेलम्चीको नाममा त कहिले ढल मर्मत गर्ने नाममा सद्दे सडकको बीचमा खनिन्छ । र मर्मत नगरी छाडिन्छ । जसकारण यस्ता सडकमा दैनिक दुर्घटना भइरहेकै हुन्छ । 

स्थानीयहरु सडकमा मान्छे मार्ने ‘पासो’ थाप्ने गरिएको बताउँछन् । ‘दिउँसो गाडि गुडाएर गएको सडकमा राति आउँदा खाल्डो पारिएको हुन्छ,’ ललितपुरको ज्वागल बस्ने ललित भण्डारी भन्छन्, ‘राम्रै सडकलाई पनि अन्धाधुन्ध खनेर सरकारले सडकमा मान्छे मार्ने पासो थापिरहेको छ ।’

काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटनामध्ये अधिकांश सडककै दूरावस्थाका कारण हुने गर्छन् । ट्राफिक प्रहरीका अनुसार ६० प्रतिशत सवारी दुर्घटना सडकको दूरावस्थाका कारण हुने गरेका छन् । 

थप तलको भिडियोमा.....
 

पुस १८, २०७४ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस