मिटरमा चल्न नमान्ने १८ जना ट्याक्सी ड्राइभर पक्राउ परेपछि पोखरामा चक्काजाम

पोखरा, २६ पुस –मिटरमा चल्न नमान्ने १८ जना ट्याक्सी ड्राइभरहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेर हिरासतमा राखेपछि पोखराका ट्याक्सी ड्राइभरहरु आन्दोलित भएका छन् । उनीहरुले बुधबार बिहानैदेखि पोखराको पृथ्वीचोक लखनचोकमा आ–आफ्ना ट्याक्सीहरुलाई बाटो अवरुद्ध हुने गरी राखेका छन् । ट्याक्सी ड्राइभरहरुले प्रहरी प्रशासनकाविरुद्ध नाराबाजी गरिरहेका छन् । 

ब्यवसायीको आन्दोलनले पोखराको मुख्य चोक पृथ्वीचोकमा गाडीहरु लामो जाममा परेका छन् । ट्याक्सीहरु मिटरमा नचलेको गुनासो सुनिएपछि कास्की प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले मिटरमा चल्न नमान्ने १८ जना ट्याक्सी ड्राइभरहरुलाई मंगलबार पोखराका विभिन्न ठाउँबाट  समातेर जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।

उपभोक्ताहरुलाई मनपरी भाँडा असुल्ने र मिटरमा ट्याक्सी चलाउन नमान्ने चालकहरुलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रमूख अशोक सिंहले बताएका छन् । नियन्त्रणमा लिइएको चालकहरुलाई यातायात कार्यँलय पठाएको एसपी सिंहले जानकारी दिए ।

‘यात्रु ठग्न पाउनु पर्छ भन्ने माग स्वीकार्य हुँदैन, मिटरमा चल्न नमान्नेमाथि कारवाही हुन्छ’ उनले लोकान्तरसँग भने । पर्यटकीइ नगरी पोखराका ट्याक्सीहरुले स्वदेशी तथा विदेशी पर्यटकमाथि जथाभावी भाडा असुलेपनि यसअघि कारवाही भएको थिएन । -ओम हमाल 

पुस २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस