सन् २०२० सम्म चीन विश्वकै ठूलो फिल्म बजार, हलिउडलाई समेत उछिन्ने

पुस २६, २०७४

तीव्ररुपमा वृद्धि भैरहेको चीनको सिनेमा बजारले सन् २०२० सम्म अमेरिकालाई उछिन्ने अध्ययनले देखाएको छ । चीन सरकार मातहतको प्रेस, पब्लिकेसन, रेडियो, फिल्म र टेलिभिजन विभागका अनुसार सन् २०१७ मा मात्र चीनको बक्सअफिसको आकार ४४ विलियन आरएमबी    (८.३६ विलियन डलर) पुगेको छ । 

चीनले पर्दाको संख्यामा उत्तर अमेरिकालाई उछिनेको छ । अमेरिका र क्यानडाभन्दा चीनमा ४४ हजारभन्दा बढी टुडी पर्दा, ३८,३०० सय थ्रीडी पर्दा छन् । गत समरमा चीनमा विदेशी फिल्ममा रोक लगाइएको बेला स्थानिय फिल्मले निकै व्यापार गरेको थियो जुन विदेशी फिल्म देखाइँदाको भन्दा निकै बढी हो । 


ADVERTISEMENT

सोही समयदेखि चीनमा फिल्म बजारको आकारमा ह्वात्तै वृद्धि भएको आंकलन गर्न सकिन्छ । उक्त समयमा रिलिज भएको उल्फ वारियर २ ले रिलिजको १२ दिनमै सर्वाधिक कमाउने सिनेमाको कीर्तिमान राखेको थियो । उक्त अवधिमा त्यसले ८२० मिलियन डलर कमायो । 

आम्दानी बाँडफाँट हुने प्रणालीअनुसार यतिबेला चीन सरकारले वर्षेनी ३४ वटा विदेशी फिल्मलाई देशमा प्रदर्शनको अनुमति दिएको छ । यसलाई कोटा सिस्टम भनिन्छ । अमेरिकी मोसन पिक्चर एसोसिएसनले चिनियाँ बजारको लेखा परिक्षणका लागि फर्म नै हायर गरेको बताइन्छ । 

चीनले आगामी वर्ष विदेशी फिल्मको कोटामा वृद्धि गर्ने अनुमान गरिएको छ । अमेरिकाले समेत गत सन् २०१२ मा भएको व्यापार सम्झौताअनुसार त्यस्तो गर्न चीनलाई दवाव दिइरहेको छ । 

पुस २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस