एमाले–माओवादी कार्यदलले आजबाट काम शुरु गर्दै

काठमाडौं, २७ पुस– वाम गठबन्धनबाट राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गठित कार्यदलले बिहीबारदेखि काम शुरु गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको कार्यदलको बैठकले चारवटा मापदण्डका आधारमा बिहीबारदेखि नै सघन रुपमा काम सुरु गर्ने निर्णय गरेको माओवादी केन्द्रका नेता बर्षमान पुनले जानकारी दिए । 

उनका अनुसार बुधबार बसेको बैठकमा कार्यदलको काम गर्ने आधार, राष्ट्रियसभा र प्रदेशसभाका विभिन्न पदाधिकारीको व्यवस्थाबारे प्रारम्भिक छलफल भएको छ । नेता पुनले छिट्टै पार्टी एकता हुने पनि दाबी गरे ।

कार्यदलले गृहकार्य गरेर राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुखलगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्ने भएको छ । दुवै पार्टीका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दहाल प्रचण्डसहित बसेको बैठकमा बिहीबारबाटै भोलीबाटै काम सुरु गर्न कार्यदललाई निर्देशन भएको हो । 
 

पुस २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस