प्रचण्ड-मोहनबिक्रम भेट : वामपन्थी एकता र तालमेललाई बलियो बनाउने सहमति

पुस २७, २०७४

ललितपुर, २७ पुस- ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ने.क.पा. (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहबीच भेट भएको छ ।

अध्यक्ष प्रचण्डलाई भेट्न महामन्त्री सिंह बिहीबार बिहान ७.३० बजे प्रचण्ड निवास खुमलटार पुगेका हुन् । भेटमा वाम गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नेबारे कुराकानी भएको थियो ।


भेटमा नेता सिंहले बामपन्थीहरु मिलेर अघि बढ्दा मात्रै मुलूकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुनेमा जोड दिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थीहरु मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसाल बीचको चुनावी तालमेललाई कायमै राखिने बताए । 

भेटमा दुवै नेताहरु राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेद्वार खडा गर्दै वामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत भएका छन् । 

पुस २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस