सन्दर्भ पृथ्वी जयन्ति :  इतिहास कुनै व्यक्ति वा समूहलाई नमीठो लाग्दैमा मेट्न सकिंदैन

पुस २७, २०७४

पृथ्वी जयन्ति र राष्ट्रिय एकता दिवसको रूपमा नेपालीजनले मान्दै आएको दिन पौष २७ गते २०६३ सालदेखि २०७३ सालसम्मको अवधिमा ओझेलमा परेको थियो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहाको सम्झना गर्ने र श्रध्दाञ्जलि अर्पण गर्ने परम्परा जनस्तरमा कायम रहे तापनि सरकारी स्तरबाट भने त्यो मान्यता नै खोसे सरह गरियो : पौष २७ गतेको सार्वजनिक विदा कटौती गरियो ।

 


ADVERTISEMENT

‘क्रान्तिकारी’ शक्तिहरूको उक्साहटमा त्यतिखेरको सरकारका प्रमुख र गृहमन्त्री समेतले नेपाली जनतालाई एकता नै नचाहिएको अर्थ लाग्ने हिसाबले गलत निर्णय गरेका हुन् । संयोग हो, नेपाली काँग्रेसका तत्कालीन सभापतिले सरकारप्रमुख हुँदा गरेको गल्ती अहिले दशवर्षपछि  त्यसै पार्टीका उस्तै जिम्मेवारी बोक्ने व्यक्तिले सच्याएका छन् । यस सीमित सन्दर्भमा शेरबहादुर देउवाले उचित श्रेय पाउँछन् ।

 

पृथ्वीनारायण राजा थिए, तर अहिले राजतन्त्र पाखा लागिसकेको छ त्यसैले उनको सम्झना र सम्मान गर्नु समयसापेक्ष हुँदैन भन्ने तर्क गर्नेहरू बेला-बखत भेटिन्छन् । परन्तु यो युक्तियुक्त तर्क होइन किनभने अभिलेख र इतिहासका क्रम कुनै व्यक्ति वा समूहलाई नमीठो लाग्दैमा मेट्न सकिंदैन। जस्तो, १०४ वर्षे राणा शासनसित गाँसिएका शोषणका कथा-व्यथा निन्दनीय छन्/हुन् भन्दैमा त्यस कालखण्डलाई नेपालको इतिहासबाट झिकेर फाल्न मिल्दैन ।

यो शाश्वत कुरो हो; संसारका सबै देशका इतिहासमा उकाली-ओराली आएका हुन्छन् । तसर्थ नेपालका निर्माता उस बखतका राजा पनि थिए भने यसलाई अन्यथा लिनुपर्ने वा यस युगमा आएर हामीलाई हीनताबोध हुनुपर्ने कारण देखिँदैन । अतएव आजको दिनलाई ‘साझा फूलवारी’ का मालीको ससम्मान स्मरण गर्ने अवसरको रूपमा स्वीकार गर्नु बुध्दिमानी हुनेछ । विविधतामा एकता झल्काउने पृथ्वीनारायणको दूरदृष्टि आखिर आएर अहिलेको राष्ट्रियगानका रचयिता व्याकुल माइलाले ‘सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली’ ले सार्थक बनाएको तथ्य जगजाहेर छ । यतिखेरको हाम्रो सजगता यो माला नचुँडियोस् भन्नेमा केन्द्रित हुनुपर्छ । देशलाई प्रदेशमा लगिएको बेला छ, कतै ‘परदेश’ हुन नपुगोस् भनेर आज बिहिवार बिहान रेडियो नेपाललाई अन्तर्वार्ता दिँदा संस्कृतिविद् डा. जगमान गुरुङले त्यसै वास्तविकतालाई औंल्याउनु भएको हो ।

 

आजको र अन्य यस्तै सार्वजनिक विदाको उपयोग कसरी गर्ने त ? सरकारी कर्मचारी र तिनको सिको गरी हिंड्नेहरूले घाम तापेर वा तास खेलेर समय कटाउने बाटो रोज्लान् तर समयको सदुपयोग गर्छु भन्नेका लागि अनेक उपाय छन् । एउटा उपाय त जे-जस्तो सन्दर्भ मिलाएर विदा दिइएको हो त्यसकै बारेमा विचार-मन्थन, सारगर्भित बहस र चर्चामा त्यस दिनको उपयोग गर्नु जाती हुन्छ । जस्तो, डा. जगमान गुरुङले उल्लेख गरे झैं ‘दिव्य उपदेश’मा नेपालको सुरक्षा नीति, आर्थिक पध्दति, घरेलु नीति र परराष्ट्र नीतिहरूलाई दिशानिर्देश हुने गहन बुँदा परेका छन्; तिनका एक-एक बुँदालाई केलाएर आधुनिक परिवेशमा संयोजन गर्न मिल्ने खाका/ढाँचा तयार गर्न परिमार्जनका लागि परामर्शका सिलसिला चलाउन सकिन्छ ।

 

नेपालको सेनाले यसको संगठनको श्रेय पृथ्वीनारायण शाहालाई दिने गरेको हुनाले परिवर्तित परिस्थितिमा नेपाली सेनाको रणनीति के कस्तो हुनुपर्छ त्यसबारे समयसापेक्ष र अनुशासित बहसको पहल गर्न सक्दछ ।

 

‘दुई ढुङ्गा बीचको तरूल’ भनिएको मुलुक हरघडी सचेत र सजग रहनुपर्ने अवस्थामा छ ।  

पुस २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस