आन्दोलनरत नर्सहरुद्धारा एक घण्टा काम ठप्प

काठमाडौं, २८ पुस– आन्दोलनरत नर्सहरुले शुक्रबार बिहान एक घण्टा काम ठप्प पारेका छन् । बिहान १० बजेदेखि ११ बजेसम्म अस्पतालबाहिर निस्किएर एक घण्टा काम छोडेका हुन् । 
घोषित आन्दोलन अनुसार उनीहरुले बुधबारदेखि नै हातमा कालोपट्टी बाँधेर सेवा दिइरहेका थिए । आज भने त्रिवि शिक्षण अस्पताल, वीर, गंगालाल जस्ता ठूला अस्पतालका नर्सहरुले एक घण्टा काम छोडेका हुन् । 

११ बुँदे माग अघि सार्दै नेपाल नर्सिङ संघको आह्वानमा नर्सहरु आन्दोलनमा छन्। उनीहरुले ३० गतेसम्म सबै अस्पताल र शैक्षिक संस्थामा एक घन्टासम्म ड्युटी छाड्ने निर्णय गरेका छन्। 

उक्त अवधिमा पनि माग पूरा नभए माघ १, २ र ३ गते १० देखि १ अर्थात् ३ घन्टा ड्युटी छाड्ने उनीहरुले चेतावनी दिएका छन् । त्यसैगरी ४, ५ र ६ गते सबै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने कार्यक्रम तय गरेका छन् ।

मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनासर्त अविलम्ब पुनर्बहाली, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुर्नस्थापना, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिन नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गरिनुपर्ने लगायतका माग राखेर उनीहरु आन्दोलमा उत्रिएका हुन् ।
 

पुस २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार