निर्वाचन आयोगले सरकारलाई भन्यो, प्रदेश प्रमुखको नियुक्ति तत्काल गर

पुस २८, २०७४

 काठमाडौं, २८ पुस– निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति घोषणा भई निर्वाचन कार्य तालिका समेत प्रकाशित भइसकेको हुनाले प्रदेश सभा सदस्यको निर्वाचनको नतिजा घोषणा गरी ७ दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनु पर्ने भएकाले प्रदेश प्रमुख नियुक्ति गर्न सरकारसँग आग्रह गरेको छ ।

प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको नतिजा प्रदेश प्रमुख समक्ष बुझाउनु पर्ने व्यवस्था रहेको आयोगले बताएको छ । 
प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले तत्काल प्रदेश प्रमुख नियुक्त गर्न सरकरको ध्यानाकर्षण गराउने निर्णय गरेको आयोगका प्रवक्ता नबराज ढकालले जानकारी दिए । 


‘‘राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति घोषणा भई निर्वाचन अधिकृतको नियुक्ति, कार्यालय स्थापना र कार्यक्रम सञ्चालन प्रक्रिया प्रारम्भ भइसकेको तर हालसम्म प्रदेश प्रमुख नियुक्त नहुँदा प्रदेश सभा सदस्य निर्वाचनको नतिजा घोषणा गरी ७ दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनु पर्ने कानूनी बाध्यताका कारण राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रक्रियामा समेत प्रभाव पर्न सक्ने सम्भावना देखिएकोले निर्वाचन आयोग प्रदेश प्रमुखको नियुक्ति हुन नसकेको अवस्थाप्रति गम्भीर भएको छ । तसर्थ, यथाशीघ्र प्रदेश प्रमुखको नियुक्ति हुने ब्यवस्था मिलाउन नेपाल सरकारलाई पुनः अनुरोध गरी गृह मन्त्रालय मार्फत लेखी पठाउने ।” आयोगको निर्णयमा भनिएको छ ।
 

पुस २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार