थारु माघीः वर्ष दिनकालागि नयाँ नीतिनियम बनाउने पर्व

लक्की चौधरी
पुस २९, २०७४

थारु माघी सो समुदायको नयाँ वर्ष हो । नेपालीका लागि माघे संक्रान्ति राष्ट्रिय पर्व हो । तर माघे संक्रान्ति एक दिनमै सीमित छ भने माघी पर्व पुरै महिनाभरी । पूर्वका थारुले यसलाई तिला संक्राइत् भन्ने गर्छन् । चाडपर्वमा मिठो खाने र रमाइलो गर्ने त हुन्छ नै । तर थारु समुदायले सांस्कृतिक कार्यक्रम र खानपिनलाई मात्र जोड दिएका हुँदैनन् । त्यस सँगसँगै त्यसको सांस्कृतिक, सामाजिक, राजनीतिक, धार्मिकपक्षलाई समेत ख्याल गर्छन् । 

माघीपर्व केवल खानपिन र रामरमाइलोमा मात्र सीमित छैन । खेतीपाती कृषि किसानीमा बढी व्यस्त रहने थारु समुदाय चाडपर्वलाई थकान मेटाउने अवसरको रुपमा उपयोग गर्छन् । एकाअपसमा रमाइलो, मनोरञ्जनका साथै, साथी–भाइबीच भातृत्वप्रेम तथा आदरसम्मान गर्न सिकाउने ‘माघी’ थारु समुदायमा अन्य पर्वभन्दा वेग्लै महत्व राख्छ । वर्ष दिनकालागि नयाँ नीतिनियम बनाउने, त्यसको कार्यान्वयनको प्रतिवद्धता गर्ने काम थारुले माघीमा गर्छन् । नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने, गएको वर्षभरिको कामको समिक्षा गरी लोकतान्त्रिक प्रक्रियाअनुसार विकास निर्माणको काम अगाडि बढाउँछन् । 


ADVERTISEMENT

थारु जातिको मौलिकता बोकेको ऐतिहासिक् चाड माघीलाई विकासे पर्वकोरुपमा हेरिन्छ ।  ‘हाम्रो’ भावनाको विकास यही माघीले गराउँछ । पूर्खाको आशीर्वाद थाप्ने, आफूभन्दा ठूलाको आदर र सानालाई मायागर्ने भावनाको विकास गर्छ । वर्षभरिको दुःखसुखका कुरा एकापसमा साटासाट गर्ने, मीठो–मसिनो खाएर आत्मसन्तुष्टि लिनेकाम यसै पर्वमा हुन्छ । विवाह गरी ससुराली गएका चेलीबेटीलाई उपहार दिने र उनीहरुको सुख–दुःखको कुरा अभिभावकबाट जानकारी लिने काम हुन्छ । वर्षदिनको कामको समिक्षा गरी नयाँ कामको शुरुवात गर्ने पर्व भएकाले माघीलाई थारु समुदायले अन्य पर्वभन्दा विशेषरुपले लिन्छन् । त्यसैले यस पर्वलाई नयाँ वर्षकोरुपमा मनाउँछन् । थारु समुदायका लागि माघी किन महत्वपूर्ण छ भन्ने विषयमा यसको बहुआयामिक पक्षमा यहाँ चर्चा गरौं ।  

सामाजिक महत्वः

मानिस समाजमा बस्ने प्राणी हो, त्यसैले सामाजिक प्राणी भयो । तर समाजमा बसेर उसको व्यवहार समाजिक, लोककल्याणकारी छ कि छैन, त्यसले महत्व राख्छ । थारु समुदाय समाजमा अन्तरघूलित भएर बस्ने आदिबासी जाति समुदाय हो । समाजमै बस्छ, समाजमै रमाउँछ र समाजकै गतिविधिमा संलग्न रहेर जिविकोपार्जन तथा अन्य विकासको काम गर्छ । त्यसैले होला थारु समुदायको घरपनि एकै ठाउँमा गुजमुज्ज परेर बनेका हुन्छन् । सुखदुःखमा एकअर्कालाई साथदिन मरिमेट्छन् । समाजिक भावना यी समुदायमा अधिक्तम पाइन्छ । 
  

माघी पर्व सामुहिकतामा मनाउँछन् थारुले । एक अर्कासँग भातृभाव, सद्भाव र प्रेम गरेर मनाउँछन् । आफू जे खान्छन् र अरुलाई पनि खुवाउँछन् । विहानै स्नानगरेर पूर्खाको आशीर्वाद लिएर थारु गाउँघरमा गरिने सबै रीतिरिवाज पूरा गर्छन् । सेवाढोग गरी माघीबाटै नयाँ सम्बन्ध र भाइचारा भावनाको विस्तार शुरु गर्छन् । चाहे मनोरञ्जन गर्न मघौटा नाच होस्, मासुकालागि सुंगुरबंगुर काट्दा (जिता मार्दा) होस् । पूर्खाको आशीर्वाद थाप्नेबेला होस् कि गाउँको, घरको जिम्मेवारी बाँडफाँड गर्दा होस् । सबै काम सामुहिक छलफल र निर्णयले गर्छन् थारु समुदायले । घरको मूली छान्नसमेत घरका सबै सदस्यहरुसँग छलफल गरी निक्र्यौल गर्ने प्रचलन छ ।

देशलाई विधिवतरुपमा सुचारु गर्न प्रधानमन्त्री, मन्त्री, संवैधानिक अंगका प्रमुख, शासक प्रशासक चाहेजस्तै, थारु गाउँलाई विधिवतरुपले सुचारु गर्न बडघर, भलमन्सा, चौकीदार, अघरिया आदिको आवश्यक्ता पर्छ । घरलाई हाँक्न घरमूलीको आवश्यकता पर्छ । थारु समुदायले समाजकै रोहवरमा सबैको साझा छलफल र निर्णयअनुसार त्यसको व्यवस्थापन गर्ने गर्छन् । यसले एकातिर सामाजिक भावनाको विकास गराउँछ भने अर्कोतिर निर्णय प्रक्रियामा सहभागी हुन सबैलाई उत्प्रेरित गर्छ ।

सहयोग, सहकार्य र समन्वय गर्ने भावनाको पनि यसले विकास गराउँछ । त्यसैले पनि माघीपर्वको सामाजिक महत्व बढी छ । गाउँको हरेक कामकाजको निर्णयमा गाउँभरीका सदस्यको सहभागिता रहन्छ । एकल निर्णय गरिदैन । विकास निर्माण, कुलोपानी आदिको व्यवस्थापनका लागि प्रस्ताव बडघर (गाउँको अगुवा) ले गर्छ, छलफल गरी निर्णय लिनेकाम सामुहिकरुपमा गरिन्छ । यो काम माघ महिनामै हुनेगर्छ, त्यसैले यसको सामाजिक महत्व प्रष्टिन्छ । 

सांस्कृतिक महत्वः

सांस्कृतिकरुपमा धनी समुदायमध्ये थारु एउटा हो । नेपालमा १२६ जातजाति र १२३ भाषाभाषि बोल्ने समुदाय छन् । थारु समुदाय भाषिकरुपमा चौथो ठूलो समुदाय हो । भाषा र संस्कृतिमा धनी यस समुदायको आफ्नो रीतिरिवाज, चालचलन र सांस्कृतिक मूल्य मान्यताहरु छन् । वर्ष दिनभर मेहनत गरेर अन्न उत्पादन गर्ने र थकानकालागि महिनैपिच्छे विभिन्न चाडपर्व, सांस्कृतिक कार्यक्रम यस समुदायले गर्नेगर्छ । थारु समुदायको नृत्य, सांस्कृतिक कार्यक्रम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल छ । थारु समुदायको सांस्कृतिक कार्यक्रम भनेपछि जोसुकै हुरुक्कै हुन्छन् । अवलोकनका लागि लालायित हुन्छन् । यो नै थारु समुदायको सांस्कृतिक गौरवको विषय हो । 

माघी पर्वमा मटौता, हुरदंग्वा, झुमरा लगायतका नाचहरु नाचिन्छन् । सामुहिकरुपमा गर्ने यस्ता सांस्कृतिक कार्यक्रमले थारु समुदायबीचको मेलमिलाप, भातृभाव र सामुहिकतालाई थप सहयोग गर्छ । थारु समुदायको सांस्कृतिक कार्यक्रम केवल सो समुदायकालागि मात्र होइन । यो त सिङ्गो नेपालीहरुको सांस्कृतिक गहनाकोरुपमा रहेको छ । वर्षौ वर्षसम्म एकापसमा भेटघाट नभएका व्यक्तिबीच माघीपर्वले भेटघाट गराउने, समन्यय र सदभाव बढाउने काम गर्छ ।

सांस्कृतिक कार्यक्रमले एकातिर मनोरञ्जन प्रदान गर्छ भने अर्कोतिर सो समुदायको सांस्कृतिकपक्षको जगेर्ना गरिरहेको हुन्छ । नियमितरुपमा हुने यस्ता सांस्कृतिक कार्यक्रमले युवापीढिलाई समेत आकर्षित गर्छ र अंग्रेजी पढ्ने नाममा समाजबाट टाढा भएका युवा विद्यार्थीको समेत ध्यानलाई आकर्षित गर्छ । बलियो सांस्कृतिक पक्षलेगर्दा बुढापाकाले मनाउने यस्ता सांस्कृतिक कार्यक्रम क्रमशः युवापुस्तामा हस्तान्तरण हुँदैजान्छ । खासगरी माघीपर्व परम्परागतरुपमा मनाइने भएपनि यसको सांस्कृतिक पक्षलाई जोगाउनु पनि उत्तिकै महत्वको विषय हो ।

यसले एकअर्कालाई एउटै मालामा बाँधेर राख्ने भूमिका खेल्छ । त्यसैले  माघी पर्वको सांस्कृतिक महत्व छ भनिन्छ । संस्कृति जुनसुकै समुदायको आफ्नो मौलिक पहिचान हो भने ती देशभित्र गरिने सबै जातजातिको कार्यक्रम अन्य मुलुकका लागि भने नेपालकै पहिचान बन्नजान्छ ।  

राजनीतिक महत्वः

थारु समुदाय यहाँको आदिबासी भएपनि राजनीतिक चेतनामा निकै पछाडि परेको समुदाय हो । यस समुदायले स्थानीय गाउँघरमा सदियौंदेखि राजनीतिक अभ्यास गरेपनि देशको मूल प्रवाहको राजनीतिमा पकड बनाउन सकेको छैन । यद्यपि प्रयासमा छ । सो समुदायको गाउँघरको सीमित घेराभित्र गरिने लोकतान्त्रिक र राजनीतिक प्रक्रिया गाउँघरको घेराभन्दा बाहिर आउन अद्यापि आउन सकिरहेको छैन । गाउँको अगुवा, बडघर, घरमुली, विकास निर्माण समितिको संयोजक भएर परापूर्वकालदेखि सो समुदायले लोकतान्त्रिक अभ्यास गर्दैआएको छ । तर त्यही अनुभवलाई मूलप्रवाहमा चिनाउन असफल छ । त्यसको प्रयोग देशको राजनीतिमा गर्न सकेको छैन ।

लेखक लक्की चौधरी

राजनीतिक र शैक्षिक चेतनाको अभावले पनि सो सम्भव नभएको होला । यद्यपि पहिलेको तुलनामा अहिले थारु समुदाय तुलनात्मकरुपमा सचेत र शिक्षित भइसकेका छन् । तर मूल राजनीतिमा उनीहरुको नेतृत्व अझै देख्न पाइएको छैन । औलामा गिन्नेखालका केही व्यक्ति राजनीतिमा भएपनि प्रमुख नेतृत्वकर्ता हुन सफल भएका छैनन् । थारु समुदायसँग गाउँ सञ्चालन गरेको, कुलापानीको नेतृत्व गरेको, विकास निर्माणमा अगुवाई गरेको राम्रो ज्ञान र सीप छ । सोही ज्ञान देशको राजनीतिमा उतार्न पाए देश विकासमा ठूलो सहयोग पुग्थ्यो । तर थारु समुदाय राजनीतिक बञ्चितिकरणमा छ । थारुलाई भोट बैंककोरुपमा प्रयोग गर्नेहरुमात्र राजनीतिमा सक्रिय छन् भन्ने यदाकदा चुनावताका आरोप सुनिन्छ ।  

अहिले देशको राजनीति परिवारवाद, आफन्तवाद र क्षेत्रीयतावादमा लहसिदै गएको छ । त्यसले इमान्दार र मेहनती मान्छे राजनीतिक मूलप्रवाहबाट बञ्चित हुन्छन् भन्ने अडकल पनि गरिदैछ । दाउपेच र घिनौना काम राजनीतिमार्फत् हुनेगरेको छ । जसकाकारण पनि सिधासाधा, इमान्दार थारु समुदाय त्यस्तो काममा हात हाल्न डराइरहेको छ । तर देशको समुचित विकासकालागि असली अगुवा, इमान्दार नेताको खाँचो छ, जुन अहिलेको राजनीतिमा देख्न पाइएको छैन । यसले देशलाई नोक्सान त गरिरहेको छ नै, देशका लागि विकास गर्न चाहने नेता र समुदाय पनि बञ्चित भइरहेका छन् । अहिलेको पछिल्लो निर्वाचन प्रणालीले त थारु समुदायजस्तै अन्य जातजातिका इमान्दार र सिधासादा अगुवालाई राजनीतिमा जानबाट रोक्ने प्रयास गरेको छ । भड्किलो र खर्चिलो निर्वाचन प्रणालीले अब सिधासादा र इमान्दारमान्छेले पैसा खर्च गर्न नसक्दा राजनीतिक बाटो तय गर्न नसक्ने देखिएको छ । 

थारु समुदायको माघीपर्वले गाउँको नेतृत्वकर्ता वडघर, घरको नेतृत्वकर्ता घरमूली, फलामको काम गर्ने, कपडा सिउने, हुलाकीको कामगर्ने चौकीदार, स्वास्थ्य सुरक्षाकालागि गाउँ सञ्चालन गर्ने देशवन्ध्या गुरुवा, गाउँगुरुवा, घरगुरुवा आदिको नेतृत्व छनौट गर्छ । एकवर्षे समयावधिका लागि छनौट गरिने यस्ता अगुवा प्रतिनिधिलाई सामुहिक भेला र छलफलबाटै छनौट गरिन्छ । यो सदियौंदेखि गाउँमा चलनचल्तीमा रहेको प्रचलन हो । यसलाई सांस्कृतिकरुपमा मात्र हेर्न सकिन्न । नेतृत्व चयन गर्ने प्रक्रिया राजनीतिसँग जोडिएको विषय हो । जुन अभ्यास थारु समुदायले युगौयुगदेखि गर्दैआएका छन् । सकेसम्म सर्वसम्मत, नसके लोकतान्त्रिक प्रक्रियाअनुसार छनौट गर्छन् । गोलाप्रथाको पनि प्रयोग गर्छन् । तर ९० प्रतिशत जति गाउँमा सर्बसहमतिले नेतृत्व चयन हुने गरेको उदाहरण छ । थारु समुदायको यही नै सुन्दरपक्ष हो ।

सर्वसहमतिले गरेको नेतृत्वकर्ता सबै गाउँबासीको प्यारो रहने हुनाले काम गर्नमा समेत सहयोग पुग्ने विश्वास गरिन्छ । नेतृत्वकर्ता पुरुष, महिला वा गैरथारुलाई पनि स्वीकारिन्छ । गाउँको भलाई चाहने जोकोही नेतृत्वमा आउनसक्छ । यसमा जातजाति भनेर हेलाँगर्ने गरिदैन । गाउँसमाजमा बसेको जोकोही गाउँको विकास निर्माण र गाउँसमाजको भलाईमा इमान्दारितापूर्वक योगदान गर्छु भन्छ भने उसलाई गाउँको नेतृत्वतहको जिम्मेवारी सुम्पिने प्रचलन थारुको छ । यसले गैरथारु समुदायका व्यक्ति पनि उत्साहित हुन्छन् । 

धार्मिक महत्वः

माघे संक्रान्तिकोरुपमा मनाइने माघीपर्वको आफ्नै धार्मिक पक्ष छ । माघ १ गतेदेखि सूर्य उत्तरायणलाग्ने र गर्मीयामको शुरुवात हुने दिनकोरुपमा यसलाई लिइन्छ । माघी पर्वलाई थारु समुदायले नयाँवर्ष मात्र होइन, मुक्ती दिवसको रुपमा पनि मनाउँछन् । धनधान्य पर्वकोरुपमा पनि मनाउँछन् । सदियौंदेखि पश्चिम नेपालका थारु समुदाय अरुको घरमा दासकोरुपमा कमैया जीवन जिउँथे ।

कमैया, कमलरीकोरुपमा दासदासी जीवन जिउँथे । तत्कालिन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेपछि अरुको घरमा कमैया जीवन जिउनबाट थारु समुदाय मुक्ति पाए । त्यस्तै, २०७० साउन ३ गतेबाट कमलरी मुक्तीको घोषणा सरकारले ग¥यो । तर मुक्तभएका घोषणा भएको वर्षौवर्ष भएपनि कमैया र कमलरीको पुनस्र्थापना र व्यवस्थापन नहुनुले भने चिन्ता कायमै राखेको छ । सरकारीरुपमा मुक्त घोषणा हुनु तर मालिकको घरबाट मुक्त हुन नसक्नुले दासदासीप्रथाको अवशेष कायमै रहेको आभास दिलाउँछ ।  

थारु समुदायले माघ १ गते शुद्ध काम गर्छन् । मासुका लागि पुसको अन्तिम दिन नै सुंगुर, बंगुर, खसी, कुखुरा काट्ने चलन छ । माघेसंक्रान्तिका दिन चिसो र चोखो पानीमा स्नान गरेर मठ मन्दिरमा गएर पूजापाठ गर्ने, पूर्खाको आशीर्वाद लिने र साकाहारी परिकार खाने गर्छन् । यसले थारुको धार्मिक पक्षलाई दर्शाउँछ ।

यस पर्वमा थारु सदस्यहरुले दानदक्षिणा प्रदान गर्ने गर्छन् । माघ १ गते जलाशयमा स्नानगर्दा जलदेवतालाई पैसा चढाएरमात्र स्नान गर्छन् । यसरी गर्दा वर्षदिनभर जानअन्जानमा गरिएका पापकर्म पखालिने विश्वास सो समुदायको छ । यस पर्वमा विवाहित चेलीबेटीलाई गच्छअनुसारको उपहार, दान दक्षिणा दिने प्रचलन छ । चामल, नून, दाल, खुर्सानी, नगद, गरगहना समेत ‘निसराउ’ को रुपमा चेलीबेटीलाई दिन्छन् । यसले धार्मिक सुसम्बन्ध जोडने काम गरिरहेको छ । थारु समुदाय बढीजसो हिन्दू धर्म मान्छन् । अहिले कोही बुद्ध धर्म त कोही क्रिश्चियन भएका पनि छन् । धार्मिक मान्यताअनुरुप संस्कार गर्ने गर्छन् । माघी पर्वमा गरिने संस्कार पनि हिन्दूसँग बढी जोडिएको देखिन्छ । 

अन्त्यमा,

माघीपर्वको थारु समुदायमा बहुआयामिकता छ । यस पर्व खानपिन र नाचगानमा मात्र सीमित  छैन । मनोरञ्जन, रमाइलो सँगसँगै यसको धार्मिक, सांस्कृतिक, सामाजिक र राजनीतिक महत्व पनि उत्तिकै छ । थारु समुदायको सामाजिक भावना र एकताले सिंगो नेपालीलाई उत्प्रेरित गर्नेगर्छ । माघीपर्वले भत्केकालाई जोड्ने, विग्रेकालाई सपार्ने, पुराना रिसरागको अन्त्य र नयाँ सम्बन्धको शुरुवात गर्नेगर्छ ।

थारु माघी पर्वको संस्कारबाट सिङगो नेपालीले प्रेरणा लिनसके नेपाल र नेपालीबीचको भावनात्मक एकता, अखण्डता, राष्ट्रियता र मेलमिलापमा थप सहयोग पुग्नसक्छ । थारु समुदायको बरघर प्रथा र प्रथाजनित कानूनलाई स्थानीय निकायको पुनःसंरचना गर्दा कानूनी मान्यता दिएर स्थानीयतहदेखि सहभागीता र संलग्न गराउन सके त्यसले विकास निर्माणमा टेवा त पुग्छ नै अपनन्तवबोध पनि हुन्छ । थारु समुदायको आफ्नै तीथि पनि छ । यद्यपि त्यसबारेमा अझै वहसको खाँचो छ ।

विक्रम सम्बत् जस्तै, थारु सम्बत् पनि छ । अहिलेको माघी थारु सम्बत् २६४२ हो भनिन्छ । तर यो बुद्धकालिन समयदेखि मात्र शुरु देखिन्छ । यसकोबारेमा अझै बौद्धिक वहसको खाँचो छ । माघी पर्वमा थारु समुदायले रामरमाइलोसँगै यस्ता बौद्धिक वहसमासमेत ध्यान दिएर अझै पर्वलाई प्रभावाकरी बनाउन सकिन्छ । 
 

पुस २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस