एमाले कमरेडहरू ! अहंकार धेरै भयो कि ?

माघ १६, २०७४

पछिल्ला केही दिनयता नेपालमा भारतीय ‘मित्र’हरूको उपस्थिति बाक्लिएको छ । तर, ती मित्रहरू पशुपतिनाथ दर्शन गर्ने र मौसमले साथ दिएमा मुक्तिनाथको दर्शनका लागि मुस्ताङसम्म पुग्ने भनेर मात्र यहाँ आएका होइनन् । मम, चाउमिन खानको लागि त उनीहरू आउने कुरै भएन । आखिर किन आइरहेका छन् त ?

भात पाक्ने बेलामा प्रेसर कूकरको सिठ्ठीले तर्साउने गरी आवाज दिन्छ । सरकार निर्माण हुने बेलामा यी मित्रहरूले हाम्रा नेताहरूलाई प्रेसर कूकरको सिठ्ठीले जस्तै दबाब दिन्छन् । त्यसैले यी प्रिय मित्रहरूलाई जासुस र कुनै अमुक एजेन्टको नाम होइन, ‘प्रेसर कूकर’ भनौँ । त्यसो त सरकार गठनको पूर्वसन्ध्यामा भारतीय विदेशमन्त्री सुष्मा स्वराज नै नेपाल आउने तयारीमा छिन् ।


यी प्रेसर कूकरहरूले हामीलाई धेरै ‘माया’ गर्छन् । बिरामी भएर नेताहरू थाइल्याण्ड पुग्छन्, यिनीहरू स्वास्थ्यलाभको कामना गर्न गुलाबको फूल उचालेर खुसुक्क त्यहीँ पुग्छन् । चाडपर्वमा भारतीय दूतावासबाट उपहारस्वरूप प्राप्त ब्ल्याक लेबल बोटललाई खुसुक्क सरकारी निवास छिराउने नेताहरू कलेजोमा प्वाल परेपछि पालैपालो थाइल्याण्ड पुग्दा ती प्रेसर कूकर पनि पुगेकै हुन्छन् । 

जंगबहादुर राणाको पालामा समेत प्रेसर कूकरहरू यसरी नै नेपाल आउने÷जाने गर्दथे, शेरबहादुर देउवाको पालामा आउन के नौलो भयो र ? आफ्नै पार्टीको गुटले थिलथिलो परेका यी ‘होस्ल्याङ्गे काका’ले राजीनामाको बेलामा पुरानो शपथग्रहणको पत्र वाचन गर्लान् भन्ने डर छ । यिनको दिमागमा २०१७ को एन्टी भाइरस सफ्टवेयर अपडेट भएकै छैन । डेउडा गीतमा खोच्याङ्÷खोच्याङ् गरेर नाचिदिए जनता खुशी हुन्छन् भन्दा हुन् यी ।

राजनीतिमा आउन रहर गरेर मात्र के गर्नु ! आरजु देउवा चुनावी भाषणमा घडेरीको मूल्य सोध्छिन् । वास्तवमा देउवा आरजुबाट नै पीडित भएका हुन् । के देउवापीडित भएकै कारण प्रेसर कूकरको बिगबिगी भएको हो ? हैन । यसो हुनै सक्दैन । देउवा बहिर्गमनको तिथि जुरिसकेको छ । 

ओली सरकार भारतले निर्माण गर्दैछ ? 

केही नेताहरू छन् चिबे चराजस्ता । ती प्रायः कराइरहन्छन्, तर माखो मार्दैनन् । यिनीहरूका पत्रकार साथीभाइ धैरै हुन्छन् । हुटिट्याउँले आकाश धानेजस्तै हल्ला गरेरै यिनीहरूको राजनीति धानिएको हुन्छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकार पनि भारतकै जगमा निर्माण हुँदैछ भन्न सकिन्छ । यस्तो कुरा कसरी थाहा भयो भनेर लेखकलाई ‘मिनिमाइज’ गरिन सक्छ । यसै पनि यो लोकमा मगरहरू बुद्धिजीवी हुदैनन्, यस्ता गुदी कुरा बाहुन (आर्य) लेखकहरूलाई मात्र थाहा हुन्छ भनेर मनुस्मृतिको संविधानमा लेखिएकै छ । तर यो मोटो बुद्धिको कुरा होइन । ठोकुवाका साथ के भन्न सकिन्छ भने ओली सरकार भारतको सिमेन्ट, रड, बालुवाको जगमा उभिँदैछ ।

ओली भावी प्रधानमन्त्रीको रूपमा खडा भएपछि र जनताको नजरमा ‘पपुलिस्ट’ उनै हुन् भन्ने परेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई दुईपटक टेलिफोन गरिससकेका छन् । मोदीले शुभकामना दिइसकेका छन् । भारतीय प्रेसर कूकरकै दबाबमा हृदयेश त्रिपाठीजस्ता मधेसी नेताहरू एमाले बनिसकेका छन् भने देउवालाई सघाउनका लागि तयार भएको एउटा मधेसी घटक अन्तिम समयमा ब्याक भएको छ ।

जस्तो कि, राष्ट्रिय जनता पार्टीभित्र वाम गठबन्धनलाई समर्थन गर्ने कि लोकतान्त्रिकमै रहने भन्ने मुद्दामा निकै विवाद चर्किएको थियो । राजपा अध्यक्ष मण्डका सदस्य राजेन्द्र महतो, अनिलकुमार झा र महेन्द्र यादव वाम गठबन्धनलाई समर्थन गर्ने र सरकारमै जाने पक्षमा छन् भने अध्यक्ष मण्डलकै महन्थ ठाकुर, शरदसिंह भण्डारी र राजकिशोर यादव नेपाली कांग्रेससँगै रहनुपर्ने अडानमा देखिएका छन् ।

ओली कुनैबेला भारतको सबैभन्दा नजिकका मित्र हुन् । ओलीका विश्वासपात्रहरूलाई अहिले पनि प्रेसर कूकरहरूले दैनिकजसो भेट गरिरहेका छन् । हिमानी शाह थाइल्याण्ड पुगिन्, र कुनै न कुनै रूपमा उनको ओलीसँग दोहोरो संवाद भयो । लगत्तै पारस सरकारको गुणगान गाएर कहिल्यै नथाक्ने कोमल ओलीले राष्ट्रिय सभाको सदस्यता पाएकी छिन् उपहारस्वरूप । यसको सार्वजनिक आलोचना भइसकेको छ । 

यतिबेलासम्म नयाँ सकरकार बन्नुपर्थ्यो । देउवा अलोकप्रिय एवं पराजित पार्टीका नेता हुन् । तर ओलीको नयाँ सरकार पनि आफ्नै बुतामा उभिनेवाला छैन । महाकाली सन्धिजस्तो ठूलो अपराध त होइन, तर अस्ति साँझपख राष्ट्रपति विद्यादेवी भण्डारीलाई साथमा लगेर भारतीय दूतावासको कार्यक्रममा उनी पुगे । के यो आवश्यक थियो ? 

सम्पत्ति शुद्धीकरणको भाषण

नयाँ सरकार गठनको तरखरमा रहेका ओलीले नेपाल चेम्बर अफ कमर्सका नवनिर्वाचित पदाधिकारीहरूलाई पार्टी कार्यालयमा बोलाएर उद्योगीहरूको मागअनुसार एकपटकका लागि स्रोत नखुलेको सम्पत्ति शुद्धीकरण गर्न दिने भनेर भाषण नै गरे ।

मुलुकले अपनाएको नीति मुसा निस्किने दुलामा साँचो थापेर बसेजस्तो भएको र यसले लुकेको पैसा बाहिर नआउने तर्क गर्दै ओलीले भने, ‘मनी लाउण्डरिङ’ भनेको जसले पैसा निकाल्छ, त्यसलाई समाउने मात्रै होइन, यो लाउण्डरिङ नै भएन । लुकेको पैसा इन्भेष्टमेन्टमा लाग्न सकोस् । आइडल बसेकाले रोजगारी सिर्जना गर्न सकोस् । यसमा अलिकति सोच्नु पर्ला कि !’

अध्यक्ष ओलीले भनेजस्तो सम्पत्ति शुद्धीकरण गर्न सजिलो छैन किनभने मनी लाउण्डरिङसम्बन्धी कानून नेपालले आफ्नो देशका लागि मात्रै बनाएको नभई अन्तर्राष्ट्रिय समुदायसँग जनाएको प्रतिबद्धतामा आधारित छ । विश्वमा मनी लाउण्डरिङलाई सामान्य विषय नभएर गम्भीर अपराधका रूपमा हेर्ने गरिएको छ । विशेषगरी आतंकवादीहरूले आर्जन गरेको सम्पत्ति शुद्धीकरण हुने गरेको र त्यसले आतंकवादलाई प्रश्रय दिएको भन्दै विश्वमा यस्तो कार्यलाई गम्भीर अपराध मानिएको हो । चक्रे मिलनजस्ता गुण्डा नाइके सम्पत्ति शुद्धीकरण मुद्दाका लागि अदालत धाइरहेका छन् ।

नेताहरूको चरा प्रवृत्ति

यो मुलुकमा विचार र प्रतिबद्धताको राजनीति भनेको चराको नामजस्तै भइसकेको छ । चराहरूको कुनै सिमाना र भूगोल हुँदैन, केवल दानापानीको खोजीमा उडिरहन्छन् । तिनका पखेटाहरूमा घोडाको जस्तो लगाम हुँदैन । हाम्रा नेताहरू पनि चराजस्तै भएका छन्, उडिरहेका छन् । भकारीजत्रो पेट भर्न र सुरक्षित वासस्थानका लागि यिनीहरूको उडानले सिमाना र भूगोलको ख्याल गरेकै छैन, चराहरूले जस्तै ।

छाना, माना र दानाको लोभलालचले नेताहरूलाई सर्कसको एक जोकरजस्तो बनाएको छ । तर यिनीहरूले प्रमुख अतिथिको आसनग्रहण गर्न भने छाडेका छैनन् । केही नेताहरू छन् चिबे चराजस्ता । ती प्रायः कराइरहन्छन्, तर माखो मार्दैनन् । यिनीहरूका पत्रकार साथीभाइ धैरै हुन्छन् । हुटिट्याउँले आकाश धानेजस्तै हल्ला गरेरै यिनीहरूको राजनीति धानिएको हुन्छ । 

अलिकति घनश्यामको विचार र अलिकति प्रचण्डको विचार फ्यूजन गरेर नयाँ पार्टी बन्ने हो । अन्यथा प्रचण्डले अकस्मात् क्रमभङ्ग गरेर अर्को चमत्कार गरे भने एमालेजनहरू कम्पारामा हात राखेर टुनीको बुटामुनि बस्नुपर्ला ।

बाँकी राजनीति क्रसर सञ्चालक, डोजर मालिक, सहकारीको मालिक अनि एनजीओ, आईएनजीओको सुकिलो कमिजले सम्हालेकै छ । यो कुनै अराजक मान्छेको फत्तुर बुझाइ होइन, यथार्थ हो । यस्तै यथार्थको पर्दाभित्र नेपाली समाजले विभिन्न तिथिमितिहरूमा अनेकन आन्दोलनको रापताप प्रस्तुत गरिसकेको छ । नाराहरू मात्र बदलिएका छैनन्, नेताहरू पनि फेरिएका छन् । तर नेपाली मानचित्रको मुहार कुरूप नै छ ।

जीतको अहंकार

एमालेका नेताहरूले पछिल्लो समयमा हिसाबकिताबमा ध्यान दिन थालेका छन् । हुन त धैरै नेताहरू गणितका मास्टरसमेत छन् । त्यसैले मास्टरजस्तो मान्छेले अंकलाई जोड्ने कुरामा चासो नदिने भन्ने हुँदैन । विगत दुई सातायता बजारमा थरीथरीका क्याल्कुलेटर देखापरेका छन् । अचम्म किन मान्नुहँुदैन भने एमालेका नेताहरू व्यापारी न हुन्, त्यसैले विचारको ‘थिम’ भेटिएन भनेर पीर गर्न मिल्दैन ।

निर्वाचन परिणामबाट मात्तिएर, साँडेजस्तो बनेर र देशको हिसाबकिताबलाई गडबड गरेर फेल गराउने मास्टरहरूका सामुन्ने अब ६०÷४० कि ७०÷३० भन्ने विषयमा रडाको मच्चिएको छ । सत्तरी प्रतिशत हैसियत कि ३० प्रतिशत हैसियत भन्ने अहंकारी चिन्तनहरू पनि उजागर हुन थालेका छन् । तर पार्टी एकताको शर्त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष दिनुपर्ने भनेर माओवादीका नेताहरूले कुनामा बसेर १० औंली बिन्ती बिसाइरहेका छन् । 

एमाले नेताका तर्कअनुसार, मापदण्ड बनाएर छलफलबाट पार्टी एकताबारे चाँडै निष्कर्षमा पुगिने रे ! पार्टी एकताको निष्कर्ष भएको होइन ? छैन ? पार्टी एकता गर्ने भनेर जनतामा जाने अनि नेताहरू छलफल गरेर निष्कर्षमा पुगिने ? त्यसका लागि एमालेले ओली अध्यक्ष र प्रचण्ड सहअध्यक्ष रहने या दुवै महाधिवेशन आयोजक समितिको संयोजक रहने गरी सहमतिमा पुग्न सकिने विकल्प प्रस्तुत गरेको छ । त्यसो भए प्रधानमन्त्री प्रचण्डलाई बनाउन तयार हुने हो ?

एमाले उपमहासचिव घनश्याम भुसालले दुई पार्टीबीचको एकताको मिलनविन्दु नयाँ सैद्धान्तिक धरातलबाट खोज्नुपर्ने तर्क अगाडि सारेका छन् । पूँजीवादी क्रान्तिसँगै जनताको बहुदलीय जनवादको औचित्य सकिएकाले नयाँ जगमा एकताको सैद्धान्तिक आधार खोज्नुपर्ने धारणा उनले बाहिर ल्याएका छन् । माओवादी नेता गोपाल किराँती र विश्वभक्त दुलालले त प्राविधिक एकताको अर्थ नभएको भन्दै पार्टी परित्यागको घोषणा नै गरिसकेका छन् । यो क्रम जारी रहनेछ ।

एमालेले घमण्ड नगरोस्

माओवादी केन्द्र पूर्वसहमति अनुसार वाम गठबन्धनको साझेदार नेकपा एमालेसँग पार्टी एकता र सरकार गठन सँगसँगै गर्नुपर्ने अडानमा छ । एमाले र मोओवादीबीचको एकता विचारको आधारमा हो कि सरकार र स्वार्थका लागि हो, त्यो भविष्यमा नै थाहा होला । तर माओवादीसँग नमिलेको भए के अहिले मन्त्री र मुख्यमन्त्रीको बार्गेनिङ गरिरहेका नेताहरू सबैले चुनाव जित्ने थिए ? 

आज एमालेले दुईतिहाइ सीट नै जितेजस्तो घमण्ड देखाइरहेको छ । के साँच्चै त्यस्तो हो त ? एमालेले पाएको जीत के घमण्ड गर्नलायक हो ? के एमाले एक्लैले नयाँ सरकार गठन गरेर मुलुकलाई अगाडि लैजाने ल्याकत राख्छ त ? आजको मितिमा एमालेको एकलौटी सरकार निर्माण गर्ने सामर्थ्य छ र ? हैन भने जीतको उन्मादमा रमाउनुको कुनै खास अर्थ छैन ।

माओवादीसँगको सहमति कार्यान्वयन गर्ने हो भने ओली प्रधानमन्त्री हुने र पार्टी अध्यक्षमा प्रचण्डको विकल्प छैन । रूपान्तरण र वामपन्थी शक्ति निर्माणका लागि अधिवेशन गरेर प्रचण्डलाई अध्यक्ष बनाउने कुरा भूलभुलैयामा पार्न खोजेजस्तै हो । अलिकति घनश्यामको विचार र अलिकति प्रचण्डको विचार फ्यूजन गरेर नयाँ पार्टी बन्ने हो । 

अन्यथा प्रचण्डले अकस्मात् क्रमभङ्ग गरेर अर्को चमत्कार गरे भने एमालेजनहरू कम्पारामा हात राखेर टुनीको बुटामुनि बस्नुपर्ला ।

माघ १६, २०७४ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस