तराई मधेसमा बढ्दो महिला हिंसा– जिउँदै जलाउनेदेखि यौनका लागि हत्यासम्म

माघ २९, २०७४

जनकपुरधाम, २९ माघ– तराई मधेसका जिल्लाहरुमा घरेलु महिला हिंसा र सामाजिक हिंसाका घटनाहरु बढ्दै गएका छन् । 

महिलालाई विवाह गरेर पतिको घरमा गएपछि खान नदिने, कुटपिट गर्ने, घर निकाला गर्ने, गालीगलौज गर्ने घटनादेखि जिउँदै जलाएर हत्या गर्नेसम्मका घटनाहरुमा बृद्धि भएका छन् । 

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८, हार्सरकी २० वर्षीया हजरा खातुनलाई जिउँदै जलाएर हत्या गरिएको छ ।  २० माघ २०७४ का दिन हजरालाई श्रीमान रसिद राईनले जीउमा मट्टीतेल छर्केर आगो लगाई हत्या गरेका हुन् ।

हजराको टाउकोभन्दा तलको शरिरको सम्पूर्ण भाग जलेर गम्भीर घाइते भई उपचारको लागि काठमाडौंको किर्तिपुर अस्पतालमा उपचारकाका लागि पठाइएको थियो । तर, चिकित्सकले उनको जलेको ज्यान जोगाउन सकेनन् । 
जनकपुर अञ्चल अस्पतालमा उपचारका लागि भर्ना हुँदा आफ्नो श्रीमानले नै घर बन्द गरेर आगो लगाइदिएको घाइते हजाराले बयान दिएकी थिइन् । रातभरी श्रीमानले आफूसँग झगडा गरि कुटपिट गरेको उनले बयानमा भनेकी थिइन् । 

‘तिमी मलाई मन परेको छैन, म तिमीलाई छोड्न चाहन्छु भन्दै झगडा गर्यो’ हजराले धनुष प्रहरीलाई दिएको बयानमा भनिन्,‘ झगडापछि आगो लगाएर मलाई मेरो श्रीमानले ज्यान लिने काम गर्यो ।’

घरमै जलेर गम्भीर घाइते भएको जानकारी पाएपछि  इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गएको प्रहरीको टोलीले उद्धार गरी हजरालाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल पठाएको थियो । चिकित्सकले उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको बताएका थिए । घटना स्थलाबाटै प्रहरीले हजराका पति रसिदलाई नियन्त्रणमा लिएको छ । 

माइतीपक्षले छोरी हजराको सम्बन्ध विच्छेद गर्न नमान्दा घरपरिवारका सम्पूर्ण सदस्यले मट्टीतेल छर्केर जीउदै जलाएर हत्या गर्ने प्रयास गरेको भन्दै पाँच जना विरुद्ध उजुरी दिएको प्रहरीले जनाएको छ ।

हजराकी आमा जनकपुर उपमहानगरपालिका–२०, देवपुरा रुपैठा बस्ने तैरुल खातुनले हजराका श्रीमान रसिद, ससुरा ५५ वर्षका अलिशेख कवारी, सासु रामसुनरी खातुन र नन्द जाहिर खातुन माथि उजुरी दिएका छन् । उपचारका क्रममा मृत्यु भएकी हजराले श्रीमान रसिदले आगो लगाईदिएको बयान दिएसँगै प्रहरीले तत्काल उनको श्रीमान हजरालाई मात्र पक्राउ गरी अनुसन्धान अगाडि वढाएको छ । तर, प्रहरीले हालसम्म हजराका श्रीमान रसिदलाई मात्र पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार हजरा आफैले आगो लगाएर आत्महत्या प्रयास गरेको भनेर गाउँका छिमेकीहरुले बताईरहे पनि आगो लगाई ज्यान मार्ने उद्योग अन्तरगत दर्ता भई घटनाको अनुसन्धानको प्रक्रिया अगाडि वढेको छ ।

हजराका बुवा सकुर राइन भने परिवारकै सबै जना सदस्यहरुले मिलेर छोरीलाई जलाएर हत्या गरेको आरोप लगाएका छन् । ‘घरपरिवारका सबै जनाले मलाई जबरजस्ती समातेर घरमा लगे । जीउमा जबरजस्ती मट्टीतेल छर्केर आगो लगाएर कोठा थुनेर भागे, म चिच्याइ रहेँ । कसैले सुनेनन् । आगोले जलेर म बेहोस् भएँ । त्यसपछि के भयो मलाई थाहा भएन’,  छोरी होसमा आएपछि आफूलाई यी वृतान्त सुनाएको हजराका बुवा सकुर राईनले बताएका छन् । 

महत्वपुर्ण कुरा के छ भने यो घटना हुनु भन्दा पहिले २४ पुष २०७४ मा हजराले आफ्ना सासु, ससुरा र श्रीमान विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषाको महिला तथा बालबालिका सेलमा महिला हिंसा सम्बन्धि उजुरी दर्ता गराएकी थिइन् । रसिदसँग दुई बर्ष अघि हजराको विवाह भएको थियो । विहे भएको केही दिन पछि हजराको श्रीमान बैदेशिक रोजगारीका लागि साउदी अरब गएको बेला सासु ससुराले कुटपिट गरी घरमा बस्न नदिने माहौल बनाउँदा पनि आफु जसो तसो घरमा बस्दै आएको उनले बताएकी थिइन् ।

श्रीमान अरबबाट फर्किएपछि नागरिकता र विवाह दर्ता बनाईदिन भन्दा वेवास्ता गर्दै श्रीमानले पनि कुटपिट गरी घर निकाला गरिदिएको हुनाले शान्ति सुरक्षा प्रदान गरी पाऊँ भन्दै हजराले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिईन ।  

त्यसपछि प्रहरीले हजराको श्रीमान, सासु र ससुरालाई झिकाएर सहमति र मिलापत्र गराएर घर फर्काएको थियो । सासु, ससुरा र श्रीमानले निवेदिकालाई कुनै किसिमको गालीगलौज, कुटपिट नगर्ने, नगराउने, राम्रोसँग औषधि उपचार गराउने, कुनै किसिमको आरोप प्रत्यारोप नलगाउने भनि ३० पुष २०७४ मा सहमति गरिएको थियो । त्यसैगरी निवेदिकाले पनि आफ्नो श्रीमान, सासु र ससुराको मान मर्यादामा रहि बस्ने र अन्य मानिसहरुलाई फोन सम्पर्क नगर्ने, श्रीमानले निवेदिकाको विवाह दर्ता र नागरिकताको प्रमाण पत्र बनाईदिने भनेर जिल्ला प्रहरी कार्यालय धनुषामा मिलापत्र कागज गराइएको थियो । तर, उक्त सहमति भएको एक महिना पनि नपुग्दै हजराको उपचारको क्रममा निधन भएको छ । 

‘सहमति भएको एक महिना पनि बितेन, १२ दिनमा छोरीलाई नागरिकता पनि बनाईदिएन् । उल्टै माघ २० गते घरपरिवारले मट्टीटेल छर्केर आगो लगाए’, हजाराका बुवा सकुरले दुखेसो पोख्दै भने, ‘छलफल भएर गएपछि मैले छोरीलाई एउटा मोवाइल र सिमकार्ड दिएको थिएँ, बेला–बेला फोन गर्नु भनेर, तर त्यो मोवाइल पनि घरपरिवारले खोसेर यातना दिन छोडेनन् । अन्तमा त ज्यानै मार्न यत्रो ठूलो घटना भयो ।’ 

बुवा सकुरका अनुसार २ वर्ष ६ महिनाअघि मात्र तीन लाख नगद, तीन तोला सुन र एक सय तोला चाँदी दाइजो दिएर छोरी हजारको रसिदसँग विवाह गरिएको थियो । विवाहको एक वर्षपछि ज्वाँई रसिद वैदेशिक रोजगारमा अरब गएर डेढ वर्षपछि  पुसमा घर फर्केका थिए । तर पनि छोरी हजरालाई सबैले मिलेर  यातना दिने गरेको उनको आरोप छ । 

ससुराद्वारा बुहारीको हत्या

८ मंसिर २०७४ मा जनकपुर उपमहानगरपालिका २ किशोरीनगर स्थित रंजना शर्मा ठाकुरको हत्या गरिएको थियो । ९ गते विहान प्रहरीले जानकारी पाएपछि अनुसन्धानको क्रममा रंजनाकी सासु सुमित्रा देवी र ससुरा देवनारायण ठाकुरलाई नियन्त्रणमा लिएको थियो । मृतक रंजनाकी आमा प्रभा देवी ठाकुरले रंजनाका श्रीमान आनन्द मोहन शर्मा, जेठाजु अरविन्द कुमार ठाकुर, जेठानी रिंकु कुमारी शर्मा, सासु सुमित्रा देवी र ससुरा देवनारायण ठाकुर विरुद्ध किटानी जाहेरी सहित कर्तव्य ज्यान मुद्दा दर्ता गराएको थियो । 

सिरहा नगरपालिका–१८ लक्ष्मीनिया निवासी रामनारायण शर्मा र प्रभादेवी शर्माले आफ्नो छोरीलाई पटक पटक सासुससुरा र श्रीमान आनन्दमोहन ठाकुरले दाइजोको माग गर्दै प्रताडना दिने गरेको बताएका थिए । त्यहीकारण हत्या गरेको भन्दै सासु ससुरा, जेठान अरबिन्दकुमार ठाकुर र उनकी श्रीमती रिंकु शर्माविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दर्ता गरिएको थियो । 

तर, धनुषा प्रहरीले सासु र ससुरालाई मात्र नियन्त्रणमा लिई दुई जना विरुद्ध मात्र मुद्दा दर्ता गरेको थियो । रंजनाका श्रीमान पोखरा वन अध्ययन विज्ञान संस्थानमा कम्प्यूटर अपरेटरमा कार्यरत रहेको, जेठाजु अरविन्द ठाकुर पोखराकै अमरसिंह चौक स्थित राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत रहँदा घटना भएको दिन कल वाईज लोकेशन उनीहरुको जनकपुर आसपास नदेखिएको, घटना भएको दिन आआफ्नो कार्यालयमा उपस्थित रहेको हाजिरी समेत देखिएको आधारमा सरकारी वकिलको सल्लाह बमोजिम धनुषा प्रहरीले उनीहरु विरुद्ध मुद्दा नै दर्ता गरेनन् ।

अहिलेसम्म यी तीन प्रतिवादी दोषी नदेखिएको, पछि सबुद प्रमाणबाट दोषी देखिएको अवस्थामा कानुन बमोजिम हुने नै हुँदा हाललाई निज उपर माग दावी नलिइएको भन्दै धनुषा प्रहरीले रंजनाको सासु र ससुरा विरुद्ध मात्र मुद्दा दर्ता गरे । 

९ पुष २०७४ मा जिल्ला अदालतका न्यायाधीश बासुदेव उप्रेतीको एकल इजलासले सासू सुमित्रा देवीलाई साधारण तारेखमा रिहा गरे भने ससुरा देवनारायण ठाकुरलाई महोत्तरीको जलेश्वर कारागारमा थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने भनि आदेश गर्यो । 

त्यसपछि सासु सुमित्रा देवीले अदालतमा दिएको बयानका क्रममा घटना भएको दिन छोरा र बुहारी घरमै रहेको आधारमा महान्यायाधीवक्ताको कार्यालयले पुरक अभियोग दर्ता गर्न निर्देशन दिएपछि मात्र जिल्ला सरकारी वकिल कार्यालय धनुषाले रंजनाका श्रीमान र जेठाजु विरुद्ध मुद्दा दर्ता गरेको थियो । १६ माघमा वारन्ट खटेर गएको घनुषा पुलिसले मृतक रंजनाका श्रीमान र जेठाजुलाई पक्राउ गरी धनुषा जिल्ला अदालतमा हाजिर गराएको थियो । अदालतले १८ माघ २०७४ मा दुवै जनालाई १०/१० हजार रुपैयाँ धरौटी लिएर तारेखमा रिहा गरेको थियो ।

जनकपुरको कृष्णा नर्सिङ ईन्स्टिच्युटमा तेश्रो वर्षमा नर्सिङ्ग पढ्दै गरेकी रञ्जनाको डेढ वर्षअघि १८ लाख दाइजो दिएर विवाह गरिएको थियो । बिहेको केही महिना नबित्दै उनका श्रीमान आनन्द मोहनलगायत घरपरिवारले रञ्जनामाथि विभिन्न लान्छना लगाइ दाइजोको माग सहित यातना दिँदै आएको छिमेकीहरु बताउँछन् । पोखरास्थित वन विज्ञान अध्ययन केन्द्रमा कम्प्युटर अपरेटरमा कार्यरत श्रीमान आनन्दमोहनले समेत आफूलाई दुख दिने गरेको उनले  छिमेकीलाई पटकपटक सुनाएकी थिइन् ।

श्रीमानसँग सम्बन्ध बिग्रेको देखेर ससुरा ठाकुरले रञ्जनालाई शारीरिक सम्बन्ध राख्न पटक–पटक मानसिक यातना दिँदै आएको समेत छिमेकीसँग उनले बताएकी थिइन् । तर, समाजिक प्रतिष्ठाका कारण उक्त कुरा प्रहरीसमक्ष लग्न चाहेकी थिइनन् । 

 बढ्दो महिला हिंसा

जिल्ला प्रहरी कार्यालय धनुषाको महिला बालबालिका सेलमा दर्ता भएको अभिलेख अनुसार महिला हिंसाका घटनाहरु संख्या धेरै देखिन्छ । 

पछिल्लो ४ बर्षमा कुल १ हजार ५ सय १८ थान घरेलु हिंसाका उजुरीहरु दर्ता भएकोमा  कुल ८ सय २७ मात्र फर्छयौट भई ५ सय ८६ वटा मुद्दा फर्छयौट हुन बाँकी नै रहेको छ । 

आर्थिक बर्ष २०७१÷०७२ मा ४ सय ६२ वटा उजुरी दर्ता भएकोमा ३ सय १ वटा मुद्दा फर्छयौट भएको र ६१ वटा बाँकी रहेको, आर्थिक बर्ष २०७२/०७३ मा ३ सय ४२ वटा उजुरी दर्ता भएकोमा २ सय ४ थान फर्छयौट भई १ सय ३८ वटा बाँकी रहेको छ । 

आर्थिक बर्ष २०७३/०७४ मा ५ सय ७ वटा उजुरी दर्ता भएकोमा २ सय ५३ थान फर्छयौट भई २ सय ४९ वटा बाँकी रहेको र आर्थिक बर्ष २०७४ पुष सम्ममा २ सय ७ वटा उजुरी दर्ता भएकोमा ६९ वटा मुद्दा फर्छयौट भई १ सय ३८ वटा बाँकी रहेको देखिन्छ ।

त्यसैगरी सामाजिक हिंसा अन्तरगत पनि थुप्रै उजुरीहरु दर्ता हुने गरेको छ । आर्थिक बर्ष २०७३/०७४ मा २ सय ५० थान सामाजिक हिंसाका घटनाहरु दर्ता भएकोमा ८२ थान फर्छयौट भई १ सय ७८ थान बाँकी रहेको, आर्थिक बर्ष २०७४÷०७५ को पुष सम्ममा १ सय ८ थान सामाजिक हिंसाका घटनाहरु दर्ता भएकोमा ३० थान फर्छयौट भई ७८ थान बाँकी रहेको देखिन्छ । सामाजिक हिंसा अन्तरगत कुटपिट, गालीबेईज्जती, शान्ति सुरक्षा सम्बन्धि, अपशव्द तथा दुवर््यवहार, किशोरकिशोरी भाग्ने, बोक्सीको आरोप, धाक धम्की जस्ता मुद्दा दर्ता हुने गरेको छ । जसअन्तरगत सबैभन्दा वढी कुटपिट र किशोरकिशोरी भाग्ने घटनाहरु बढी संख्यामा दर्ता हुने गरेको छ । 

त्यसैगरी घरेलु हिंसा अन्तरगत कुटपिट, खान लगाउन नदिएको, बहु विवाह, दाईजो प्रथा, घर निकाला, आर्थिक, पुरुष पीडित, अंश सम्बन्धि, धाक धम्की, नागरिकता सम्बन्धि, अन्तरजातिय विवाह लगायतका शिर्षकहरुमा मुद्दाहरु दर्ता हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रविन धितालका अनुसार दर्ता हुने घरेलु हिंसा र सामाजिक हिंसाका घटनाहरुमा प्रायःजसो पक्ष र विपक्षहरुलाई बोलाएर सहमति गराई मिलापत्र गराउने गरिन्छ । निवेदिकालाई के गर्दा राम्रो हुन्छ, उपयूक्त हुन्छ भन्ने कुरा विचार गरेर प्रायःजसो घटनाहरुमा मिलापत्र हुनेगर्छ र नमिल्ने खाले भएका मुद्दाहरु अदालतसम्म पठाउने काम हुने गरेको धिताल बताउँछन् ।

माघ २९, २०७४ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस