द्वि–अध्यक्षात्मक प्रणालीमा सहमति, दुई अध्यक्षबीचको छलफलले  ‘ब्रेक थ्रु’

फागुन १, २०७४

काठमाडौँ, १ फागुन-  एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले ‘संयुक्त रूपमा’ गर्ने गरी पार्टी एकताको समझदारी बनेको छ । पटक–पटकको छलफलपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल द्वि–अध्यक्षात्मक विधिअनुसार एकता गर्ने निष्कर्षमा पुगेका हुन् । 

औपचारिक निर्णय गर्नुअघि कुनै बदलाव नआए अब एकतापछिको पार्टीमा ओली र दाहाल दुईजना अध्यक्ष रहनेछन् । दुई नेताबीच सोमबार झन्डै दुई घण्टा लामो छलफलबाट एकताको विधिमा करिब सहमति जुटेको हो । मंगलबार केही प्राविधिक विषयमा थप छलफल गरी सहमतिलाई औपचारिकता दिने गरी पुन: ओली र दाहालबीच बैठक हुनेछ ।


ADVERTISEMENT

‘दुवै पार्टीको सम्मानजनक एकता हुनुपर्छ भन्ने ढंगले कुरा भएको छ । यसका लागि दुवै अध्यक्ष समान किसिमको पदमा रहने भन्ने छ,’ दुई दलबीचको एकता प्रक्रियामा सहभागी एमाले उपाध्यक्ष वामदेव गौतमले भने, ‘उहाँहरू (ओली र दाहाल) दुई जनाबीच अन्य धेरै विषयमा कुरा भएको छ, बाहिर ल्याउनुभएको छैन । सम्भवत: मंगलबारभित्रै एकताको एउटा स्वरूप तयार हुन्छ ।’

माओवादी नेता वर्षमान पुनले पनि दुई अध्यक्षबीचको छलफल ‘ब्रेक थ्रु’ को अवस्थामा पुगेको जानकारी दिए, कान्तिपुरले खबर छापेको छ । 

फागुन १, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस