हाम्रो आणविक हतियार देखेर अमेरिका तर्सियो : उत्तर कोरिया

काठमाडौं, १ फागुन — उत्तर कोरियाको संयुक्त राष्ट्रसंघीय मिसनले अमेरिका आफूहरूसँग डराएको बयान सोमवार  दिएको छ । ‘जसरी वाशिङटनले अहिले प्योङयाङको आलोचना गरिरहेको छ, हाम्रो आणविक हतियारसँग डराएर नै त त्यसो गरेको हो,’ उत्तरले भन्यो । 

‘हाम्रो देशबाट भागेर दक्षिण कोरिया पुगेका जी स्योङ–होलाई ट्रम्पले स्टेट अफ द युनियन सम्बोधनका क्रममा बोलाउनु अनि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले ओट्टो वार्मबीयरका पितालाई शीतकालीन ओलम्पिकमा आफूसँग लाने कुरा गर्नु भनेको हाम्रो आणविक शक्तिसँग अमेरिका डराएको र भ्रमित भएको संकेत हो,’ उत्तरले भन्यो । 

उत्तर कोरियाको जेलबाट अमेरिका फर्किएको केही दिनपछि वार्मबीयरको मृत्यु भएको थियो । 

उत्तर कोरियाली मिसनले थप के भन्यो भने यी दुवै काम ट्रम्प प्रशासनद्वारा मानवअधिकारको धमास दिनका लागि गरिएका हताशापूर्ण कारबाही हुन् । मिसनका निर्देशकले जी स्योङ–होलाई खराब मानिस भने । 

अमेरिकाले उत्तर कोरियामा मानवअधिकारको उल्लंघन हुने गरेको भन्दै आलोचना गर्ने गरेको छ । उत्तर कोरिया मिसनले अमेरिका आफू नै मानव इतिहासमा मानवअधिकारका मुख्य उल्लंघनकर्ता भएको बताए । 

अर्कातर्फ अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले अमेरिका निःशर्त रूपमा उत्तर कोरियासँग कुराकानी गर्न तयार रहेको बताए । शीतकालीन ओलम्पिकमा दुई कोरियाहरूले एकअर्कालाई सम्म देखाएपछि अमेरिका अलिक नरम
भएको संकेत पाइएको हो । 

तर पेन्सले उत्तरको आणविक कार्यक्रममाथि रोक नलागुन्जेल अमेरिकाले प्रतिबन्ध लगाइरहने बताए । 

एजेन्सी
 

फागुन १, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस